डा शिवजी पौडेल
कोभिड १९ संक्रमण आज विश्वव्यापी रुपमा फैलिरहेको अवस्था छ। संक्रमण देखिन ढिला भएको हुँदा अव नेपालमा केही छैन भन्ने भ्रममा नपरौं। किनकी हामीसँग सवै शंकास्पद संक्रमितको पक्षण भएकै छैन। आजका मितिसम्म आउदा ९ जना कोरोना संक्रमित भेटिएका छन्। त्यसैले वर्तमान भयावह अवस्थामा हाम्रो देश अछुतो छैन। आज हामी सम्पूर्ण नागरिक र सत्ताको बागडोर सम्हालेकाहरु यसको समाधान गर्न त सक्दैनौं तर यसलाई कसरी न्युनिकरण र नियन्त्रण गर्न सकिन्छ भन्ने सोचका साथ अगाडि बढ्नुपर्ने समयको सिर्जना भएको छ।
हालको महामारी कोभिड १९ बाट जोगिन हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र सामाजिक दूरी कायम गर्नुपर्छ भन्ने कुरामा दुई मत रहेन। त्यसका साथसाथै राज्यको माथिल्लो तहमा रहेको गन्यमान्य भनिएका व्यक्तिहरुले समेत स्वास्थ्यकर्मीको सुरक्षाका लागि भनिएको एन ९५ मास्क प्रयोग गरेर स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको लाइसेन्स खारेज गर्न सिफारिस गर्न आदेश दिने गरेका छन्। अर्कोतिर कोरोना भाइरसको रोकथामका लागि रणनीति तयार गर्ने संयुक्त बैठक बसिरहेकै अवस्थामा चिकित्सकलाई हिरासतमा लिई गाली गलौज गर्ने, असभ्य व्यवहार गर्ने गरिएको छ। यसले कोरोना विरुद्धको युद्ध मैदानमा होमिएका हामी स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबल गिराउने कार्य भएको छ।
हामी स्वास्थ्यकर्मी तथा चिकित्सक पनि यही देशकै नागरिक हौं। हामी सुरक्षित रहन सकेमा मात्र सर्वसाधारण नागरिकहरुलाई यो महामारीबाट जोगाउन सकिन्छ। यसरी सर्वसाधारण नागरिकहरुलाई आस्वस्त गराउनुको सट्टा झन् उच्च ओहदामा बसेका व्यक्तिहरुले नै भ्रमित पार्ने काममा मग्न छन्। राज्यका संयन्त्रबाटै निरन्तर यस्तो दुष्प्रयास भइरहेको छ।
यो संक्रमणसँग जुध्नका लागि सर्वप्रथम स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई तालिमको जरुरत छ। जसरी युद्ध मैदानमा होमिने सिपाहीलाई बन्दुक कसरी चलाउने, विरोधीहरुले आक्रमण गर्दा कसरी आफूलाई सुरक्षित राख्ने कौशल सिकाइएको हुन्छ। आज मलाई स्वास्थ्य मन्त्रालय तर्फ प्रश्न गर्न मन लाग्यो। मन्त्रालयले कतिजना स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखेको छ? सुरक्षाका सामग्रीहरुको सही रुपमा सदुपयोग भएको छ कि छैन? कति स्वास्थ्यकर्मी तथा चिकित्सकहरु स्वास्थ्य मन्त्रालयबाट लाभान्वित भएका छौं ?
किस्ताबन्दीमा उपलब्ध गराइएको सुरक्षाका सामग्रीहरु र कोरोना भाइरसको उपचारका लागि आवश्यक परीक्षणका सामग्रीहरु देशभरका स्वास्थ्य संस्थामा पुर्याउन हामी सफल भएका छौं कि छैनौं? आफ्नो जिम्मेवारी के हो भन्ने कुराको कुनै पनि हेक्का नराखी अर्कोलाई तंैले यसो गरिनस् भने म तह लगाउँछु भन्ने घुर्कीले यो महामारीसँग जुध्न सहयोग गर्ला र?
विद्यमान महामारीलाई परास्त गर्न विभिन्न स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मी कसरी यसका विरुद्ध अगाडि बढ्ने भन्ने विषयमा गम्भीर रणनीति बनाउनुपर्छ। त्यसमा स्वास्थ्य मन्त्रालय र समग्र राज्यको भूमिका कस्तो हुनु पर्छ भन्ने कुरा स्पष्ट हुनुपर्छ। नेपाल सरकारले तत्काल स्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गरी देशभरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई आह्वान गरेर यो महामारीबाट जुध्न पहल गर्नुपर्छ। तपार्इंहरुलाई जे पर्छ सरकार गर्न तयार छ, तर यो महामारीबाट जसरी पनि राष्ट्रलाई जोगाउने जिम्मा तपाईं स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको हो भन्नुपर्ने बेलामा अस्वाभाविक र असान्दर्भिक निर्णयहरु गरेर स्वास्थ्यकर्मीहरुलाई नै चिढाउने काम गर्नु आत्मघाती कदम होइन र?
