विनय बाह्रकोटी
इटहरी- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि रिक्त उपकुलपति नियुक्ति प्रतिष्ठाकै विषय बन्दै गएको छ। तत्कालीन उपकुलपति डा राजकुमार रौनियार भ्रष्टाचार मुद्धामा परेपछि १ वर्षदेखि प्रतिष्ठान निमित्तका भरमा चलिरहेको छ। सरकारले भर्खरै उपकुलपतिका लागि आवेदन माग गरेको थियो। १६ जनाको आवेदन परेकामा ८ जना प्रतिष्ठानभन्दा बाहिरका प्राध्यापक–डाक्टर रहेका छन्।
उपकुलपतिका १६ दावेदारमध्ये प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य मन्त्री भानुभक्त ढकालका आ–आफ्नै उम्मेदवार छन्। स्वास्थ्यखबरले बिहिबार प्रधानमन्त्रीले उपकुलपति बनाउन चाहेका व्यक्तिका विषयमा पहिलो समाचार प्रकाशित गरेको छ।
दोस्रो श्रृंखलामा हामीले प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री ढकालले उपकुलपति बनाउन चाहेका व्यक्तिमा विषयमा जानकारी दिने प्रयास गरेका छौं।
शिक्षा र स्वास्थ्यमा व्यापारिकरण हुनु हुँदैन भन्दै भाषण गर्ने र निजी मेडिकल कलेज सञ्चालकका आलोचकका रुपमा चिनिएका स्वास्थ्य मन्त्री ढकाल यसपटक भने निजी मेडिकल कलेज सञ्चालककै पक्षमा उभिएका छन्। मन्त्री ढकाल निजी मेडिकल कलेज सञ्चालकलाई नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाउने तयारीमा जुटेका छन्।
मन्त्री ढकालले प्रतिष्ठानको उपकुलपतिमा विराटनगरस्थित विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्र गिरीलाई उपकुलपति बनाउने तयारी गरेका छन्। मन्त्री निकट स्रोतका अनुसार मन्त्री उनकै पक्षमा लबिइङ गरिरहेका छन्।
उपकुलपति नियुक्तिका लागि प्रतिष्ठानका सहकुलपतिसमेत रहेका मन्त्री भानुभक्त ढकाल उपकुलपति छनोट समितिका संयोजक हुन्। उक्त समितिले उपकुलपतिको नाम सिफारिस गर्ने छ। समितिमा अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र योजना आयोगका सदस्य उषा झा सदस्य छन् भने सदस्य सचिवका रुपमा स्वास्थ्य सचिव खगराज बराल छन्।
समितिले ६ माघमा सूचना प्रकाशन गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारले ५ दिनभित्र आवेदन पठाउन आग्रह गरेको थियो। निर्धारित समयमा नै आवेदन दिनेमा डा गिरी समेत छन्।
विराटनगरका नेकपाका युवा नेता पर्शुराम बस्नेतले ढकाल र गिरीको सम्बन्ध सुमधुर बनाउन सघाएका हुन्।
मुटु रोग विशेषज्ञ डा गिरी कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट भएर अवकासप्राप्त हुन्। मुख्यतः विराटनगरकेन्द्रीत भएका उनी केही समय काठमाडांैको बिएण्डबी अस्पतालमा कार्यरत थिए। पछि विराटनगरमा मेडिकल कलेज सञ्चालन गर्ने भएपछि उनी बिराटनगर आएका हुन्। विराट मेडिकल कलेजको सञ्चालकमा आएदेखि उनी मेडिसिन डिपार्टमेन्ट चिफ भएर काम गरिरहेका छन् ।
सरकारी अस्पतालबाट सेवा सुरु गरेका उनी निजी मेडिकल कलेजका सञ्चालक हुन्। मन्त्रीसँगको निकट सम्बन्ध भएका कारण गिरी आफैँ पनि उपकुलपति बनिन्छ भन्दै निकटसँग भन्दै हिँडेका छन्।
नोबेल मेडिकल कलेजका संस्थापक अध्यक्षसमेत रहेका उनी पछि त्यहाँबाट बाहिरिएका थिए। अर्का सञ्चालक डा. सुनील शर्मासँग विवाद बढेपछि उनी शेयर लिएर बाहिरिएका थिए।
डा गिरी सुरुमा नेपाली कांग्रेसनिकट थिए तर, पछि उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए।
२०७४ सालको संघीय संसदको निर्वाचनमा हालका स्वास्थ्यमन्त्री ढकाल र नेपाली कांग्रेसका तर्फबाट नोबलका सञ्चालक शर्माबीच मोरङ ६ मा प्रतिस्पर्धा भयो। उक्त समयमा गिरीले ढकाललाई खुलेरै समर्थन गरेका थिए।
-अर्को श्रृंखलामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपकुलपति बनाउन चाहेका उम्मेदवारका विषयमा प्रकाशित गर्नेछौं
यो पनि