अन्तर्वार्ता

स्थान अभावमा सेवा विस्तार गर्न सकिरहेका छैनौं : डा विष्णुप्रसाद शर्मा [अन्तर्वार्ता]

ललितपुरको पाटनस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ३७ वर्ष पुरानो अस्पताल हो। शान्तभवन अस्पताल र पाटन जिल्ला अस्पताल गाभिएर २०३९ कात्तिक २३ मा पाटन अस्पतालको स्थापना भएको थियो। यो अस्पताल २०६४ माघ २३ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएको हो। १ सय ३८ शय्याबाट सेवा सुरु भएको यस अस्पतालमा हाल ५ सय ९८ शय्या क्षमता छ। ५२ रोपनी क्षेत्रमा फैलिएको अस्पतालमा दैनिक करिब १२ सयदेखि २ हजारसम्ममा बिरामी उपचारका लागि पुग्छन्। यस अस्पतालमा उपलब्ध सेवा, भावी योजना र चुनौतीबारे अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्मासँग स्वास्थ्यखबरकी कमला गुरुङले गगरेको कुराकानीः 

अस्पतालमा हाल केके सेवा उपलब्ध छन्?
जेनेरल अनि इन्टरनल मेडिसिन, सर्जरी, स्त्रीरोग, बालरोग, दाँतसम्बन्धी सेवा पहिलेदेखि नै थिए। अहिले सेवाहरु थपिँदै अर्थोपेडिक, डर्माटोलोजी, रेडियोलोजी सेवाहरु उपलब्ध छन्। यहाँ बाथ रोगको उपचार पनि हुन्छ। डायलाइसिस, ग्यास्ट्रोलोजी, कार्डियोलोजी, प्याथोलोजी, इन्डोस्कोपी, किमोथेरापी लगायत सेवा छन् भने इएनटी र आँखासम्बन्धी उपचार पनि हुन्छ। तर हामीले न्युरो सर्जरी र कार्डियोथोरासिक सेवा भने सुरु गर्न सकेका छैनौं। आँखाको सामान्य उपचार भए पनि अप्रेसन सेवा छैन। यो सेवा पनि सुरु गर्ने तयारी छ। 

यो अस्पतालको सबैभन्दा राम्रो मानिएको सेवा कुन हो ?
हामीले सबै सेवा राम्रो दिएका छौं भन्ने लाग्छ। तर बिरामीको सुझाव र कुराहरु सुन्दा स्त्रीरोग सम्बन्धी र बालरोगको सेवा धेरै राम्रो भएको पाउँछौ। शिशुको लागि एनआइसियु, पिआइसियु सेवा यस अस्पतालमा भएकाले हामीले जटिल अप्रेसन पनि सफल रुपले गर्न सकेका छौं। 

अस्पतालको सेवा प्रवाहमा के–कस्ता चुनौती छन्?
१ सय ३८ शय्याबाट सुरु भएको अस्पताल हो यो। अहिले बिरामीको चाप बढ्दो छ। सेवा पनि थपिँदै छन्। तर ठाउँ त्यही हो। त्यसैले हामीले ठाउँको अभावबारे भनिरहेका छौं। १ सय ३८ शय्याबाट सुरु भएको अस्पतालमा शय्या क्षमता ५ सय ९८ पुगेको छ। पहिले ४/५ सय जति बिरामी आउँथे भने अहिले दैनिक २ हजार बिरामी आउँछन्। तर ठाउँ त्यही छ। योसँगै प्रतिष्ठान भएकाले यहाँ शैक्षिक गतिविधि पनि बढेको छ। अनि रिसर्च प्रोजेक्ट पनि छ।

सबै बढ्यो तर ठाउँ त्यही भएकाले सेवा दिन अप्ठ्यारो भइरहेको छ। अर्को भनेको हामीले सरकारबाट वार्षिक ६÷७ करोड अनुदान पाउँछौ। जुन विभिन्न उपकरण किन्न र कन्स्ट्रक्सनमा खर्च गर्नुपर्छ। दैनिक खरिद गरिने सामान, कर्मचारीको तलब सुविधाहरु भने बिरामीबाट लिएको पैसाबाट गर्छौं। त्यो बाहेक हामीले वर्षमा एक करोडभन्दा बढी रकम सामाजिक सेवामा पनि छुट्टै खर्च गर्छौं।

पाटन अस्पतालको मुख्य उद्देश्य भनेको कुनै पनि गरिब तथा असह्य बिरामी आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुन नपरोस् भन्ने हो। तर पैसा तिर्न सक्नेले तिर्नु पनि पर्छ। त्यसैले हामीले अस्पतालमा प्राइभेट वार्ड क्लिनिक पनि सञ्चालन गरेका छौं। किनभने हामी आफैं कमाएर अघि बढ्नुपर्ने हुन्छ। हाम्रो मुख्य समस्या भनेको ठाउँ अभाव नै हो। ओपिडीलाई व्यस्थित बनाऔं, बिरामीलाई राम्रोसँग बस्ने व्यवस्था मिलाउँ भने पनि सकिरहेका छैनौं। जुन ठाउँमा मानिसको चाप बढी हुन्छ, त्यहाँ व्यवस्थापन पनि निकै गाह्रो हुन्छ। 

जग्गा उपलब्ध गराउनुपर्ने तपाईंहरुको माग हो?
सरकारले कुनै ठाउँमा जग्गा उपलब्ध गराइदियो भने सारै राम्रो। नभए पनि यही ठाउँमा बहुतले भवनको सोचमा छौं। यसमा हामीले केही प्रक्रिया अघि बढाएका छौं। सरकारले यसलाई सकारात्मक लिए आर्थिक सहयोग र अनुमति दिएर अघि बढ्न पायौं भने सहज हुन्छ। किनभने अस्पताल धेरै टाढा लगेर राख्नु पनि बिरामीको लागि सहज नहुन सक्छ। जसरी हुन्छ, यही ठाउँमा धेरै सेवा दिन पाए राम्रो हुन्थ्यो। त्यसैले मुख्य भनेको हामीलाई ठाउँ चाहियो, नभए यही नै बहुतले भवन बनाउनका लागि सरकारले अनुमति दिएर सहयोग गरे धेरै सेवा–सुविधा उपलब्ध गराउन सकिन्छ। 

अस्पतालको भावी योजना के छ?
सबैभन्दा पहिले त ठाउँकै कुरा आउँछ। हामी छिट्टै पेडियाट्रिक हेमाटोलोजी र अंकोलोजी सेवा थप्ने तयारीका साथ अघि बढिरहेका छौ। न्युरो सर्जरी, कार्डियोथोरासिक सेवा सुरु गर्ने योजना हो। तर यसका लागि अप्रेसन थिएटरदेखि बिरामी राख्न सक्ने ठाउँ पनि चाहिन्छ। ठाउँ अभावले हामीले जुन हिसाबले सेवा प्रवाह गर्न सक्छौं, त्यो गर्न गाह्रो भइरहेको छ। त्यसैले ठाउँ अभाव हुँदा पनि हामीले अन्य केही सेवा विस्तार गर्न सकेका छैनौं।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने