काठमाडौं- सरकारले कोरोना उपचारका लागि भन्दै ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको छ।
सम्झौताको सर्वत्र विरोध भएपछि ठेक्का सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले कोभिड१९ बारे जानकारी दिने मिडिया ब्रिफिङमा यस्तो जानकारी दिएका हुन्।
ओबिसिआईले तोकिएको समयमा सामान ल्याउन नसकेपछि उक्त प्रक्रिया रद्द गरिएको श्रेष्ठले जानकारी दिए।
'सामान ल्याउन सरकारले प्लेन पठाएर सहजीकरण गर्यो तर उहाँहरुले सम्झौता अनुसार तोकिएको समयमा सामान ल्याउन सक्नुभएन' उनले भने, 'हामीले जति भनेका थियौ, उहाँहरुले जति ल्याउनु पर्ने थियो ३० तारिख भित्र त्यो ल्याउन सक्नु भएन। कबुल गरेको सामानको १० प्रतिशत हाराहारीमा मात्र ल्याउन सक्नुभयो। दोस्रो लट भोली पेस गर्ने समय छ। तर उहाँहरुले भोली सामान ल्याउने कुनै सम्भावना छैन। ल्याउन सक्छौं भन्ने प्रतिवद्धता पनि छैन। त्यसकारण सम्झौता रद्द गरिएको छ।'
श्रेष्ठका अनुसार ओबिसिआईले सम्झौता अनुसार काम गर्न नसकेपछि धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया पनि अगाडि बढाइने श्रेष्ठले जानकारी दिए।
सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो।
सम्झौताअनु्सार आइतबार मात्रै नेपाल एयरलाइन्सको चार्टर जहाज मार्फत् आबीसिआईले २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो।
कोरोना नियन्त्रणका लागि चीनमा खरिद गरिएको सामाग्री उच्च मूल्यको रहेको भन्दै आलोचना भएपछि स्वास्थ्य मन्त्रालयलयले विश्वव्यापी रुपमै सामानको अभाव रहेकाले स्वास्थ्य सामाग्रीको मूल्य केही बढी भएको दाबी गरेको थियो।
आइतबार मात्रै स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले नेपाललाई सामान दान दिने अलिबाबा लगायतकाको मूल्यसूची पनि पहिलाको भन्दा बढी भएको तर्क गर्दै नेपालले खरिद गरेको सामानमा कुनै बदमासी नभएको दाबी गरेका थिए। तर नेपालले खरिद गर्ने भनिएका सामग्रीको मूल्य अलिबाबालगायतकाले सहयोग गरेको सामानको मूल्यभन्दा पनि उच्च थियो।
नेपालमा पहिलो केस देखिएर २३ जनवरीमा निदान भए लगत्तै कोरोनासम्बन्धी स्वास्थ्य सामाग्री किन्न खोजेको र त्यसका लागि टेन्डर गर्दा पनि नपरेपछि यस्ता सामान आपूर्ति गर्नेहरूको बैठक बसेको श्रेष्ठको दाबी थियो।
२४ घन्टाको समय दिएर स्वास्थ्यका सामान ल्याउने डिलरसँग सामान ल्याउनेबारे कुरा गर्दा ५-६ जनाले छ भनेको तर २ जनाको मात्र प्रस्ताव गरेको श्रेष्ठले दाबी गरेका थिए।
स्वास्थ्य सम्बन्धी सामाग्री आयात गर्ने व्यवसायीहरुको संगठनले निश्चित व्यवसायीसँग मात्र प्रचलित बजार मूल्य भन्दा अधिक मुल्यमा स्वास्थ्य मन्त्रालयले चीनबाट सामान किनेको दाबी गरेको थियो।
आइतबार नै रसायन तथा मेडिकल आपूर्ती संघले विज्ञप्ति निकालेर कोरोना संक्रमणपछि स्वास्थ्य सम्बन्धी सामान खरिद गर्न शुरु गरेके टेन्डर प्रक्रियाबारे समेत स्वास्थ्यका अधिकारीले झुठो बोलेको दाबी थियो।
यो पनि