प्रोफाइल

सिर्जनशील सर्जन 

भनेको सुनिन्छ– फलानो सर्जनको त हात सफा छ। सफाको अर्थ सफासुग्घर होइन, अभ्यासले खारिएको भन्ने हुन्छ। चिकित्सा क्षेत्रमा भने सोही शब्दावली प्रयोग हुन्छ, ‘जति धेरै बिरामीको सर्जरीको गर्‍यो, त्यति हात सफा हुन्छ।’

एउटा चिकित्साको विद्यार्थी दक्ष सर्जन हुन कति बिरामीमा अभ्यास गर्नुपर्ला ? बिरामीमा अभ्यास गरिने कुरा सुन्दा कर्णप्रिय नलागे पनि यो हरेक सर्जनको बाध्यता हो। वर्षौंदेखि यही चलिआएको छ। जुन प्रक्रियाले मानव जीवनका सुरक्षाकर्मी (सर्जन)हरु निर्माण गर्न सघाइरहेको छ। 

तर, सबैले इतिहासलाई मात्रै पछ्याउँदैनन्। अरुको सिको मात्रै गर्दैनन्। सिर्जनशील भएर त्यही कुरा नयाँ तरिकाले गर्न सकिने विकल्प खोज्छन्। नयाँ विकल्प खोज्नेमध्येमा पर्न आउँछन्, डा उत्तम लौडारी। काठमाडौं मेडिकल कलेजमा कार्यरत यी युवा सर्जनसँग अब्बल सर्जन बन्ने सपना छ। सायद सबै सर्जनसँग त्यस्तै सपना हुन्छ। त्यसलाई पूरा गर्न कसले कति मिहिनेत गर्छ, त्यससँग उसको भविष्य जोडिन्छ।

डा लौडारीले बिरामीमाथि अभ्यास गरेर मात्रै आफ्नो सपना पूरा हुने देखेनन्। त्यसैमाथि पनि ल्याप्रोस्कोपिक सर्जरीको जमाना छ। स्क्रिनमा हेरेर मानव अंगमा स्कालपेल र सुचर चलाउनु चिकित्सा शास्त्रका सैद्धान्तिक ज्ञानले मात्रै पुग्ने कुरा होइन। यसका लागि दिमाग, आँखा र हातको तालमेल मिलाउनुका साथै काट्ने, बाँध्ने र सिलाउने काम सुरक्षित रुपमा गर्न सक्नुपर्छ। यो केही पटक हेरेर वा गरेर जानिने कुरा हुँदै होइन, निरन्तर अभ्यासले मात्रै सम्भव हुन्छ। 

निरन्तर अभ्यासका लागि दुई विकल्प छन्। पहिलो, मानव शरीर नै हो, जुन सिकारुका लागि सहज उपलब्ध हुने कुरा भएन। दोस्रो, मेडिकल कलेजकै स्किल ल्याब। जहाँ सिक्ने केही उपकरण हुन्छन्। तर, दोस्रो पनि आफूलाई मात्रै र निरन्तर उपलब्ध हुने सम्भावना कमै रहन्छ। 

त्यसपछि डा लौडारीको दिमागमा तेस्रो विकल्प सुझ्यो– अभ्यास गर्ने सामग्री आफ्नै भए त ! सर्जरी दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा उनलाई यस्तो महसुस भएको थियो। त्यो समय भारत पुगेको बेला किन्ने प्रयास गरे तर मूल्य ६० हजार भारतीय रुपैयाँ रहेछ। पढ्दै गरेको एक चिकित्साको विद्यार्थीलाई त्यो मूल्य क्रयसुलभ लागेन। 

प्रशस्त अभ्यास गर्न पाएन भने पढेर पास भइसक्दा पनि सर्जनको हात राम्ररी चलिसकेको हुँदैन। पढिसक्दा सर्जरीमा डा लौडारीमा एक तहको आत्मविश्वास त जागिसकेको थियो तर अझै सिकेर ‘पर्फेक्ट’ बन्ने चाहनाले कुतकुत्याइरह्यो। आफूले अझै सिक्नैपर्ने महसुस उनलाई भइरह्यो। 

