सामना वली
ऊ डाक्टर!
ऊ पढ्छ दिनरात
न कहिले उसलाई चाड
न कहिले उसलाई पर्व
तैपनि
हो ऊ डाक्टर- गर्छ आफ्नो पेसाप्रति गर्व!
ऊ खट्छ दिनरात
न देख्छ बुढा बाउआमा
न देख्छ परिवार
तैपनि
हो ऊ डाक्टर- हरदम कर्मठ अनि जिम्मेवार !
ऊ देख्छ केवल बिरामी
न देख्छ छोराछोरीको बालापन
न देख्छ साथीभाईको भेटघाट
तैपनि
हो ऊ डाक्टर- यसरी नै चल्छ उसको दिनरात !
ऊ आफ्नो कर्तव्यप्रति निष्ठावान
न घमण्ड गर्छ सुनेर ' डाक्टरसाब नमस्ते'
न सुनेर 'डाक्टरसाब धन्यवाद !'
तैपनि
हो ऊ डाक्टर- काम नै उसको जीवनको स्वाद !
ऊ थाक्छ, तैपनि गर्छ काम दिनरात
न छ दुई पैसा आम्दानीको मोह
न छ परिवारको समयको साथ
छ त,
कहिले पुलिसको लाठी
त कहिले मानिसको गालीगलौज
कहिले अरुको थिचोमिचो
त कहिले महामारीको प्रकोप !
ऊ हेर्छ वरिपरि
देखेर न कोही छ आभार
'चोर डाक्टरले पैसा खायो' भन्ने संसार
हुन्छ दिक्दार
गर्छ आफैंलाई धिक्कार!
तैपनि,
थाकिरहन्छ,
पाकिरहन्छ,
सुनिरहन्छ,
तर पनि गरिरहन्छ,
किनकि- ऊ डाक्टर!