अन्तर्वार्ता

अस्पतालको सेवा सुधारका लागि काम गर्छु : डा कृष्णप्रसाद पौडेल [अन्तर्वार्ता]

नेपालको केन्द्रीय बाल अस्पताल हो कान्ति बाल अस्पताल। यहाँ दैनिक सात सयदेखि एक हजारसम्म बिरामी उपचारका लागि आउने गर्छन्। तर सधैं जनशक्ति र बजेट अभावका कारण सोचेजस्तो सेवा दिन नसकिएको गुनासो अस्पतालका निर्देशकहरुबाट आइरहेको हुन्छ। गत बिहीबार मात्र कान्ति बाल अस्पतालमा डा कृष्णप्रसाद पौडेल नियुक्त भएका छन्। कान्तिमै प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियनका रुपमा कार्यरत डा पौडेल निर्देशकका रुपमा नियुक्त भएका हुन्। यसअघि डा आरपी बिच्छा अस्पतालको निर्देशक थिए। कान्ति बाल अस्पतालमा उनले काम गर्न थालेको १२ वर्ष भयो। अस्पतालको सेवा सुधारका लागि योजना, प्राथमिकता र चुनौतीका विषयमा नवनियुक्त डा पौडेलसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीः

कान्ति बाल अस्पतालका निर्देशकको पदबहाली गर्नुभयो। यो अस्पतालको सुधारमा तपाईंका योजना के-के छन्?
अस्पतालमा भइरहेको सेवाको गुणस्तर कायम गर्दै आवश्यक ठाउँहरुमा सुधार गर्नु र सेवाहरु अवरुद्ध हुन नदिनु मेरो पहिलो प्राथमिकता हो। आकस्मिक कक्षमा दिनमा तीन सय जति बच्चा आउँछन्। ओपिडीको समयपछि त्यहाँ भीड बढ्छ। यो पहिलेदेखिको समस्या हो। त्यसमा ट्रायज अर्थात् सिकिस्तता अनुसार बिरामीको वर्गीकरण गर्ने योजना छ। 

गम्भीर खालका बिरामीलाई अगाडि पठाउने, कुर्न मिल्नेलाई पहिचान गर्ने जस्ता काम गर्न पाइयो भने इमर्जेन्सीमा हुने भीड कम हुन सक्छ। अनि गम्भीर खालका बिरामीले समयमै उपचार पनि पाउन सक्छन्। यो प्रणाली लागू गर्न अलि समय लाग्न सक्छ। किनभने यसका लागि नयाँ कर्मचारी राख्नुपर्छ, उनीहरुलाई तालिम दिनुपर्छ, बजेट चाहिन्छ। यसका लागि विकास समिति, स्वास्थ्य मन्त्रालय अथवा युकेको एक एजेन्सीले सहयोग गर्छ की भन्नेमा विषयमा छलफल गर्दैछौं।

हामीले ड्युटी अफिसर पनि राखिसकेका छौं। उसले अफ टाइममा अस्पतालको प्रशासनको काम गर्छ। ड्युटीमा अहिले राम्रोसँग नियमित रुपमा चिकित्सक राख्न सकिएको छैन। कति करार त कति भोलिन्टियरका छन्। यसलाई व्यवस्थित गर्नु छ। आइसियुको बेड पनि अपुग छ। जनशक्तिको अभावमा चाहे जति आइसियुको बेड थप सकिएको छैन। हामीसँग भएको नर्सिङ जनशक्तिले नसकेको अवस्थामा बढाउनका लागि गर्नुपर्ने योजनाहरु छन्। 

दीर्घकालीन लक्ष्य भनेको राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थान (एनआइसिएच) हो। यो मन्त्रिपरिषद्बाट पास भइसकेको छ। पास भएर पनि सशक्त अवस्थामा काम हुन सकेको छैन। यो भयो भने बाल स्वास्थ्य सम्बन्धी अध्ययन अनुसन्धानको केन्द्र बनाउन सकिन्छ। 

