गोविन्द गिरी
क्वारेन्टाइनलाई कोरोना भाइरस (कोभिड-१९)को महामारी रोकथामका लागि एकदमै महत्वपूर्ण रोकथामको उपाय मानियको छ। आजको दिनसम्ममा करिव नौ हजार भन्दा बढीलाई देशको विभिन्न स्थानमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ। बाँकी हामी आफ्नै घरमा होम क्वारेन्टाइनमा छौं। अहिलेको परिस्थिमा बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म हामी कोरोना भाइरस महामारीकै बारेमा चाहेर वा नचाहेरै कुरा गरिरहेका हुन्छौं। क्वारेन्टाइनमा हाम्रो बसाइँ कत्तिको सुरक्षित छ, होला त विचारणीय विषय हो।
अहिलेको यस आपतकालीन परिस्थितीमा ध्यान दिनुपर्ने तर कतै छुटिरहेको कुरा के छ भने क्वारेन्टाइनलाई कोरना भाइरस महामारीको एउटा महत्वपूर्ण रोकथामको उपाय मानेर जताततै क्वारेन्टाइन स्थापन गर्ने लहर चलिरहेको छ। तर के त्यहाँ गुणस्तरीय क्वारेन्टाइन स्थापना एवं सञ्चालन निर्देशिका बनएर सोहीअनुसार सञ्चालन गरिएको छ? एकदमै सोच्नुपर्ने विषय हो यो।
पक्कै पनि हामी शंङ्कास्पद व्यक्तिहरुलाई छुट्टै क्वारेन्टाइनमा राख्छौं र शंङ्कास्पद भन्ने बित्तिकै उक्त व्यक्तिहरुमा कोरोना भाइरस हुन पनि सक्छ है भन्ने हो। हामीले विचार गरेका छौं, त्यस्ता व्यक्तिहरुद्बारा क्वारेन्टाइनमा रहँदा दैनिक रुपमा निस्केको फोहरको व्यवस्थापन कसरी भइरहेको छ? कतै त्यही संक्रमित फोहर पछि संक्रमणको स्रोत त बन्ने होइन?
त्यस्तै अर्को छायाँमा परेको विषय छ, मानसिक स्वास्थ्य।हामी कतिपय आफ्नो घरमा विभिन्न सुविधाहरु उपभोग गर्दै आफ्नो परिवार सँगै बसिरहेका छौं। तैपनि हामी बिचलित छौं भने घरभन्दा बाहीर क्वारेन्टाइन रहनुभएका व्यक्तिहरुको मानसिक स्वास्थ्यको बारेमा कसले सोचिदिने? जसले केही सोचिरहेको छ उसले केही गर्न सकिरहेको छैन। जसले केही गर्न सक्छ, उसले अहिले यहाँसम्म सोच्नै भ्याएको छैन।क्वारेन्टाइनमा रहँदा ख्याल गर्नुपर्ने अर्को महत्वको विषय छ पोषण। घरमै क्वारेन्टाइनमा रहँदा होस वा अन्य स्थानका क्वारेन्टाइनमा रहँदा कत्तिको महत्व पाइरहेको छ त पोषणले? एकपटक यसको बारेमा पनि सोच्ने हो कि?
विश्व स्वास्थ्य संगठनले हालै नयाँ निर्देशिका जारी गरेको छ। जसमा क्वारेन्टाइनमा रहँदा के खाने, के नखाने, कति र कसरी खाने लगायत विषय उल्लेख छ।जसको पालना गर्दा क्वारेन्टाइनमा रहेका हरेकलाई स्वस्थ रहन मद्दत गर्नेछ।तर हामीमध्ये कति यसको बारेमा जानकार छौं र कतिले यसको अनुशरण गरेका छौं।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७६ चैत २० को प्रतिवेदन अनुसार सातै प्रदेशमा गरी जम्मा २४ हजार ६ सय ३९ क्वारेन्टाइन बेड स्थापना गरिएको र जसमा मिति चैत १९ सम्ममा ८ हजार ५ सय ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
सवै स्थानमा सरकार नपुग्न पनि सक्छ। किनकि सरकारलाई अहिलेको अवस्थामा स्वास्थ्यकर्मीका लागि सुरक्षाका उपकरण र औषधीको व्यवस्थापन गर्नै भ्याइ नभ्याइ छ।यस्तो अवस्थामा हामी राष्ट्रसेवक र आम जनसमुदायको पनि आफ्नो केही महत्वपूर्ण भूमिका हुन्छ। पहिलो कुरा त क्वारेन्टाइन हाम्रै लागि हो भन्ने बुझ्न जरुरी छ। यो कुनै सजाय नभएर कोरोना भाइरस महामारी रोकथामको महत्वपूर्ण उपाय हो।
यसले परिवारका सदस्यहरु एवं समुदायमा रोग फैलनबाट रोक्न मद्दत गर्दछ। त्यसैले यो उपायलाई प्रभावकारी बनाउन हामी आफू पनि रचनात्मक तरिकाले प्रस्तुत हुन जरुरी छ।
कमजोरी देखाएर खोट मात्र लगाउने भन्दा पनि आफ्नो दायित्व बहन गर्ने समय हो यो।सरकारले केही गर्न सकेन भनेर आरोप लगाउनु मात्र भन्दा पनि सरकारले गरेका निर्णयहरु पालना गर्दै सुरक्षित बसेका छौं कि छैनौं एकचोटी त्यतापनि विचार गर्ने हो कि? क्वारेन्टाइनमा राख्न खोज्दा आत्महत्याको प्रयास, क्वारेन्टाइनबाट भाग्ने प्रयास जस्ता समचाहरु बन्न बन्द गर्ने हो कि?
अन्तयमा, केहीको प्रयासले मात्र यो महामारी रोक्न गाह्रो छ । बरु एक जना मात्र नै यसको महामारी निम्त्याउन काफी छ भन्ने कुरालाई राम्रोसँग मनन गरौ।सरकारलाई मात्र दोष दिने र स्वास्थ्यकर्मीको मनोवल घटाउने काम नगरौ।आफू सुरक्षित रहन एकदमै राम्रोसँग कोरोना भाइरस रोकथाम तथा सुरक्षाका उपायहरु अपनाउँ। होम क्वारेन्टाइन होस वा सरकारद्वारा निर्मित क्वारेन्टाइन जहाँ भएपनि सुरक्षित भएर बसौं।कोही कसैलाई पनि महामारीको कारण बन्न नपरोस्।क्वारेन्टाइनको कथा सफल कथा बन्न सकोस्।
गिरि एमपिपएच अध्यनरत विद्यार्थी हुन्।