नारायणप्रसाद कोइराला
कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व समुदायलाई आतंकित बनाइरहेको छ। वैज्ञानिक र भौतिक जीवनमा सफलतातर्फ उन्मुख भएको विश्वको संरचनालाई नै एउटा अदृश्य शक्तिले तिमीहरु असफल हौ भनी सावित गर्ने प्रयास गरेको छ।
हुन त हाम्रो विज्ञान त्यति कमजोर छैन र पनि यस्ता संक्रमणलाई रोक्न नसक्नुले कहिँकतै हाम्रो कमजोरी त होइन? भन्न मन लागेको छ। पृथ्वी मात्र नभएर चन्द्रमादेखि मंगलग्रहसम्म पनि मानव समुदाय विस्तार गर्ने वैज्ञानिकहरुको चाहनालाई एउटा भाइरसले चुनौती दिएको देख्दा हामी भित्रको सफलता असफलता छर्लंग भएको छ।
हुन त यस प्रकारका संक्रमण (इपिडेमिक)हरु पहिला पनि नभएको होइन तर पहिलाको तुलनामा अहिले साधनस्रोतले भरिपूर्ण भएको अवस्था छ। अहिलेको विज्ञानले नयाँनयाँ प्रविधिहरुको पत्ता लगाएका छन्। विभिन्नखाले खोजहरु गरिरहेका छन् र साधनस्रोत पनि पर्याप्त रहेको अवस्थामा विश्वमा एक शत्तिशाली मुलुकको पहिचान स्थापित गर्न सफल राष्ट्र चीनको वुहान सहरबाट फैलिएको कोभिड–१९ (कोरोना भाइरस)ले एकतर्फी रुपमा युद्ध गरी विश्व भ्रमण गरिरहेको छ।
चीनबाट विस्तार हुँदै अहिले युरोप, अमेरिका लगायत विश्वभरको करिब २ सय बढी मुलुकमा फैलिएको छ। युद्धको लागि पूर्ण रुपमा तयार भएर वुहानबाट हिंडेको एक योद्धा (कोरोना) निशस्त्र रुपमा रहेका मानव समुदायको हत्या गरी विश्वमा आफ्नो एकलौटी साम्राज्य खडा गर्न खोजेको छ।
शक्तिशाली मुलुकहरु जो विश्व समुदायलाई आफ्नो दासत्वलाई स्वीकार गर्न बाध्य बनाउन चाहनेहरु पनि आज उक्त भाइरसको चपेटामा परेर आफ्नो हैसियत थाहा पाएका छन्। अमेरिका जो संसारको शक्तिशाली मुलुक, अहिले सबै भन्दा बढी कोरोना भाइरसको चपेटामा परेको छ।
विश्व समुदायलाई नै चुनौती दिई आफूलाई शक्तिशाली छु भन्ने व्यक्तिहरुलाई अहिले एउटा अदृश्य शक्तिले घरभित्र कैद गर्न सफल भएको छ कोरोनाले। उद्योग, कलकारखानाहरु बन्द छन्, यातायातहरु बन्द छन्। मानिसहरुमा त्रासको वातावरण छ। एक अर्काबीचको घनिष्टता पनि तोडिँदैछ।
साँच्चै यस कोभिड–१९ ले मानव सुमदायलाई ठूलो क्षति पु¥याउने हो त? के यसबाट बच्ने कुनै उपाय छैन त? प्रकृतिलाई नै चुनौती दिने वैज्ञानिकहरु, औषधि विज्ञानहरु असफल नै भएका हुन् त?