यी विभिन्न योजनामध्ये तत्काल गर्नुपर्ने र तपाईंको प्राथमिकतामा परेका विषयहरु कुन-कुन हुन्?
ड्युटीमा खट्ने चिकित्सकलाई काम गर्न सहज बनाउन बिग्रिएको सिसी टिभी बनाउनु छ। तत्काल गर्नुपर्ने काम के हो? के गर्दा सेवा सुधार गर्न सकिन्छ भन्ने विषयमा प्रत्येक विभागमा छलफल गर्ने छु। जस्तैः म मेडिकल वार्डमा सधैं राउन्ड गर्छु। त्यहाँ बिरामीलाई खाना खाने छुट्टै ठाउँ छैन। बिरामीले बेडमै खाना खानु पर्छ। खानेपानी नभएर सबैले बाहिरबाटै मिनरल पानी किनेर खानुपर्छ। तत्काल पिउने पानीको व्यवस्था गर्नु छ।

कान्ति बाल अस्पतालमा आवश्यकताअनुसार स्टाफ नर्स छैनन्, नयाँ उपकरण पनि छैन भन्ने छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?
उपकरणमा चाहिँ तत्काल यो बजेटमा नसमेटिएकाले अर्को बजेटमा पहल गर्छौं। यो बाहेक अन्य केके उपकरण थप्नुपर्ने हो या आवश्यक छ, त्यस विषयमा पनि छलफल गर्छौं। अहिले भइरहेको सेवा गुणस्तरीय रुपमा सञ्चालन गर्नुपर्छ। यसलाई रोकिन दिँदैनौ। यो नै हाम्रो पहिलो प्राथमिकता हो। जनशक्तिका विषयमा पनि कति आवश्यक हो, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्छौं। 

अस्पतालमा सुधार गर्नुपर्ने या सेवा थप्नुपर्ने केके छन्?
बिरामी बढ्न थालेपछि शय्या नै कम हुन्छ। त्यसैले शय्या विस्तार गर्नुपर्ने छ। आइसीयुको पनि शैय्या थप्नुपर्ने छ। विशिष्ट सेवाहरुलाई पनि व्यवस्थित गरेर चलाउनु छ। हामीसँग न्युरो, नेफ्रो, कार्डियो, अंकोलोजी सेवा चलिरहेको छ। यी सब सेवाको क्षमता विस्तार गर्नुपर्ने छ। जसमा चिकित्सक पनि थप्नुपर्ने छ। अपरेसन थिएटर सानो भएर धेरै अपरेसन पेन्डिङमा छन्। यसलाई पनि व्यवस्थित गर्नु छ। यो बाहेक नाक, कान, घाँटीको सेवा दिइरहेका छौं। अर्थोपेडिक सेवा अहिले हामीसँग छैन। यसलाई कति अघि बढाउन सकिन्छ भन्ने विषयमा वीर या ट्रमा सेन्टरसँग सहकार्य गरेर हुन्छ की भन्नेमा स्वास्थ्य मन्त्रालयसँग छलफल गर्दै छौं। 

अस्पतालमा दैनिक कति बिरामी उपचारका लागि आउँछन्?
दैनिक सर्जिकल र ओपिडी गरेर पाँच सय बढी बिरामी आउँछन्। अन्य ३ सय देखि ४ सय इमरजेन्सीमा आउँछन्। सबै गरेर दैनिक ७ सयदेखि एक हजारसम्म बिरामी आउँछन्। ६ सय ५० बढी कर्मचारी छन्। जसमध्ये आधाभन्दा बढी कर्मचारी अस्पताल विकास समितिको छ। जसको तलब तथा सेवा–सुविधाका लागि अस्पतालले आन्तरिक स्रोतबाट रकम खर्चनुपर्छ।

यी सब योजना बनाइरहँदा चुनौतीहरु केके देख्नुहुन्छ?
चुनौती आन्तरिक र बाह्य दुवै छ। आन्तरिक भनेको यहाँ भएका सबै कर्मचारीलाई सदुपयोग गर्न सक्नुपर्छ। भएका स्रोत र जनशक्तिको क्षमता प्रयोग गर्न सक्नु चुनौतीपूर्ण छ। उहाँहरुको कामप्रति उत्प्रेरणा जगाउन आवश्यक छ। आन्तरिक चुनौती भनेको यही हो। जहाँ–जहाँ स्वास्थ्य मन्त्रालयको सहयोग लिनुपर्छ, त्यहाँ सहयोगका लागि पहल गर्नु बाह्य चुनौती हो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने