परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नवजात शिशु युनिटकी इन्चार्ज मिठुदेवी बस्नेत (कार्की) लाई सात वर्ष अगाडिको घटना सम्झिँदा अहिले पनि नरमाइलो लाग्छ।
उनी पोस्ट अपरेटिभ वार्ड (शल्यक्रिया गरेर राख्ने वार्ड) इन्चार्जका रुपमा कार्यरत थिइन्। भैंसीपाटीकी एक महिला गर्भवती भएर अस्पताल आएकी थिइन्। जाँच गर्दा ती महिलाको सबै रिपोर्ट नर्मल थियो। पहिलाको बच्चा शल्यक्रिया गरेर निकालेकोले अहिलेको बच्चा पनि शल्यक्रिया गरेर निकाल्नुपर्ने भयो। बच्चा निकालियो। त्यो बेलासम्म उनको स्वास्थ्य सामान्य नै थियो। उनले परिवारका सदस्यसँग रामै कुरा गरेकी थिइन्।
शल्यक्रिया गरेकोलाई पोस्ट अपरेटिभ वार्डमा राखिने हँुदा उनलाई पनि त्यहीँ सारियो। राति ९ बजे एक्कासि रगत बगेर ती महिलाको मृत्यु भयो। वार्डको इन्चार्ज भएकोले मिठु तुरुन्त अस्पताल आइन्। उनी अस्पताल आउँदा बिरामीका आफन्तहरुले नर्सको लापरबाहीले गर्दा मृत्यु भएको आरोप लगाएका रहेछन्।
भोलिपल्ट मृतकका परिवारले लास अस्पताल अगाडिको चौरमा राखेर नाराबाजी गर्न थाले। उनी र उनका साथी मिलेर परिवारका सदस्यलाई सम्झाउने प्रयास गरे। तर उनीहरु कुरा सुन्ने पक्षमा थिएनन्।
पछि मृतकका आफन्तहरुले अस्पताल तोडफोड गर्नुका साथै नाराजुलुस गर्दै प्रशासनसँग पैसाको बार्गेनिङ गर्न थाले। उनीहरु आफन्त गुमेको दुःखभन्दा पनि अस्पतालसँग पैसा कसरी असुल्ने भन्नेतर्फ बढी केन्द्रित भएको देख्दा मिठुलाई अचम्म लाग्यो।
त्यसैले त मिठुको अनुभवमा इन्चार्जसिप चलाउनु भनेको निकै गाह्रो काम हो। एउटा वार्डको जिम्मा लिएपछि राम्रो गरे पनि, नराम्रो गरे पनि त्यसको जिम्मा आफैंले लिनुपर्छ भन्छिन् मिठु।
‘अस्पतालमा काम सिध्याएर घर गयो। केही काम तलमाथि हुन्छ की भनेर सजग रहनुपर्छ। यदि कुनै कारणबस बिरामी तलमाथि भए पनि त्यसको जवाफ आफैं दिनुपर्छ। वार्डमा कुनै समस्या आयो भने त्यसको समाधान आफैंले गर्नुपर्छ,’ उनी भन्छिन्।
उनी थप्छिन्, ‘नर्सिङ पेसा भनेको मानव जीवनसँग प्रत्यक्ष जोडिएको हुन्छ। आफूले स्याहार गरेको बिरामी राम्रो होस भन्ने सबैलाई हुन्छ। बिरामी भएर घर जाँदा हामीलाई पनि खुसी लाग्छ तर कुनै बेला अप्रिय घटना पनि घट्छन्, त्यस्तो बेलामा नर्सलाई दोष दिँदा साह्रै नरमाइलो लाग्छ।’
काम गर्दा अनेक चुनौती आउँछन्। चुनौती आए भन्र्दैमा आत्तिएर काम छोडेर हिँड्न पनि मिल्दैन। जस्तोसुकै परिस्थिति आए पनि सामना गर्नुपर्ने उनको भनाइ छ।
मिठुको ३० वर्षको नर्सिङ करिअरमा १० वर्ष अस्पतालका विभिन्न वार्डको इन्चार्ज भएर काम गरेको अनुभव छ। पहिले तीन वर्ष र अहिले दुई वर्ष गरेर उनले बेबी युनिटमा मात्र ५ वर्ष इन्चार्जका रुपमा काम गरिसकेकी छन्।
सोलुखुम्बुमा जन्मिएकी मिठुलाई सानैदेखी खेलाडी बन्ने मन थियो। उनी त्यो बेला वीरेन्द्र रनिङ शील्ड खेल्ने गर्थिन्। उनले सानाठूला विभिन्न प्रतियोगितामा पदकहरु समेत जितेकी थिइन्।
खेलाडी बन्ने ठूलो इच्छा पालेकी मिठुकी आमा भने उनलाई सानैदेखि नर्स बन्ने सल्लाह दिन्थिन्। त्यसको पनि एउटा कारण रहेछ– मिठुका बुबा इन्डियन आर्मी भएकाले आमालाई सँगै इन्डिया लगेका रहेछन्। मिठु पेटमा हँुँदा उनकी आमालाई रगत बगेर धेरै दिनसम्म अस्पतालमा बस्नु परेको रहेछ।