कोरोना अर्थात् कोभिड–१९ भाइरस जस्तो खतरनाक भाइरसहरु यो भन्दा पहिले विश्व समुदायमा नफैलिएको पनि होइन। सन् १३१४ ताका फैलिएको ब्ल्याक डेथ (बुबोनिकप्लेग) ले विश्वमा करिब २० करोड जतिको इतिहास कहिँकतै भेटिन्छ। त्यस्तै गरी सन् १९१८ देखि फैलिएको स्पेनिस फ्लुले पनि करिब ४ करोड जति मानिसको मृत्यु भएको थियो।
पछिल्लो समयमा पनि रसियन फ्लु, एसियन फ्लु, हङकङ फ्लु, स्वाइन फ्लु जस्ता फ्लुहरुले पनि लाखौं मानिसलाई आफ्नो शिकार बनाएका उदाहरणहरु हाम्रो सामु जीवित नै छन्। त्यस्तै सन् २०१४ मा फैलिएको इबोला भाइरसले पनि हजारौं मानिसलाई आफ्नो शिकार बनाएको तिता अनुभवहरु प्नि हाम्रो सामु छन्।
एचआईभी÷एड्स जो नियमित रुपमा उपचारविहीन भएर हामीलाई त्रासको वातावरण सिर्जना गरिरहेको छ, जसलाई यति लामो समयसम्म पनि उपचारको व्यवस्था गर्न सकिएको छैन।
मानव इतिहासको सुरुवातसँगै विभिन्न रोगहरुले आक्रमण गर्ने र आफ्नो शिकार बनाउने काम गरिरहेको परिप्रेक्षमा हामी आज यो विकशित विश्व परिवेशमा पनि उत्तिकै जोखिममा रहेका छौं जुन हिजो विना साधनस्रोत र अविकसित परिवेशमा थियो।
प्रकृतिलाई नै चुनौती दिने हाम्रो विज्ञान आज किन असफलता सावित हुँदैछ। औषधि विज्ञानले किन यो प्रकारका भाइरसको औषधि बनाउन सकिरहेको छैन? के विज्ञान असफल हो त? आजको विज्ञान विभिन्न ग्रह उपग्रहका विषयमा अध्ययन गरी विभिन्न तथ्यहरु सार्वजनिक गरिरहेको भए पनि पृथ्वीकै समस्यालाई पत्ता लगाउन नसक्नु र समस्या थाहा पाइसकेपछि पनि त्यसलाई निराकरण गर्नु नसक्नुले विज्ञानले प्रस्तुत गरेका अन्य तथ्यहरु प्नि कहि मिथ्या त होइनन् शंका लाग्न लागेको छ।
कोरोना त भर्खरै पत्ता लागेको भाइरस भयो, तर एचआइभी, एड्स र क्यान्सर जस्ता रोगको उपचार खै त? कुरा तथ्यपरक हुनु पर्दछ तर यसको मतलब सधैं तथ्य मात्र खोज्ने कि त्यसको वास्तविक अर्थ पनि खोज गर्ने भन्ने प्रश्न आउँछ।
अहिले विज्ञानले बनाएका विभिन्न औषधिजन्य पदार्थहरुमा पनि कहीं न कहीं यसको साइड इफेक्ट रहेको हुन्छ। यो कुरा औषधि विज्ञले पनि भनेका छन्। विना साइड इफेक्ट किन औषधिले काम गर्न सक्दैन? साँच्चै विज्ञान सफल हो भने किन कुनै पनि उपचारको ग्यारेण्टी गर्न सक्दैन? किन प्रयोगमा मात्र समय खेर फालेको हुन्छ? विज्ञान सामु यस्ता प्रश्नहरु आउन थालेका छन्।
कोरोना संन्त्रासका बीच विश्वभरिका धेरै राष्ट्रहरु अहिले लकडाउन गरी बसेका छन् भने औद्योगिक रुपमा ख्याति कमाएका राष्ट्रहरु पनि सीमित क्षेत्रमा लकडाउन गरी बसिरहेका छन्। यो बाध्यता पनि हो, किनकी यस रोगको संक्रमण राष्ट्र प्रमुख, युवराज, मन्त्रीहरु, नेताहरु, खेलाडीहरु, कलाकारहरु, वैज्ञानिक, डाक्टर सबैलाई कहीं न कहीं असर पु¥याएको छ।
