डा रामदेव पण्डित
कोरोना भाइरस (कोभिड १९) यतिखेर विश्व महामारीको रुपमा देखिएको छ। चीनबाट सुरु भएको यो भाइरस इपिडिमिकले विस्तारै महामारीको रुप लियो। आयुर्वेदमा ‘इपिडिमिक’लाई जनपदोध्वंश भनिएको छ।
पञ्चभौतिक विश्वमा विकृत वायु (एयर पोलुसन), जल (वाटर पोलुसन), माटो (ल्यान्ड पोलुसन) र काल (मौसम÷समय) लाई जनपदोध्वंशको कारण बताइएको छ। जनपदोध्वंशमा पञ्चतत्व (आकाश, वायु, तेज, जल र पृथ्वि) मध्ये कहिले पनि विकृत नहुने आकाश र अग्निबाहेक अन्य तीन तत्व विकृत हुने हुन्छ। यसरी पर्यावरणीय तत्वहरुमा विकृति आएपछि पर्यावरण नयाँ बन्छ, जहाँ नयाँनयाँ प्रजातिको जीवाणु (भाइरस, ब्याकटेरिया आदि) प्रकट हुन्छ। जीवाणु नयाँ उत्पन्न हुने होइन, पहिलेदेखि अस्तित्वमा रहेको जीवाणु प्रकट मात्र हुने हो। कोभिड १९ पनि यही प्रक्रियाबाट नै प्रकट भएको हो।
अमेरिकी लेखिका मेरी क्लेर एरियटका अनुसार पृथ्वीमा अनुमानित पाँच नौ निलियन (३० वटा शून्य) ब्याक्टेरिया छन्, जुन यस ब्रह्माण्डमा भएका ताराहरूको संख्याभन्दा पनि ज्यादा हो। पृथ्वीमा भएका ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा लगायतका सूक्ष्म जीवाणुहरुको तौल संसारभरका सम्पूर्ण वनस्पति, जीवजन्तुको कूल तौलभन्दा बढी छ। आधुनिक सूक्ष्म जीव विज्ञानले अहिलेसम्म एक प्रतिशत जीवहरुको बारेमा मात्र पहिचान गर्न सकेको छ। उपयुक्त वातावरण पाउने वित्तिकै नयाँ नयाँ प्रजातिका जीवाणु वायुमण्डलबाट प्रकट हुने हुन्छ र रोग वा महामारी आकर्षित हुन्छ।
स्तनधारी प्राणी मानवको बायलोजिले केही प्रजातिका जीवाणुलाई सहअस्तित्वमा संरक्षण गरेको हुन्छ, जो मानव स्वास्थ्यका लागि हानिकारक हुँदैनन्। यसैगरी अन्य प्रजातिका प्राणीहरुमा फरकफरक प्रकारको जीवाणु सहअस्तित्वमा बसेको हुन्छ। जब मानव जातिले अन्य प्राणालीलाई भोजनको रुपमा ग्रहण गर्दछ। त्यसपछि त्यो मानवीय बायोलोजीमा प्रवेश पाउँछ। प्रवेश पाएको जीवाणु यदि मानव बायोलोजीमा स्वीकार भए केही हुँदैन तर अस्वीकार गरे त्यो जीवाणुले रोग लगाउँछ र महामारीको रुप लिन सक्छ।
कोभिड १९ ले पनि यसरी नै महामारीको स्वरुप प्राप्त गरेको देखिन्छ। विभिन्न माध्यमबाट नयाँ जीवाणुले शरीरमा प्रवेश गर्छ। त्यसपछि शरीर जीवाणु विरुद्ध खरो उत्रिन्छ, तर शरीरले जीवाणुलाई परास्त गर्न सक्दैन, किनकी शरीरसँग भएको हतियारले नवजीवाणुलाई परास्त गर्न सम्भव हुँदैन। किनकी शरीरमा नवजीवाणुसँग लड्न एन्टिबडी बनिसकेको हुँदैन।
जनपदध्वंशको कारणमा समय (काल)को विकृति भनेको आजका मानव समाजको खानपानको शैलीमा आएको विकृति पनि भनिएको हो।
१ डिसेम्बर २०१९, चीनको वुहान सहरमा सर्प, चरा, चमेरा, लोखर्के, खरायो लगायतका वन्यजन्तुको मासु वा जिउँदो बेचबिखन हुने बजारमा काम गर्ने कामदारहरुमा निमोनिया जस्तो अज्ञात रोग देखा पर्यो। रुघाखोकी लाग्ने, उच्च ज्वरो आउने, श्वास–प्रश्वासमा समस्या हुने संक्रमितहरु एक्कासि बढ्न थाले। तीमध्ये केही मरे। पाँच हप्तापछि जनवरी ७ मा उक्त अज्ञात रोगको पहिचान गरियो कोभिड–१९।
