काठमाडौं– कोरोना भाइरस (कोभिड १९)को संक्रमण हुने त्रासले जर्मनीका गृहमन्त्रीले त्यहाँका चान्सलर एन्जेला मार्केलसँग हात मिलाउन नमानेको भिडियो चर्चित भयो।
कोरोनाको संक्रमण विश्वभर फैलिन थालेसँगै यसले त्रास सिर्जना गरेको छ भने अभिवादन गर्ने शैलीमा पनि परिवर्तन आउन थालेको छ। कोरोना भाइरस सर्ने त्रासका कारण धेरैमाझ प्रचलनममा रहेको ह्यान्डसेक (हात मिलाउने) बानीमा पनि परिवर्तन गर्न थालिएकाे हाे।
कोरोना संक्रमण हुन नदिन मानिसहरुले अंगालो मार्ने, चुम्बन गर्नेजस्ता अभिवादनका शैलीलाई त्याग्न थालेका छन्।
चीन
बेइजिङमा बिलबोर्डले मानिसहरुलाई अरुलाई अभिवादन गर्दा हात नमिलाउनु भन्दा दुवै हात जोड्न सार्वजनिक सूचना प्रवाह गर्न थालेको छ। सार्वजनिक घोषणामा परम्परागत चिनियाँ अभिवादन शैली प्रयोगमा ल्याउन सुझाउन थालिएको हाे।
फ्रान्स
गालामा चुम्बन गरेर अभिवादन गर्ने शैली त्याग्न त्यहाँका अखबारहरुले सुझाएका छन्। त्यस्तै हात पनि नमिलाउन उनीहरुले भनेका छन्। एकअर्काको आँखामा सीधा हेर्नू नै अभिवादनका लागि पर्याप्त हुने मिडियाको सुझाव छ।
ब्राजिल
ब्राजिलको स्वाथ्य मन्त्रालयले कमारो भनिने क्याफिन युक्त पेयपदार्थ सेवन गर्न प्रयोग गरिने धातुको पाइप एकअर्कामा साझा नगर्न सिफारिस गरेको छ। त्यस्तै कुनै पनि प्रकारको चुम्बन पनि निषेध गरिएको छ।
स्पेन
यहाँ इस्टर पर्वका लागि धातुका वास्तुकलामा चुम्बन गर्ने लोकप्रिय प्रचलनमा असरपर्ने देखिएको छ।
रोमानिया
बसन्त ऋतुको आगमनको सुरुवात भएको संकेतका रुपमा पुरुषले महिलालाई फूल दिने मार्टिश्वर पर्व पनि प्रभावित हुने भएको छ। यहाँ सरकारले फूल दिँदा चुम्बन नगर्न आग्रह गर्दै सन्देशहरु प्रवाह गरेकाे छ।
इरान
कोरोना संक्रमणका कारण ५० जनाभन्दा धेरैको ज्यान गइसकेकाे इरानमा हातको ठाउँमा खुट्टा मिलाउनु अभिवादनको नयाँ शैली बनेको छ।
न्युजिल्याण्ड
एकअर्काको नाक जुधाएर अभिवादन गर्ने शैलीलाई न्युजिल्याण्ड सरकारले प्रतिबन्ध लगाएको छ।
कतार युएई
कतार र युएईले नजिकैबाट गरिने सबै अभिवादन नगर्न नागरिकलाई आग्रह गरेका छन्। यसको सट्टा उनीहरुले हात हल्लाउन सुझाएका छन्।
अमेरिका
अमेरिकाले खेलाडीहरुलाई आफ्ना समर्थहरु माझ पुग्दा अंगालो मार्ने, अटोग्राफ भर्नेजस्ता काम नगर्न आग्रह गरेको छ। त्यस्तै चुम्बन अभिवादनकाे शैली पनि त्याग्न भनेको छ।
नमस्ते उपयुक्त
कारोना भाइरस संक्रमणका लागि पश्चिामा देशहरुमा गरिने अभिवादन शैली घातक हुनेभन्दै यसमाथि प्रतिबन्ध लागिरहेका बेला दक्षिण एसियाका अभिवादनका प्राचीन शैलीलाई विस्तार गनुपर्ने टिप्पणी हुन थालेकाे छ।
श्रीलंकाका एकजना लेखक नकाला गुणवद्धानेले नमस्ते दक्षिण एसियाकाे प्राचीन अभिवादन शैली भएकाे बताउँदै नमस्ते नै कोरोना संक्रमण मुक्त रहने अभिवादनकाे शैली रहेकाे उल्लेख गरे।
त्यस्तै नेपाल, भारतलगायतका देशमा पनि हात मिलाउनुभन्दा नमस्कार गर्ने अभिवादन शैली उपयुक्त भएको भन्दै त्यसलाई सबैतिर विस्तार गर्नुपर्ने चर्चा हुन थालेकाे छ।