आफ्ना पिताको पस्मिनाको पसलमा पुगेका बेला उनको दिमागमा उपाय फुर्‍यो। कपडा  सजाउने मानव आकृतिको डमीलाई मानव शरीरको रुप दिएर ‘लर्निङ ल्याब’ बनाउने र त्यसमै अभ्यास गर्ने। आफ्नो त्यो उपायलाई मूर्त रुप दिन प्रविधिमा दक्षता भएका बालसखा दीपक महतको सहयोग लिए। उनले आफूलाई चाहिएको कुरा बताए र अभ्यासका लागि चाहिने सर्जरीको पुराना सामग्री जोरजम्मा पार्न थाले। 

आधारभूत ल्याप्रोस्कोपिक सर्जरीका लागि आवश्यक सबै प्रक्रिया त्यहीँभित्र सेट गरे। जनरल सर्जनले ल्याप्रोस्कोपिक सर्जरीका लागि पाँच वटा आधारभूत सिप सिक्नुपर्छ। ती सिप सिक्न सकिनेगरी अभ्यास सामग्री तयार भयो। त्यो तयार पार्न गरेको मिहिनेत कम्ती छैन। तर सोचेभन्दा राम्रो अभ्यास सामग्री तयार भयो। 

काठमाडौं मेडिकल कलेज र पाटन अस्पतालमा बिग्रेर फालिएका सर्जरीका औजारहरु उनले यो निर्माणमा सक्रिय साथीलाई दिए। कामै नलाग्ने भनिएका ती सामग्रीहरु बनाएर अभ्यासयोग्य बनाइदिए। सुरुमा ल्यापटपको स्क्रिनमा हेरेर सर्जरी सिक्थे उनी। तर उनलाई मोबाइलकै स्क्रिनमा हेरेर सिक्ने व्यवस्था भए अझ उत्तम हुन्थ्यो भन्ने लाग्यो। प्रविधिमा नयाँ प्रयोग गर्न रुचाउने उनका साथी दीपक महतले उनको त्यो इच्छा पनि पूरा गरे। 

त्यो सामग्री निर्माणमा समय खर्च भयो तर लागत भने एकदमै न्यून। सरदर २० हजारमै एक सर्जनका लागि अत्यावश्यक अभ्यास सामग्री निर्माण भएपछि उनले साथीभाइमाझ यसबारे कुरा गरे। आफूले त्यसमै अभ्यास गरेर हासिल गरेको दक्षता देखाए।

एक सर्जनको आवश्यकताले जन्माएको यो सामग्रीको अहिले चर्चा भइरहेको छ। सर्जरीका विद्यार्थीका लागि अत्यावश्यक सामग्री सस्तोमै प्राप्त हुने भएपछि चासो राख्ने बढेका छन्। 

डा लौडारीले आफ्ना लागि त बनाए नै, सर्जरीको तालिम प्रदान गरिरहने गुरु डा दीपकराज सिंहको बुद्धमाई सर्जरी सेन्टरलाई समेत केही थान दिएका छन्। विदेशमा बनेका र नेपालमै बनेका डमीमा सिक्दा नेपालको राम्रो भएको प्रतिक्रिया चिकित्सकहरुले दिएका छन्। यसबाट डा लौडारी हौसिएका छन्। 

उनको साथी–सर्कलबाट माग बढेपछि यसलाई बनाउने उनका साथी दीपक महतलाई थप निर्माण गरिदिन आग्रह गरिरहेका छन्। उनलाई लाग्छ, ‘सर्जरीमा हात बसाउन मन छ तर सामग्री अभाव छ भने यसले पूरा गर्छ।’

यसबाट सर्जनका लागि लाभैलाभ देखेका छन् उनले। उनले भने, ‘मुख्य लाभ त यसमा जतिपल्ट गल्ती गर्न पनि पाइन्छ र त्यही गल्तीले सिकाउँछ।’ मानव शरीरमा गरिने गल्तीले भने ठूलो क्षति पुर्‍याउन सक्छ। 

सर्जरीको समयमा एक प्राध्यापकले विद्यार्थीलाई सिकाउँदै गर्दा साथमै यस्तो सामग्री हुँदा अझै राम्रो हुने उनको बुझाइ छ। उनी भन्छन्, ‘स्किल ल्याबमा आफूलाई चाहिएको बेला प्रोफेसर उपलब्ध हुन सक्नुहुन्न। तर सर्जरीकै समयमा उपलब्ध हुने खाली समयमा यो सामग्री भयो भने सिकाइमाग्न पाइन्छ।’

डा लौडारीका अनुसार कुनै नयाँ चिज बनाएको होइन। तर उपयोगिताका हिसाबले उनको जुगाडको महिमा कम्ती छैन।       
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने