कोरोना भाइरस कसरी सर्छ? यो प्रश्नको उत्तर आउने क्रम जारी छ। तर यसको उत्तरमा वैज्ञानिकहरु अझै प्रष्ट छैनन् वा सबै एकमत छैनन्।
"द जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन" मा हालै प्रकशित एक अनुसन्धानले एक जना २० वर्षीया लक्षणविहीन महिलाले आफ्नो परिवारका अरु पाँच सदस्यलाई कोरोना भाइरस (हाल "कोभिद-१९" को नाम दिएको छ) संक्रमण सारेको पुष्टि गरेको छ। उसको संक्रमण भएदेखि लक्षण देखिने समय अथवा "इन्कुभेसन समय" पनि हालको भन्दा बढी (१९ दिन) देखिएको छ। यो अनुसन्धानको नतिजा नेपालमा देखिएको भन्दा ठिक उल्टो हो अर्थात् नेपाली "कोभिद-१९" संक्रमित बिरामीको न त परिवारका सदस्य बिरामी भएका छन् न त वुहानमा सँगै रहेका वा नेपालमा भेटघाट गरेका साथी नै।
"कोभिद-१९" को संक्रमण रोक्न हाल व्यक्तिगत सरसफाइ त्यसमा सबैभन्दा बढी हात धुने तरिकालाई प्राथमिकता दिइएको छ। यसमा लगभग सबै जना सहमत जस्तो पनि देखिन्छ। तर फेरि पनि प्रश्न के आउँछ भने "कोभिद-१९" को उदगम् स्थान चीन र हाल चीन बाहिर संख्यात्मक रुपमा ह्वात्तै वृद्धि भएको देश दक्षिण कोरियामा के राम्रोसँग हात नधोएर सो संक्रमण बढेको होला त?
दक्षिण एसियाली देशहरु भन्दा पक्कै पनि ती देशमा सरसफाइमा बढी नै ध्यान दिएको हुनुपर्छ। तर दक्षिण एसियाली भारत, श्रीलंका, नेपाल लगायतका देशहरुमा "कोभिद-१९" तुलनात्मक रुपमा विकसित देशमा भन्दा सीमित भएको देखिन्छ। यसले कोरोना संक्रमण सीमित गर्न व्यक्तिगत सरसफाइ पर्याप्त हुँदैन भन्ने जनाउ दिन्छ।
केही समय अगाडि यो पंक्तिकारले "कोरोना भाइरसको संक्रमण पैसाको नोटबाट सर्न कति सम्भव होला?" भनेर खुला प्रश्न गरेको थियो। त्यसको चार दिनपछि पिपुल्स बैंक अफ चाइनाको प्रतिनिधिले एउटा सम्मेलनमा पुराना बैंक नोटहरुलाई नष्ट गर्ने घोषणा गरेको थियो। फ्लु भाइरस अधिकतम १७ दिनसम्म पैसाको नोटमा रहन सक्ने वैज्ञानिक आधार रहेको अवस्थामा कोरोना भाइरसको अवस्था के हुन्छ भन्ने कौतुहलता देखिन्छ। यद्यपि यसको वैज्ञानिक आधार आउन सायद अझै केही समय कुर्नुपर्ने हुन सक्छ।
दिसामा पनि यो भाइरसको संक्रमण पत्ता लागेको हालैको अनुसन्धानले देखाएको छ। तर हाल प्रचारमा रहेको निर्देशिकामा सर्ने तरिका वा बच्ने उपायमा यो माध्यमको बारेमा भने उल्लेख गरेको पाइँदैन। त्यस्तै हालै प्रकाशित अनुसन्धानले र्यालमा पनि जीवित कोरोना भाइरस भेटिएको पुष्टि भएको छ। यसबाट संक्रमितको थुकबाट पनि सर्न सक्ने देखिन्छ। जुन जथाभावी फ्याँक्दा संक्रमणको बढी जोखिम हुने देखिन्छ।
हाल नेपाल मात्र होइन, विश्वमा नै कोही चीनबाट आएको छ भने त्यो व्यक्ति नजिक आउँदा मात्र पनि आफूलाई संक्रमण सर्छ कि भनेर सशंकित हुने वा शंकाको दृष्टिले हेर्ने गरेको पाइन्छ। अर्थात् अर्को भाषामा भन्नु पर्दा हाल वर्णन गरिएको सर्ने तरिका र यसबाट बच्ने उपायहरुमा मानिसहरु पूर्ण रुपमा ढुक्क भएको देखिँदैन।
यसले गर्दा समाजमा अनेक थरीका भ्रम रहने र अड्कलबाजी गर्ने गरेको पाइन्छ। आशा गरौं, हाल कोरोना भाइरस (कोभिद-१९) सर्ने तरिकामाथि थोपरिँदै गरेको प्रश्नैप्रश्नको ठेलीलाई वैज्ञानिकहरुले छिट्टै सम्बोधन गर्न सक्षम हुने छन् र मानिसमा उत्पन्न भएको कोभिद-१९ भाइरसको मनोत्रास समाप्त हुने छ।