राष्ट्रिय आपतकाललाई सामना गर्नका लागि गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ, एकजुट होऊ सम्पूर्ण स्वास्थ्यकर्मी भनी नेपाल सरकारले अभिभावकत्व देखाउने समय हो यो। अब यसमा पनि ढिलासुस्ती गर्दै जाने हो भने हामी नराम्रोसँग महामारीमा फस्दैछौं। कृपया, म एक स्वास्थ्यकर्मीको नाताले नेपाल सरकारलाई सारा नेपाली जनताको अभिभावकको रुपमा भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछु।
नेपाल सरकार मातहतका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको न्यून संख्या र सिमिति स्रोत साधनले मात्रै यस्तो महामारीलाई थेग्न नसक्ने कुरा घाम जस्तै छर्लङ्ग छ। आज हामी निजी स्वास्थ्य संस्था र मेडिकल कलेजहरुलाई साथमा लिएर युद्ध मैदानमा उत्रनुको विकल्प छैन। त्यसका लागि राज्यको तर्फबाट अभिभावकको भूमिका निर्वाह गर्नु बाहेक अन्य उपाय छैनन्।
यस्तो विषमपूर्ण अवस्थामा समेत कोठे प्रशासनिक निर्णय गरेर यो वा त्यो बहानामा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको नाम संकलन गर भनेर निर्देशन दिनुले स्वास्थ्य मन्त्रालय राज्य सञ्चालकको कमाण्डभित्र त छ ? भन्ने प्रश्न उब्जिएको छ। गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका लागि पटक पटक भएका आन्दोलनहरुमा बारम्बार सुनिने माफियातन्त्रको झझल्को दिनेगरी स्वास्थ्य मन्त्रालयले यस्तो गैरजिम्मेवार र कुण्ठित मानसिकताका निर्णयहरु थुपार्दै गएको छ। यस्तै गर्दै जाने हो नेपालको स्वास्थ्य मन्त्रालय साधारण नागरिकहरुको पहुँचमा त छैन नै, हामी स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको काबुभन्दा बाहिर रहेछ भन्ने अनुभूति हुन थालेको छ।
हामी स्वास्थ्यकर्मीलाई ज्ञात छ, हामीले के गर्नु पर्छ भन्ने र गरिरहेका पनि छौं। बिरामीको स्वास्थ्यलाई शिरोपर ठान्दै आज देशका स्वास्थ्यकर्मीको भूमिकालाई कसैले अवमूल्याङ्कन गर्नु हुदैन। बरु दिइरहेको स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि हौसला बढाउने प्रोत्साहनमूलक निर्णयहरु गर्नुपर्छ। यसबाट समग्र नागरिकहरुको मनोभावना कदर गर्ने सोचेको विकास हुनुपर्छ।
स्वाथ्यकर्मीहरु आजको दिनसम्म आउँदा आफैंलाई बलिको बोको बनाएर काम गर्नुपर्ने अवस्था छ। यद्यपी कत्ति विचलित नभइ आफ्नो इमान्दारिता र बिरामी प्रतिको सद्भावका कारण व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) नहुँदा पनि काम गरिरहेको अवस्था छ।
अहिलेको स्लोगन म (स्वास्थ्यकर्मी) तपाईंको लागि अस्पतालमा खटेको छु, कृपया तपार्इं मेरो र सवैका लागि अन्य कुनै लक्षण नदेखिएसम्म घरमै बसिदिनुस्। एकपटक सोच्नुहोस् त म विना कुनै सुरक्षा बिरामी हेर्दैछु भने सवै भन्दा जोखिम त म नै छु। त्यो भन्दा पनि यदि म संक्रमित भए भने मैले जाँच गरेका हरेक बिरामी उत्तिकै संक्रमित हुने जोखिम हुन्छ। त्यसैले स्वास्थ्यकर्मी सुरक्षित हुनु भनेको यो एउटा कोरोना नियन्त्रणको अर्को एउटा ठूलो उपाय हो।