यो भाइरसका कारण व्यस्त जीवनबाट केही समयको लागि भए पनि मानिसहरुलाई छुटकारा दिन सफल भएको छ, जसको कारण घर परिवारबीचको मिलन, पुराना सामग्रीहरुको संरक्षण, घरको सरसफाइ, खेतीपाती लगायतको काममा व्यस्त बनाएको छ। जसले गर्दा वातावरणमा पनि परिवर्तन आएको छ। उद्योग कलकारखानाहरुको सञ्चालनमा कमी आउँदा त्यसबाट उत्पन्न हुने कार्वनमोनो अक्साइड लगायतका विशालु ग्यासहरु वायु मण्डलमा छरिन पाएका छैनन्, जसले गर्दा ओजन लेएरमा समेत राम्रो प्रभाव परेको कुरा सञ्चार माध्यमहरुमा आइरहेको छ।
हाम्रो वरपरको वातावरणमा पनि त्यसको प्रत्यक्ष प्रभाव देख्न पाउछौं। यसलाई यो महामारीको फाइदाको रुपमा लिन सकिन्छ। हरेक व्यक्तिबीचको निश्चित दूरी कायम गर्ने, हात र गला मिलाउनुको साटो नमस्कार जस्तो उच्च आदरार्थी शब्द प्रयोग हुनु, सबैले व्यक्तिगत सरसफाइमा ध्यान पु¥याउनु, विभिन्न देशहरुबीच भइरहका युद्ध, आतंककारीहरुबाट हुने युद्ध, बम बारुदको प्रयोग र एक देशले अर्को देशलाई गर्ने विभिन्न आरोपप्रत्यारोपहरुमा धेरै हदसम्म कमी आउनु र यो कोभिड–१९ सँग एक साथ युद्ध गरेर यस जैविक हतियारलाई निस्तेज पार्ने काममा विश्वका सबै समुदाय एक हुनुलाई एउटा ठूलो सफलताको रुपमा मूल्यांकन भइरहेको छ।
“बसुदैभः कुटुम्बकम्” भन्ने शब्दलाई आज कोरोना अर्थात् कोभिड–१९ ले राम्रोसँग सिकाएको छ। यसलाई मानव इतिहासको एउटा ठूलो सफलताको रुपमा लिन सकिन्छ।
मानव समुदाय र जैविक प्रकृतिबीचको यो युद्ध कहिलेसम्म रहन्छ, यो त भन्न सकिँदैन तर पनि यसबाट मानव समुदायलाई बचाउनको लागि हामी ले के गर्नुपर्छ भन्ने सोचविचार भने विश्वका हरेक राष्ट्रहरुले आत्मसमिक्षाका साथ गर्नुपर्छ।
जैविक शक्तिलाई भौतिकवादी हामी मानव समुदायले बनाएको हतियारले हराउन त नसक्ला तर प्राकृतिक रुपमा रहेकामा नवशरीर भित्रको जैविकशक्ति (इम्युनिटी पावर) अर्थात् प्रतिरक्षा प्रणालीलाई मजबुत बनाई जस्तोसुकै विपत्तिबाट पनि पार पाउने योजना बनाएर त्यसलाई सबैले लागू गर्नेतर्फ लाग्नुपर्छ।
प्रकृतिमा पाइने विभिन्न जडीबुटीहरुको प्रयोग, योग, ध्यान र मेडिटेसन, विना रसायनका खाद्यान्नहरुको प्रयोग गरेमा भविष्यमा आउने यस्ता खालका विपत्तिबाट हामी आफूलाई बचाउन सफल हुने थियौं। अहिले यो अदृश्य जैविक हतियारसँग युद्ध लड्नको लागि हाम्रो शरीर भित्रको जैविक हतियारलाई मजबुत बनाउन प्राकृतिक रुपमा रहेका प्रचलनहरु वा भनौं सनातन पद्धतिले देखाएको मार्गदर्शन महत्वपूर्ण सावित भएको छ ।
अतः मानव सभ्यतालाई खतराबाट मुक्त गर्न विश्वका सबै राष्ट्रहरु एकजुट भई प्रकृतिको संरक्षण र त्यसबाट पाइने प्रतिरक्षा प्रणालीलाई खोज गरी सारा विश्वलाई कोभिड–१९ वा कोरोना र भविष्यमा आउने यस्तै प्रकृतिका रोगहरुबाट मुक्त दिलाउन एकजुट हुनुको विकल्प नरहेको कुरा आजसम्मका तथ्यहरुबाट प्रमाणित भएको छ।