काठमाडौं- त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका तीन जना डाक्टरमाथि लाठी प्रहार गरेको घटनाप्रति प्रहरीले मौखिक रुपमा माफी मागेका छन्।
त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान भएको छलफलमा प्रहरीले गल्ती भएको भन्दै मौखिक रुपमा माफी मागेका हुन्। छलफलमा अस्पतालका चिकित्सक, प्रहरीको छानबिन समितिका सदस्यहरु, महाराजगञ्जका प्रहरी, नेपाल मेडिकल काउन्सिल र चिकित्सक संघका पदाधिकारीरु रहेका थिए।
छलफलमा सहभागी एक चिकित्सकका अनुसार प्रहरीले लिखित रुपमा माफी माग्नुपर्ने र गल्ती गर्नेलाई विभागीय कारबाही गर्नुपर्ने आवासीय चिकित्सकको माग राखेपछि छलफल टुंगिएको छ।
अस्पतालमा भएको छलफलमा प्रहरीले मौखिक रुपमा मात्र माफी मागेको, लिखित माफी र विभागीय कारबाहीको विषय अगाडि नबढाएपछि चिकित्सकहरु स्वास्थ्य मन्त्रालयमा पुगेका छन्।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग चैत २२ गते मन्त्रिपरिषदले गरेको निर्णय अनुसार नै कारबाही प्रक्रिया अगाडि बढाउने, सुरक्षाको ग्यारेन्टी गर्ने र दोषीलाई कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ।
सरकारले चैत २२ गते कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई विरोध गर्ने व्यक्तिलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको थियो।
यसैगरी, देशभरका आवासिय डाक्टरले सुरक्षा र सुरक्षित आवासको व्यवस्था गर्न पनि माग गरेका छन्।
यो पनि :