प्रिय डाक्टर!
के तिमी रहरले,
गोठको बहर बेचेर
सहर पसेको होइनौ र?
बाल्यकालदेखिको लक्ष्य पछ्याउँदै,
मेहनतले पाएको उपलब्धिमा
तिमी खुसी छैनौ र?
तिमी भन्छौ
तिम्रो जिन्दगी के जिन्दगी?
म भन्छु
तिमी भगवान्
बाँच्न चाहन्छु, देऊ जिन्दगी!
अब भन
तिम्रो जिन्दगी के जिन्दगी,
कि मेरो जिन्दगी के जिन्दगी?
तिमी सपनाका कुरा गर्छौ
बाध्यताका कुरा गर्छौ
परदेशमा साथीले हरिया डलर टिपेको देख्छौ,
घर-घडेरी सुखसयल देख्छौ।
तर,
किन देख्दैनौ पारिवारिक बिछोड?
सँगै हुँदा आमाको माया, सबैको साथ
साथीको फेसबुके फोटो हेर्दै लोभिन्छौ,
तर, किन बिर्सन्छौ ती फोटाभित्रका बाध्यता?
म तिम्रो स्पर्शमा आश देख्छु,
जीवन जिउने भरोसा देख्छु
तिम्रो मिठो बोलीमा निदान देख्छु
रोगसँग लड्ने क्षमता देख्छु
तिम्रो मुस्कानमा सामीप्यता देख्छु
आँखाहरूमा आत्मीयता देख्छु
म तिमीमा जिन्दगी देख्छु
अब भन,
तिम्रो जिन्दगी के जिन्दगी
कि मेरो जिन्दगी के जिन्दगी?
हो, म मान्छु
तिमी जुवाडे खेलाडी हौ
जीवनमरणको दोसाँधमा छटपटाउँदा
तिमीले फालेका कौडाजस्ता ओखतीले
मृत्यु कुरेका बिरामीलाई पासोझैं पल्टाउँदा
तिम्रो जित त अवश्य भएकै होला?
नभए पनि, सन्तोष परम् सुखम्!
दुर्गम-सुगम जहाँ भए नि,
धर्मको ख्याल गरिदेऊ भगवान्!
जाजरकोटमा पखालाले गाँउ सोत्तर हुँदा
ढाकरमा ओखती बोकेर पुगिदेऊ
ताप्लेजुङमा आगलागी हुँदा
पोलेका घाउमा मल्हम लगाइदेऊ
तराई चिसोले कठ्यङ्रिदा,
चिसोबाट बच्ने ज्ञान फैलाऊ
पहाड झरीले रुझेका बेला
सरुवा रोगबाट बचाइदेऊ
हिमाल हिँउले जमेको बेला
औषधि सुलभ बनाइदेऊ।
यही त हो मानवता
नेपाली हुनुको गर्व
तिमी त हौ आशा
नयाँ जीवनको आधार।
र अन्त्यमा,
गोजीमा दाम नभएर केही हुँदैन,
सेतो एप्रोनझैं हृदय भइदिए
रोगसँग लड्दालड्दै थलिएका बुढा हातहरू
सम्मानले जोडिनेछन्
मुसुक्क हाँस्दै 'डाक्टर साप्' नमस्ते भन्दा
के तिम्रो मुटु करुणाले भरिँदैन?
के तिम्रो मेहनतको फल सार्थक लाग्दैन?
विश्वास छ
अवश्य लाग्छ।
-हरी पौड्याल
मोरङ, नेपाल (हाल- न्युयोर्क, अमेरिका)