जंगली मानव जब सभ्य एवं सांस्कृतिक मानव बन्यो, त्यसपछि उसको सम्पूर्ण कुराहरुमा परिवर्तन आयो। मानवको बुद्धिबंगारा र भर्मिफिक्स एपेन्डिक्स अवशेषक अंग (भेस्जियल अर्गेन)को रुपमा रुपान्तरित भयो। मानव जातिको एडेप्टिब्टिब्लिटी बदलियो। समग्रमा मानवको जैविक शरीर नै बदलियो। भन्नुको अर्थ सभ्य मानिसले जे पायो त्यही खाँदा पाच्य नहुने खालको जैविक शरीर बन्यो। जे पायो त्यही खाँदा त्यसबाट रोग आमन्त्रित हुन थाल्ने भयो। त्यही रोग महामारीको रुपमा देखा पर्न थाल्यो।
चिनियाँहरुले सर्प, चमेरो, लोखर्के, भ्यागुता, सांग्ला, पुतली, रेशम किरा, बिच्छी, माहुरी आदि किराहरु खान्छन्, जुन आधुनिक मानवको जैविक शरीरको लागि स्वीकार्य भोजन होइन। यसरी जे पायो त्यही खाँदा शरीरमा त्यही अनुसारको वातावरण निर्माण हुन्छ, जहाँनयाँ नयाँ जीवाणु प्रकट हुन्छ। नयाँनयाँ रोग देखापर्छ जो महामारीको रुपमा विकास हुनसक्छ। कोभिड १९ पनि यसरी नै आएको देखिन्छ।
चीनमा माओले रोगव्याधी नियन्त्रण गर्न थुप्रै उपाय अपनाएका थिए। उनको सबभन्दा चर्चित र अस्वाभाविक प्रस्ताव ‘चार जीव नियन्त्रण अभियान’ थियो, जसमा माओले रोगव्याधी फैलाउन सक्ने मुसा, झिंगा, लामखुट्टे र भँगेरा समूल नष्ट गर्न आह्वान गरेका थिए। माओको यो अभियानपछि दसौं लाख जीवजन्तु मारिए। यसले चीनको पर्यावरण असन्तुलित बनाएर भयंकर भोकमरी ल्यायो, जसमा दसौं लाख मान्छेको ज्यान गयो।
पर्यावरणको असन्तुलन भनेको माटो, पानी र हावामा विकृति ल्याउनु हुन्छ। फलतः नयाँ तर विकृत एवं असन्तुलित वातावरण निर्माण हुन्छ, जहाँ नयाँ खालको जीवाणु प्रकट हुन्छ र रोग आकर्षित हुन्छ।
चौधौं शताब्दीमा युरोपभरि फैलिएको ‘ब्ल्याक डेथ’ अर्थात् प्लेग रोगलाई यसैगरी वर्णन गरिन्छ। यो मानव इतिहासकै ठूलो महामारीमध्ये एक हो, जसले युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्यान लियो। दुई हजार वर्षको इतिहास हेर्ने हो भने संसारमा प्लेगका तीन ठूला महामारी फैलिएका छन्, जसले करिब २० करोड मान्छेको ज्यान लिएको थियो।
पहिलो महामारी छैठौं शताब्दीमा फैलिएको थियो। त्यति बेला ‘बाइजानटाइन’ भनिने पूर्वी रोमन साम्राज्यमा सम्राट जस्टिनियन प्रथमको शासन थियो। दोस्रो महामारी चौधौं शताब्दीमा एसियाबाट सुरू भएर मध्यकालीन युरोपभरि फैलियो, जसलाई ‘ब्ल्याक डेथ’ का रूपमा चिनिन्छ। र, तेस्रो महामारी उन्नाइसौं शताब्दीमा चीनबाट सुरू भएर एसियाका अन्य भाग र अमेरिकासम्म फैलिएको थियो।
अतः आजका मानिसलाई प्रविधिको विकासमार्फत संसार जितेको भ्रम छ तर प्रकृति विरुद्धको वा अस्वभाविक जीवनशैलीबाट उत्पन्न प्राणघातक र तीव्र फैलावट दुवै भएको एउटै भाइरस मानिस जातिको बर्बादीका लागि काफी हुन्छ।