काठमाडौं- त्रिवि शिक्षण अस्पतालले आकस्मिक बाहेकका कुनै पनि सर्जरी नगर्ने भएको छ। अस्पतालले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
'आकस्मिक तथा अत्यावश्यकबाहेक अन्य शल्यक्रिया अर्को सूचना नभएसमम्का लागि स्थगन गरिएको छ। जनरल हेल्थ चेक अप र इएचएस सेवा हाका लागि लागि स्थगित गरिएको छ,' अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी यस अस्पतालमा आउने बिरामीका संख्या तथा अस्पतालमा आउँदा हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कदम अघि सारिएको सूचनामा उल्लेख छ।
यसअघि नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजान सर्वसाधारणलाई अनुरोध गरेको थियो।
यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्तिका ५ बुँदा
१. यस अस्पतालमा ज्वरो/रुघा/बोकी/स्वाशप्रस्वाशमा समस्या भएका बिरामीहरुका लागि ट्रिएज गर्न छुट्टै फिभर ओपिडी संचालन गरिनेछ। यस्ता लक्षण भएका बिरामी फिभर ओपिडीबाट आवश्यक परेको खण्डमा मात्र अन्य ओपिडी मा पठाइने छ।
२. अत्यन्त जरुरी आकस्मिक अवस्थामा बाहेक अस्पताल आउनुअघि सम्बन्धित विभागले उपलब्ध गराएको सम्पर्क नम्बरमा सम्पर्क गरेर मात्र आउनु हुन अनुरोध गरिन्छ। सम्पर्क फोन नम्बर वा www.tuth.org.np मा उपलब्ध हुनेछ।
३. इमर्जेन्सी तथा अर्जेन्ट बाहेक अन्य शल्यक्रियाहरु अर्को सूचना नभएसम्म लागि स्थगन गरिएको छ।
४. जनरल हेल्थ सर्भिस (जिएचएस) तथा इएचएस सेवा हालका लागि स्थगित गरिएको छ। इमर्जेन्सी सेवा भने नियमित रुपमा नै पूर्ण रुपले २४सै घण्टा सुचारु रहनेछ।
५. अस्पतालमा भर्ना भएका तथा उपचारार्थ आउने बिरामीहरुको कुरुवा तथा आफन्तहरुलाई हुन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न १ जना विरामीको लागि १ जना मात्र कुरुवा बस्न अनुरोध गरिन्छ। विस्तृत जानकारी www.tuth.org.np मा उपलब्ध गराइने छ।
यो पनि पढ्नुहोस्
अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजान सर्वसाधारणलाई मेडिकल काउन्सिलको अनुरोध