डा श्रवणकुमार मिश्र
सन् २०१९ को अन्ततिर उत्पत्ति भएर विश्वव्यापी महामारी गराएको सार्स कोरोना भाइरस-दोस्रोको इतिहास केलाउँदा कोरोना भाइरस सन् १९३० तिर पहिलो पटक संक्रमण सर्नसक्ने श्वासप्रश्वास रोग कुखुराको चल्लामा तथा सन् १९४० तिर मुसामा कलेजोको संक्रमण र सुँगुरमा झाडापखाला संक्रमण देखा परेको थियो। यो भारसको आकार १००-१६० नैनोमिटर डाइमिटर र बनावट इलेक्ट्रोन सूक्ष्म यन्त्रद्वारा हेर्दा गोलाकार राजमुकुट जस्तो हुन्छ। त्यही भएर यसको नामकरण कोरोना भाइरस गरियो।
यो भाइरस कोरोनाभिरिडी फेमिलीको कोरोना भाइरस जिनस अन्तर्गत पर्छ। यस फेमिली अन्तर्गतका टोरो भाइरस जिनस अन्तर्गत हुने बर्ने भाइरसले सन् १९७२ मा घोडामा झाडापखाला गराएको थियो। यो बर्ने भाइरसले विभिन्न जनावरहरु घोडा, गाईवस्तु, सुँगुर, बिरालो, बाख्रा लगायत मानिसमा पेटको रोग गराए पनि जनमानसमा महत्वपूर्ण मानिएन। यो रोगले बिरालोलाई बढी सिकित्स बनाउने गर्छ। संसारभरिमा मानिसमा कोरोना भाइरस राइनोभाइरसपछि दोस्रो भाइरस हो, जसले सामान्य रुघाखोकी गराउँछ।
यो भाइरसको वरिपरि बाहिरी सतहमा भएको 'एस' प्रोटिनको विरुद्धमा हाम्रो शरीरले एन्टिबडी निर्माण गर्छ। यो एन्टिबडीले भाइरसलाई निष्क्रिय बनाई मार्न सक्छ। यसै एन्टिबडीको जाँच द्रुत परीक्षणबाट गरिन्छ। यो एन्टिबडीको प्रयोग रोग निको पार्नको लागि प्लाज्मा थेरापीको रुपमा पनि गरिन्छ।
सन् २००३ मा कोरोना भाइरसको नयाँ प्रजाति, जसले मानिसमा गम्भीर प्रकारका श्वासप्रश्वासको रोग जसको नाम सार्स कोभ राखियो। तत्पश्चात् चमेरोबाट र मानिसबाट गरी नयाँ प्रजातिको भारसको उत्पति हुन थाल्यो। सोही क्रममा २०१२ मा मर्स कोभ र हाल आएर सन् २०१९ मा सार्स कोरोना भाइरस-दोस्रो प्रजातिको उत्पति भएर कोभिड-१९ रोगको विश्वब्यापी महामारी गराएको हो।
हाल देखिएको महामारीमा सार्स कोभ-दोस्रो भाइरसको उत्पत्ति चमेरोमा पाइने कोरोना भाइरसको जिनमा केही परिवर्तन भएर नयाँ भाइरसको उदय भयो। यो भाइरस चीनको हुबेई प्रान्तको वुहान सहरबाट उत्पत्ति भएर हाल विश्वब्यापी महामारी फैलिएर हालसम्म यो भाइरसको चार वटा क्लेडहरु एस, जी, भी, र ओ देखिएका छन्। यो रोग नयाँ भएकोले यसको सम्पूर्ण क्लेड (सब टाइपहरु) बढ्ने सम्भावना रहन्छ। यो रोगको बारेमा अनुसन्धान भइरहेको छ।
यो भाइरसले समान्य खालको श्वासप्रश्वास रोग गराउनेदेखि लिएर निमोनिया लागेर २ देखि ३ प्रतिशत संक्रमित मानिसको मृत्यु हुने गर्छ तर यसको नराम्रो पक्ष भनेको यो रोग संक्रमित व्यक्तिबाट स्वास्थ्य मानिसमा सजिलै सर्छ।
भाइरसको फाइलोजेनेटिक बनावटको आधारमा कोरोना भाइरस अल्फा, बिटा, गामा र डेल्टा गरिकन चार किसिमको हुन्छ। यो भाइरस बिटाकोरोना भाइरस र सर्बेको कोरोना भाइरस प्रजातिको हो र पहिला महामारी गराइसकेको सार्स कोरोना भाइरस र मर्स कोरोना भाइरसभन्दा फरक प्रकृतिको हो। यो भाइरस मानिसमा रोग गराउने कोरोना भाइरसहरुमध्ये सातौं नम्बरको प्रजाति सार्स कोरोना-दोस्रो हो। यो भाइरसभन्दा पहिले मानिसमा समान्य मौसमी रुघाखोकी गराउने प्रजातिहरू २२९ ई, ओ, सी४३, एनएल६३, एचकेयु-१ र महामारी गराएका प्रजातिहरू सार्स कोरोना (पाँचौ) र मर्स कोरोना (छैठौं) हुन्।
नेपालमा यो रोगको संक्रमण मानिसमा पहिलो पटक सन् २०२० को जनवरी महिनामा चीनबाट फर्केको व्यक्तिमा देखिएको हो। यो भाइरस फेमिलीभित्र तीन किसिमको एन्टिजेनिक समूह पर्दछन्। पहिलो एन्टिजेनिक समूह (१) मा एनएल६३ र २२९ ई प्रजातिहरू, दोस्रो एन्टिजेनिक समूह (२) मा ओसी४३, एचकेयु-१ र सार्स कोरोना पर्छन् भने तेस्रो एन्टसजेनिक समूह (३) मा कुखुरा र टर्की चरामा गराउने एभिएन इन्फेक्सन ब्रोनकाइटिस भाइरस र टर्की कोरोना भाइरसहरु पर्दछन् जुन अहिलेसम्म मानिसमा रोग गराएको छैन।
हाल फैलिएको कोभिड-१९ रोगको सेरो समूह दोस्रो (२) एन्टिजेन समूह अन्तर्गत पर्छ। तसर्थ सार्स कोरोना भाइरस दोस्रो सेरो समूह दुईमा पर्छ। हाल परीक्षण गरिएको (आरडिटी) एन्टिबडीको जाँचले मानिसमा गराउन सकिने चार किसिमको कोरोना भाइरसहरु विरूद्ध बनेको एन्टिबडी पत्ता लगाउन सक्छ।
नेपालमा अहिलेको महामारीभन्दा अगाडि मानिसमा हुमन कोरोना भाइरस समान्य मौसमी रुघाखोकी गराउने प्रजातिहरू २२९ ई, ओसी४३, एनएल६३ र एचकेयु-१ सन् २०११ देखि सन् २०१४ सम्म वासिंगटन विश्वविद्यालयले नेपालको सर्लाहीमा एक देखि ६ महिनासम्मका उमेरका बालबालिकामा गरिएको अनुसन्धानबाट देखिएको छ।