तर विडम्बना देशको बागडोर बोकेर हिडेकाहरुको सोच ज्ञान र शब्द चयन देख्दा म आश्चर्य चकित छु। भान्सामा खाना पकाउँदा पिपिई चाहियो रे, बिरामी नहेरेको पाए लाइसेन्स खारेज गर्ने रे। ए हजुर कसले भनेको छ, भात पकाउँदा, उठ्दा, सुत्दा, बस्दा पिपिई चाहियो भनेर ? महोदय काम गर्नेहरुलाई अहिले हौसला दिनुस्, चाहिएको उपकरणको व्यवस्था गर्नुस्, आवश्यक परीक्षणमा ढिलासुस्ति नगर्नुस्, स्वास्थ्यकर्मीलाई आवश्यक पिपिई दिनुस्, कैयौं पिपिईको दुररुपयोग भएका तस्विरहरु सामाजिक सञ्जालमा आइसके, त्यसलाई नियन्त्रण र सके कारवाही गर्नुस्।
हुँदाहुँदा त अव चिकित्सक र स्वाथ्यकर्मीको मन्त्रालयले छानविन गरी पेशागत लाइसेन्स खारेज गर्ने निर्णय गरियो रे। स्वास्थ्य मन्त्रालयको सिफारिसमा चिकित्सकको लाइसेन्स खारेज हुने हो? अलिकति पनि ऐन कानूनको हेक्का राख्नु पर्दैन? एकपटक नेपाल मेडिकल काउन्सिलको ऐन २०२० को अध्ययन गर्नुहोस्। जसमा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएकोमा वा पेशा सम्बन्धी कुनै खराब आचरणको दोषी हो भनी काउन्सिलको सदस्य संख्याको दुई तिहाई बहुमतले ठहर्याएकोमा मात्र दर्ता किताबबाट हटाउन सकिने प्रावधान स्पष्ट रुपमा उल्लेख गरिएको छ।
म पनि नेपाल मेडिकल काउन्सिलको एक कार्यकारी सदस्य हो, त्यसभन्दा अघि म एक चिकित्सक हुँ। त्यसकारण कृपया आमालाई मामा चिनाएर हाँसोको पात्र नबन्नुहोस्। अहिले ठट्यौली गर्ने बेला होइन, जिम्मेवार भएर सबै मिलेर यस महामारीको संक्रमणलाई परास्त गर्ने समय हो। हेक्का रहोस् संवेदनशील समयमा गैरजिम्मेवार काम मन्त्रालयमा रहेका चिकित्सकहरुले गर्नुभयो भने तपाईं स्वयंलाई मेडिकल काउन्सिलको ऐन बमोजिम कारवाही गर्नुपर्छ कि पर्दैन? त्यसैले धेरै आडम्बर नदेखाउँ, किनभने हाम्रो धरातल एउटै हो। त्यही मेडिकल काउन्सिलमा दर्ता भएर तपाईं, हामी यी ठाउँसम्म आएको हो।
जो होस् हामी सम्पूर्ण चिकित्सक सबै स्वास्थ्यकर्मीहरुलाई कत्ति पनि बिचलित नभई कर्तव्यनिष्ठ भएर विद्यमान परिस्थितिको सामना गर्नु पर्दछ। थाहा छ, हामीलाई यस्तो बिना हतियारको योद्धा बनाएर रणभूमिमा होमिदा पनि सान्त्वना त परै जाओस्, अझ कारवाहीको डर देखाएर हाम्रो मनोबलमा आँच पुर्याउने काम भएको छ।
म एउटा बुद्धको अनुयायीको प्रसंग जोड्न चाहान्छु। एउटा अनुयायीले बुद्धलाई तथानाम गालिगलौज गरेर आफ्नो आवेग पोखेछन्। त्यही सुनेर अर्को अनुयायीले बुद्धलाई यतिभाँति अभ्रद व्यवहार गर्दा पनि हजुर किन चुप लागेर बस्नु भो गुरुवर, भनेर प्रश्न गर्दैगर्दा भगवान बुद्धले भन्नुभएछ, यसको जति छ, उसले त्यति मात्र दिने हो। ऊसँग रिसराग द्वेष थियो। उसले त्यही पोख्यो, मसँग त्यस्तो केही थिएन म के गरुँ? म चुप लागेर बसें।
अहिलेका मन्त्रालयका जिम्मेवार निकाय विशेषत स्वास्थ्य मन्त्रालय हाक्ने विदुषकहरु, त्यो उत्तेजित अनुयायीको प्रतिविम्ब बनेका छन्। त्यसकारण अहिलेको परिस्थिति आस गर्नु, भर नपर्नु जस्तै बनेको छ। त्यसैले यस घडीमा हामी सवै स्वास्थ्यकर्मी कसले के भने भन्ने कुरामा विचलित नभइकन भएको स्रोत, साधन र ज्ञानको भरपुर सदुपयोग गर्दै आफू सुरक्षित रही कोभिड १९ लाई परास्त गर्न एकजुट भएर अगाडि बढौं।
-(डा पौडेल नेपाल मेडिकल काउन्सिलका सदस्य हुन्।)