ए सरकार,
म एक चिकित्सक,
म त बुझौँला मेरो धर्म
सम्झिउँला मेरो मानवता
तर,
यी पञ्जा नलगाएका हातहरु
बिरामीलाई छुन चाहदैनन,
मास्क नभइ श्वास फेर्न हिचकिचाउँछन नाक मुख,
एक जोर बुट नपाएर डेग चल्दैनन् मेरा पाइलाहरु,
म के भनेर चित्त बुझाउँ ?
नाङ्गा आँखाहरुलाई कहाँ कहाँ मात्र डुलाउँ ?
म मेरो अनुहारको सन्नाटा र मनभित्रको भुइँचालोलाई कसरी रोकौँ ?
चाइनाका डाक्टरहरुको मृत्यु सुनेका,
इटलीका डाक्टरहरुको क्रन्दन देखेका यिनीहरूलाई
पशुपतिनाथले सबैको रक्षा गर्छन भनेर कसरी विश्वास दिलाउँ ?
आँखै अगाडी कोही तडपिराख्दा
हात नबढाउन मन मान्दैन
हात बढाउन खोज्दा मथिंगल खलबलिन्छ, मुटु हल्लिन्छ
युद्धको अग्रमोर्चामा सुरक्षा कवच बिनाको निहत्था सिपाहीले कतिन्जेल लड्न सक्छ ?
सरकार,
प्रोत्साहन भत्ताको कुरा पछि गरौँला
मलाई थाहा छैन, जिवनको मुल्य कति तोक्नुहुनछ तपाईंहरु
महामारीमा पनि तीस हजारका लागि मात्रै काम गरेको जस्तो किन गराउनु हुन्छ ?
हामी हतोत्साहित भएकै छैनौँ
हामी त डराएका छौँ
मृत्यु देखी डराएको डाक्टरले मृत्युको मुखमा पुगेका बिरामीलाई कसरी बाँच्ने विश्वास दिलाउन सक्छ?
- डा रञ्जित सापकोटा
धौलागिरी अञ्चल अस्पताल