डक्टर्स आर्टिकल

दन्त उपचारमा कोरोनाको जोखिम

डा पदम नेपाली/डा भरत खरेल

कोरोना भाइरस डिजिज (कोभिड-१९) अहिले सर्वाधिक छलफल र चासोको विषय बनेको छ। चीनको वुहान सहरबाट सुरु भएको यो भाइरस अहिले चीनमा भन्दा पश्चिमी देशहरुमा आक्रामक रुपमा फैलिरहेको छ।

मन्त्री, सभासद, चर्चित अभिनेता, खेलाडीसम्मलाई यो भाइरसले समाइसकेको छ। चर्चित फुटबल खेलाडी रोनाल्डो समेत क्वारेन्टाइनमा बस्नु परको समाचार सार्वजनिक भइसकेको छ।

सुरु भएको ३ महिना नबित्तै २०७६ फाल्गुन २९ गते बेलुकी ८:३० बजेसम्म १,२९,५९० जनालाई कोरोनाको संक्रमण भइसकेको छ  भने ४,७४९ जनाको ज्यान गइसकेको छ।

पशुपतिनाथको कृपाले भनौं वा नेपालीको प्रतिरक्षा प्रणाली बलियो भएर, आजसम्म नेपालले यो प्रकोपबाट उल्लेख्य क्षति बेहोर्नु परेको छैन। चीनसँगै सिमान जोडिएको देश भइरहँदा, विमानस्थल र सीमामा गतिलो चेकजाँच नहुँदा र उपयुक्त तयारी र सावधानी नहुँदा समेत हामी सुरक्षित हुन सकेकोमा फेरि पनि भगवानप्रति कृतज्ञ हुनै पर्छ।

तर, नेपालकै पुरानो र चर्चित भनाइ ‘भाग्य छ भन्दैमा डोकोमा दूध दोहेर अडिँदैन’ भन्ने कुरा कुनै दिन सत्य साबित भइदिन सक्छ। अनि त्यो बेला हामीले चाहेर पनि धेरै केही गर्न सक्दैनौं| दु:खका साथ हामी धेरैलाई कोरोनाले साथमै लिएर जान सक्छ।

सरकारको तयारी पर्याप्त र विश्वसनीय देखिँदैन। संकास्पद देखिएकाहरुलाई समेत क्वारेन्टाइनमा राख्न नसक्ने कुरा सरकारबाट आइसक्यो। यस्तो अवस्थामा हामी सबै आ-आफ्नो क्षेत्रबाट सावधान रहनुपर्छ र यसको प्रकोप नेपालमा आएको खण्डमा कसरी लड्ने भन्ने मजबुत तयारी र योजना साथमा हुनुपर्छ।

संक्रमितको सम्पर्कमा आउने सबैमा संक्रमण फैलने सम्भावना बराबर छ। स्वास्थ्यका सम्पूर्ण विधामा यो संक्रमण फैलने जोखिम उच्च भएको यथार्थ चीनको वुहान सहरमै कोरोनाको उत्पति भएको रहश्य उद्घाटन गर्ने एक जना चिकित्सकको मृत्युले पनि पुष्टि गर्छ।

दन्त स्वास्थ्य र व्यवसायमा आबद्द स्वस्थ्यकर्मीमा समेत कोरोनाको उच्च जोखिम छ। संक्रमितभन्दा ३ फिट टाढा रहेर संक्रमणबाट बच्ने प्रावधान दन्त अभ्यासमा सम्भव हुँदैन। बिरामीको मुखको नजिकै बसेर मुखमै हेरेर उपचार गर्ने पद्दति भएकाले बिरामीले खोक्दा अथवा हाच्छिउँ गर्दा सिधै संक्रमणका स्रोतहरु सेवाप्रदायकको अनुहारभरि ठोक्किन पुग्छ।

संक्रमित बिरामीलाई मास्क लगाएर बस्न लगाउने पद्दति पनि दन्त विधामा सम्भव छैन। बिरामीले लागेको मास्क खोल्न लगाई मुख समेत खोलेर बिरामीको समस्या हेर्नुपर्ने हुन्छ। त्यसले पनि संक्रमणको जोखिम अझै बढाउँछ।

दन्त उपचार पद्दति जस्तै: अल्ट्रासोनिक स्केलिङ, सर्जिकल दाँत निकाल्ने पद्दति, दाँतमा क्याभिटी बनाउने, क्राउनको लागि दाँत मिलाउने सबैबाट साना-साना तरल र ठोस कणहरु सहितको एरोसोल उत्पन्न हुन्छ। यो संक्रमणको मुख्य स्रोत हो। यतिमात्र नभएर दन्त चिकित्सक तथा सहायक स्वास्थ्यकर्मीबाट समेत बिरामीमा संक्रमण सर्ने डर रहन्छ।