अस्पताल बस्दा नर्सहरुले गरेको स्याहार, बोलीबचन र उनीहरुले लगाएको पोसाक मन परेकोले उनकी आमाले मनमनै यदि छोरी जन्मिइन् भने नर्स बनाउँछु भन्ने सोचेकी रहिछिन्। त्यसैले सानैदेखि मिठुलाई आमाले राम्रोसँग पढेर नर्स बन्नुपर्छ भनेकी रहिछिन्।
महेन्द्रोदय मावि सल्यानबाट २०४२ सालमा एसएलसी पास गरेकी मिठुलाई एसएलसीपछि उनका मामाले महाराजगञ्ज नर्सिङ कलेजमा पिसिएल भर्ना गरिदिए।
थ्यौरी क्लास पढ्दासम्म त उनलाई रमाइलो लाग्यो तर प्रयोगात्मक (प्राक्टिकल) सुरु भएपछि उनको मन खिन्न हुन थाल्यो।
सुरुमा सरसफाइ गर्ने, बेड मिलाउने, बिरामीको स्याहार गर्नुपर्ने हुन्थ्यो। त्यो बेलामा यस्तो विषय किन पढें जस्तो लागेको थियो उनलाई।
सुरुसुरुमा बिरामीको स्याहार गर्दा दिक्क लागे पनि विस्तारै काम गर्दै जाँदा रमाइलो लाग्न थाल्यो। २०४६ सालमा उनले पिसिएलको पढाइ पूरा गरिन्।
२०४७ को अन्तिमबाट २०४८ सालसम्म बागबजारस्थित अन्नपूर्ण नर्सिङ होममा काम गरिन्। एक वर्ष काम गरेपछि करारमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा काम गर्न सुरु गरिन्। २०५० सालबाट सरकारी नर्समा नाम निस्कियो। मिठुले २०१२ सालमा होप इन्टरनेसनल कलेजबाट ब्याचलर इन नर्सिङ गरिन्।
नवजात शिशु युनिटमा काम गर्दाको अनुभव
बच्चाको वार्डमा इन्चार्ज भएर ५ वर्ष काम गर्दा समय नपुगी जन्मिएका र कम तौल भएका बच्चा निको भएपछि आमाबुबाको मुहारमा देखिने खुसी उनी शब्दमा बयान गर्न सक्दिनन्। त्यो क्षण सम्झिँदा अहिले पनि उनलाई पनि निकै रमाइलो लाग्छ।
समय पुगेर जन्मिएका, तौल पनि ठिकै भएका कतिपय बच्चाको एक्कासि स्वासप्रस्वास बढेर मुत्यु हुने गर्छ। त्यस्तो अवस्थामा आमाबुबालाई सम्झाउन निकै मुस्किल पर्ने उनी बताउँछिन्। आफ्नै सन्तान जस्तै गरेर स्याहार गरेका बच्चाको मृत्यु हुँदा मिठुलाई निकै नरमाइलो लाग्छ।
नवजात शिशु युनिटमा काम गर्दाको चुनौती
सिरियस बच्चा राखिने हुँदा नवजात शिशु युनिटमा एउटा बच्चाका लागि एक जना नर्स चाहिन्छ। उनी कार्यरत ४० वार्डमा १५ जना नर्स कार्यरत छन्। आफ्नो ड्युटी अवधिभर एकछिन बस्ने फुर्सद पनि हँुदैन। १५÷२० जना बच्चा दुई जना नर्सले हेर्नुपर्ने बाध्यता छ।
उनी भन्छिन्, ‘साना बच्चालाई निकै स्याहार चाहिन्छ। आफैं बोल्न, चल्न नसक्ने हुँदा २४ घन्टा निगरानीमा राख्नुपर्ने हुन्छ। तर स्टाफ कम हँुदा निकै सास्ती खेप्नु परेको छ।’
सरसफाइमा पनि त्यतिकै ध्यान दिनुपर्छ। बच्चा छुनु अगाडि राम्रोसँग हात धुनुपर्छ। एक बच्चापछि अर्को बच्चा छुँदा पनि हात धोइहाल्नुपर्छ। छिटो संक्रमण फैलने हुँदा विशेष ध्यान दिनुपर्छ।
भुल्न नसक्ने त्यो घटना
उनी शल्यक्रिया वार्डमा काम गर्थिन्। एक जना गर्भवती काठमाडौं बाहिरबाट रिफर भएर आएकी थिइन्। उनको अवस्था निकै नाजुक भएकोले तुरुन्तै शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने भयो।
चिकित्सकले शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकाले। ती बच्चाको टाउको जोडिएको अवस्थामा थियो। त्यो बेलामा बच्चाहरुलाई सम्हाल्न निकै गाह्रो परेको थियो।
पछि बच्चाको शल्यक्रिया गर्ने भन्दै उनीहरुले कहाँ लगे मिठुलाई थाहा छैन। तर अहिले पनि कसैको शल्यक्रिया गरेर बच्चा निकाल्नुप¥यो भने त्यो घटना याद आउँछ।