रोजी थपलिया
प्राण भरे भगवान्! भर्न नसके यमराज, बिन्ती नभनिदेउ मलाई
न त हुँ कुनै जादुगर, न हिँड्छु जादुको छडी नै चलाई
रोगलाई मन्थन गरेर अमृत निकाल्ने देव होइन म
कैलाशकुट विष कण्ठमा राख्ने निलकण्ठ शिव पनि होइन म
म त रोगीलाई निरोगी बनाउन यत्न गर्ने जुझारु आत्मा हुँ
बिरामीको मनोबल, कालको पनि काल, रोगको पर्खाल, म त डाक्टर हुँ
अपरेसन गर्दा गर्दै धेरै रक्तश्राव भएमा, प्राण रक्षा गर्न तिम्रो, मिर्गौला झिक्नुपर्यो भने; म चोर भएँ
मिर्गौला ननिकाली मर्न छाडिदिउँ त, ज्यानमारा भएँ
उचित औषधि र जाँच अलि बढी लेखिदिउँ त लुटेरा भएँ
अनि नयाँ औषधिको ट्रायल गरम् त, वाह! म त व्यापारी भएँ
थाहा छ, यो सेतो कोटको सेतो मर्यादा राख्न,
मैले कैयन् कालरात्री मेरा काला परेली नझिम्काई कटाएकी छु
आफूभन्दा ठूला तौल भएका किताबका करोडौं काला अक्षर त्यसै चपाएकी छु
काला कलमहरुले काला अक्षर हाँकेर मेरो काला औंलामा अझै काला ठेलाहरु उठाएकी छु
आँखाका कालो नानी वरीपरी नमिठा काला रेखाहरु थुपारेकी छु
मेरो मानसपटलमा अझै भर्खरै बारीबाट टिपेर ल्याएर काटेको काक्रोको चिराजस्तै ताजा छ त्यो दिन
चिकित्सा शिक्षाको पहिलो वर्ष,
पहिलो हर्षको त्यो दिन
घुँडा हुँदै तलसम्म झुन्डिएका कुर्ती, तेलमा चपक्कै मुछिएर बाटिएका चुल्ठो अनि छाती हुँदै पेटसम्म पुगेका हुपसियोले सपक्कै चेपिएका सल लिई चुल्ठोले छातीको हाँड छोई दिदीहरु मेरो नाम फलानो..... काँप्दै गरेका स्वरयन्त्रले एकै श्वासमा इन्ट्रो भनेको दिन
अझै याद छ, रजश्वलाको मेरो दोस्रो दिन
दिदीहरु म उभिन सक्दिन
म रावण जसरी हाँस्न सक्दिन
म आँसु चाट्न सक्दिन भन्न नसक्ने दिन
काँपेका खुट्टालाई आँसुले धोएको दिन
अरे! रगत र आँसुले धुलिएको मेरो सेतो पोसाकमा आज तिमीहरुले दाग देखिरहँदा
तिम्रो बच्चाले आमाको दुध खाओस् भनेर चर्किएका मेरा सुत्केरी छातीले सरापिरहँदा
मेरो तीन महिने सानी छोरीले आमाको कोख खोजिरहँदा,
तिम्रो बच्चा र आमाको कोख मिलाइ रहेकी हुन्छु
कारण म त डाक्टर हुँ।।
थाहा छ, तिमीहरुको चाड पर्व सजाउन, मैले कैयन् चाडपर्व छाडेकी छु
तिमीहरुका स-साना संसारमा रङ्ग भर्न, मेरो जीवनको रङ्ग पखाल्दै मैले सेतो स्वीकारेकी छु
तिमीलाई स्वस्थ तुल्याउन अप्रेसन गर्दागर्दै, त्यही सियोले आफूलाई कति पटक पो रोपेकी छु
एच.आई.भी, हेपाटाईटिस बि तिमीबाट आफूमा सार्दै एराटि, इम्युनोग्लोबुलिन् पटक पटक गरेर कति पटक पो लिएकी छु
अक्षता थाप्दै गरेका निधार खाली राख्दै, आशिर्वाद जति तिमीलाई सुम्पिँदै इआरमा तिमीलाई सिपिआर दिन भनेर एकै श्वासमा दौडिएर तिमीमा श्वास भर्न आफैं श्वास फेर्न कति पटक बिर्सिएकी छु
खैर द्रव्यमा बिक्री हुने खोक्रो भव्य मानवताको छाला ओडेर
लापरबाही भयो भन्दै तिमीहरु क्षतिपूर्तीको माग गरिरहँदा
मेरो इच्छा बेचेर रोजेको धर्म निरीह भइरहँदा
मेरा अन्तस्करणबाट वेदनाका ज्वारभाटा फुटाउँदिन म
म मेरो आलालाई दिएका वचन भुल्दिन म
कारण म त डाक्टर हुँ।
तिम्रा निस्सासिएर निलै भएर आएका माता पितालाई, आफ्नै ठानी
आधा माया अनि आधा उपचारले गुलाबी बनाउने म नै हुँ
हृदयघात अनि मस्तिष्कघात भएकालाई आफ्नै हृदय र मस्तिष्क खर्चेर आयु भर्ने म नै हुँ
आफु पृथ्वी बनी, सुर्य तिमीलाई ठानी, तिम्रो जीवनरक्षाको पाले बनेर तिमीहरुको वरिपरि ३६५ दिन घुमिरहने म नै हुँ।।
हिड्ने मान्छे लड्छ तर लडेर उठेको तिमीहरु देख्दैनौं भने
तिम्रो पितालाई बचाउने मेरो प्रयास विफल भयो भने
तिमी अस्पतालमा समूह बोलाई ढुङ्गा मुढा गर्छौ भने
गुन्डा लगाई मेरो टाउको फुटाउँछौ भने
याद रहोस्, त्यो फुटेको टाउकोले, मेरोजस्ता जुझारु टाउकाको दहन गर्नेछन्
अहिले तिमीले तिम्रो पिता उपचार पाउँदा पाउँदै गुमायौ
तिमीले तिम्रा पितासमान धेरै पिता डाक्टरको हात बाँधिदिएर गुमाउनेछौ
सामान्य रोगमा निकै धनराशी खर्चनेछौ
यस्तै दिनका लागि तिमीबाट एच.आइ.भी, हेपाटाइटिस भाइरस तिमीबाट लिएकी होइन
तीन महिने सुत्केरी छाती चर्काएकी होइन
थाप्दै गरेको अक्षता छाडी, निधार खाली राखेकी होइन
बसन्तमा पनि शिशिर स्वीकारेकी होइन
मेरो सेतो कोटमा तिमीले दिएका नमिठा दाग मेटाउन म पहेंलो अग्नीकुण्डमा होमिन तयार छु
बिन्ती चोर, फटाहा, ज्यानमारा, लुटेराको संज्ञा नदेउ मलाई
बिरामी जाँच्ने हातमा हत्कडीले नबेरिदेउ मलाई
अरे आला समाउने मेरा हातमा हत्कडी बेरिरहँदा, यदि तिमी हतोत्साहित भई ढलेछौ भने
म त त्यही हत्कडीले बाँधिएका हात, तिम्रो छातीमा राखी
आफ्नो श्वासले तिम्रो छाती फुलाउन, चल्न छाडेका तिम्रा मुटुमा धड्कन भर्न सधैं तत्पर रहन्छु
मेरो रगत हुँदै कोष कोषिकामा गजक्क परेर विराजमान् हिप्पोक्रेटसको ओथलाई नित्तान्त पुजिरहनेछु
कारण म त डाक्टर हुँ
कारण म त डाक्टर हुँ