सिमृन काफ्ले
आर्थिक वृद्घि र व्यापार विस्तार नै विकासको प्रमुख सूचक भनेर दावी गरिरहेका मुलुकमा कोरोना भाइरसको संक्रमणबाट भएको आकस्मिक मानवीय र आर्थिक क्षतिले मानव अस्तित्व कति कमजोर जगमा अडिएको रहेछ भन्ने जगजाहेर गरिदियो। मनिसले स्वास्थ्यलाई कुन हदको प्राथमिकतामा राख्नुपर्ने रहेछ, रोकथाम र जनस्वास्थ्य उपचारभन्दा कति बलवान हुँदोरहेछ भन्ने स्पष्ट बनाइदियो।
स्वास्थ्यमा निजी क्षेत्रको गहिरो प्रभावसँगै स्वास्थ्य क्षेत्र नै व्यापारमा परिणत हुँदैगर्दा जब यसरी आम जनताको स्वास्थ्यको सवाल आउँछ, ती सबै पन्छिने स्पष्ट देखिन्छ। सरकारी स्वास्थ्य व्यवस्था र सेवा कमजोर हुँदा समग्र स्वास्थ्य क्षेत्र नै कमजोर बनिदिन्छ।
पर्याप्त जनशक्ति छैन। पर्याप्त प्रोत्साहन र सुरक्षा छैन। सामग्री छैन। कसरी सरकारको निर्देशन पालना गर्ने? के सुविधासम्पन्न निजी अस्पतालहरुले यस संक्रमणको बेला आफू तयार रहेको बताउन आँट गरेका छन्? गल्लीगल्लीमा अस्पताल छन्, तर यस्तो घडीमा ती कहाँ छन्? यस्तो संक्रमणको अवस्थामा सबै स्वास्थ्य संस्थाबाट निःशुल्क स्वास्थ्य सेवा र औषधि–उपचार आधारभूत होइन र?
हाल कोरोना संक्रमण रोकथामको कुरा गरिरहँदा मूलतः २ वटा क्षेत्रमा सरकारको तत्काल र बलियो कार्यक्रम हुनुपर्ने देखिन्छ।
पहिलो, समग्र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गरी स्वास्थ्य व्यवस्था र सेवा एकीकृत गर्नुपर्छ। अब भारत र चीनको नाका बन्द भएपछि, नयाँ संक्रमित नेपाल प्रवेश हुने सम्भावना कम हुने भयो। तर हामी कुन अर्थमा एकदम जोखिममा छौँ भने नेपालले नाका बन्द गर्नुपूर्व संक्रमित तर लक्षण नदेखिएका व्यक्ति नेपाल प्रवेश गरिसकेका हुन सक्छन् र तिनले संक्रमण फैलाइरहेका हुन सक्छन्। कतिपय जाँचका लागि स्वास्थ्य संस्था नगएका हुन सक्छन्।
तसर्थ, अबको केही दिन नेपालका लागि साह्रै महत्वपूर्ण हुने हुँदा स्वास्थ्य, प्रहरी र स्वयंसेवक विशेष सामग्री सहित तम्तयार रहन सरकारको निर्देशन आवश्यक छ। अन्य क्षेत्रका कर्मचारी सेवा ठप्प भएपछि हाजिर गर्नकै लागि कार्यालय जानु कत्तिको सान्र्दभिक होला? कामको प्रकृति हेरी घरबाटै काम गर्नुपर्ने वा घरमै बस्ने तर आवश्यक परे जतिखेर पनि बोलाइन सक्ने भएकाले तम्तयार अवस्थामा बस्नुपर्ने निर्देशन चाहिँ अझ उपयुक्त होला कि?
दोस्रो, बहुक्षेत्रीय सहकार्यमार्फत खाद्यान्न, मास्क, साबुन तथा अन्य आधारभूत उपभोग्य सामग्रीको सहज र सुपथ मूल्यमा आपूर्तिको व्यवस्था। आर्थिक रुपमा विपन्न परिवारका लागि निःशुल्क उपलब्धता। न्यून आय भएका, ज्यालामजदूरी गरेर जीवन बिताइरहेकाहरु कसरी यत्रो दिन क्वारेन्टाइनमा बस्न सक्छन्? बिरामी भइहाले कहाँ गएर जचाउँछन्? नजिकको स्वास्थ्य संस्था जानुहोस् भन्ने निर्देशन पर्याप्त होला त? सडक बालबालिका, सडक मानवहरु कहाँ गएर बस्छन्, उचित योजना बनाऔं। यस कार्यमा स्थानीय सरकारले जागरुकता देखाउन अझ आवश्यक छ।
यस महत्वपूर्ण घडीमा हामी सबै एकजुट हौँ, हामी सरकारको निर्देशन पालना गरौँ। एक जनस्वास्थ्यकर्मी र नागरिकको हैसियतले सरकारलाई सहयोग गर्न हरबखत तयार छौँ। यो संकटको घडीमा को सरकारी, को निजी क्षेत्रमा कार्यरत अथवा को बहालवाला हुने वा को निवर्तमान, यसको कुनै अर्थ हुँदैन।
सरकारद्वारा देशमा रहेका सम्पूर्ण जनस्वास्थ्यकर्मी, नर्स, चिकित्सकलगायत तमाम स्वास्थ्यकर्मीलाई यस विषेश अभियानमा सहयोगको लागि आवहन गरियोस् र माथि उठाइएका विषयमा अझ ठोस निर्णयहरु गरियोस्।