अर्को कुरा चिकित्सक र सहायक स्वास्थ्यकर्मीले आवश्यक सावधानी अपनाउन उपयुक्त र मापदण्ड अनुसारको उपकरणहरुको अभाव चुनौतीको रुपमा खडा छ। गुणस्तरको त कुरा छाडौं, सामान्य मास्क र स्यानिटाइजर समेत बजारमा पाइँदैन।

अर्को कुरा ७०-८० प्रतिशत डेन्टल सेटिङमा निर्मूलीकरणको विधि समेत हुबहु रुपमा आत्मसात गरेको पाइँदैन। बिरामी छोएको हातले डेन्टल चियर, धारा, कुर्सी, अन्य सामग्री छोएको हुनसक्छ, जसले संक्रमणलाई झनै फैलाउन सक्छ। असिस्टेन्टको पूर्ण सहायता बिना उपचार पद्दतिमा सामेल हुँदा अझै यो बढेरै जान्छ।

यी विभिन्न चुनौतीका बाबजुद हामीले यस्तो प्राणघातक संक्रमणबाट बच्न भरपुर सावधानी अपनाउनै पर्छ। डेन्टल उपचार पद्दतिको समयमा निम्न अनुसारको सावधानी अपनाउनु आवश्यक हुन्छ:
१. सर्वप्रथम दन्त चिकित्सक र उनीहरुका सहायक सहकर्मीले कोरोना संक्रमणको संकास्पद बिरामी पहिचान गर्न सक्नुपर्छ। उच्च ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा अत्यधिक समस्या, घाँटी दुखेको आदि बिरामीलाई इमर्जेन्सी दन्त उपचार बाहेक अन्य दन्त उपचारलाई तत्कालको लागि स्थगित गर्ने र त्यस्ता बिरामीलाई सुविधासम्पन्न अस्पतालमा रेफर गर्ने। इमर्जेन्सी उपचार समेत सम्पूर्ण सावधानी अपनाएर गर्ने।

२. दन्त अस्पताल अथवा क्लिनिक बाहिर थर्मोमिटरले सबैको तापक्रम परीक्षण गरी उच्च तापक्रम मापन गरिएकालाई शंकास्पद मान्न सकिन्छ।

३. मेडिकल र ट्राभल हिस्ट्री लिएर सम्भावित पहिचान गर्ने।

४. चिकित्सक तथा सहायक दन्त कर्मचारीले बिरामीलाई भेट्नुअघि, भेटेपछि, उपचार गरेपछि, औजार तथा डेन्टल चियर सामग्री छोएपछि राम्रोसँग साबुन पानीले हात धुने।

५. मास्क, ग्लोभ्स, आई शिल्ड, हेयर कभर, प्रोटेक्टिभ क्लोथ आदि प्रयोग गरी व्यक्तिगत सावधानी अपनाउने।

६. डेन्टल बिरामीको उपचारपूर्व बिरामीलाई १ प्रतिशत हाड्रोजन पेरोअक्साइड अथवा ०.२ प्रतिशत पोभिडिनले मुख कुल्ला गराउने।

७. सम्भव भएसम्म रबर ड्यामको प्रयोग गर्ने, मेसिनबाट चल्नेभन्दा हाते औजारहरु प्रयोगमा जोड दिने (कम यरोसोल उत्पादन गर्छ), एन्टी रिट्रयाक्सन ह्याण्ड पिसको प्रयोग गर्ने।

८. निर्मूलीकरणमा विशेष ध्यान दिने। चिकित्सक तथा बिरामीहरुले छुने सम्पूर्ण भागहरुलाई उपचार पहिले र पश्चात् राम्रोसँग साबुन तथा डिटरजेन्टले सफा गर्ने। त्यसपछि डिसइनफेक्टेन्ट (रेक्टिफाइड स्पिरिड) ले सफा गर्ने। एक पटक प्रयोग भइसकेका सामानहरुलाई चापयुक्त बापसीकरण (स्टिम अटोक्ल्यभिङ) गरेर मात्र प्रयोग गर्ने।

९. स्वस्थाकर्मी आफैंलाई पनि कोरोना भाइरस डिजिजको शंका लागेमा चेक-जाँच गराउने तथा आइसोलेसनमा बस्ने।

यस्ता सावधानी अपनाउन सकियो भने दन्त व्यवसायमा आबद्द सबै यो रोगबाट सुरक्षित रहन सहयोग पुग्छ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने