म छक्क पर्नुको कारण सायद अत्यधिक समय अनुसन्धान र लेखमा व्यस्त हुँदा आफ्नो वरिपरि कसले के गर्दैछ र के लेख्दैछ भनेर ध्यान नदिनु थियो होला। हाल विश्वमा भइरहेको कोभिड-१९ को महामारीलाई लिएर भइरहेको चर्चा–परिचर्चामा आधारित थियो म छक्क पर्नुको खास कारण।
'नेपालीमा सार्स सिओभी-२ भयो, कोरोना कसैलाई भएकै छैन' भन्ने शीर्षकसँग मेरो नाम र फोटो जोडिएर आएको लेख थियो, जुन (जसले प्रकाशित गर्यो,) अनलाइनसँग कोभिड-१९ को बारेमा मेरो कहिल्यै कुरा भएन। यो लेख केही घण्टा भित्रमा धेरैमाझ सेयर पनि भइसकेको रहेछ। धेरैले यो शीर्षकलाई सहजै पत्याएको देखियो। यदि यो शीर्षकलाई राम्ररी विश्लेषण गर्ने हो भने 'म लन्डन पुगें तर युके गएको छैन' भनेर भन्नुसरह बुझ्नुपर्छ। अर्थात्, शीर्षकमा नै समस्या छ तर अफसोच! धेरैले यो शीर्षकलाई राम्ररी बुझ्ने प्रयाससम्म पनि गरेको देखिँदैन।
अहिले धेरै कोरोना भाइरसको बारेमा फेक न्युजहरु आउने क्रम जारी देखिन्छ र त्यसको सिकार म पनि भएको अनुभव गरिरहेको छु। मित्र/शुभचिन्तकहरुबाट यो कुरा थाहा नपाउन्जेल यो शीर्षकप्रति म अनभिज्ञ नै रहिरहें। यो न्युजले धेरैलाई भ्रममा पारिसकेको थियो।
माथि उल्लेखित शीर्षक सम्पादकले आफ्नै तरिकाले बनाएको भए तापनि भित्रि कन्टेन्ट भने अर्कै अनलाइनमा प्रकाशित मेरो अन्तर्वार्ताबाट बिनास्वीकृति साभार गरिएको थियो। जसमा कोरोनाको बारेमा बुझाउने कोशिस गरिएको थियो।
सुरुमा भाइरसलाई सार्स जस्तो भाइरसको नाम दिए पनि केही समय यसलाई नोबेल कोरोना भाइरस अर्थात् '२०१९–एन कोभ' को नामले चिनिन थालियो। तर पछि विश्व स्वास्थ्य संगठनले यो भाइरसको आधिकारिक नाम 'सार्स सिओभी-२' राखेको थियो भने यसको कारणले हुने रोगको नाम 'कोभिड-१९' राखेको हो।
यही कुरा माथि उल्लेखित अनलाइनले नसोधी/नबुझी लेख्दा 'नेपालीमा सार्स सlओभी-२ भयो, कोरोना कसैलाई भएकै छैन' भन्ने बुझेछ र शीर्षक राखिदिएछ। यसलाई डब्लुएचओको वेबसाइटमा एचआइभी/एड्सको प्रसंगसँग जोडेर उदाहरण दिएको छ। जस्तै: एचआइभी एक भाइरस हो, जसले एड्स रोग गराउँछ।
अहिले पनि न्यु इंगल्यान्ड जर्नल अफ मेडिसिन होस् वा द ल्यानसेट जस्ता प्रतिष्ठित जर्नलहरुमा, 'सार्स सिओभी-२' र 'कोभिड-१९' जस्ता शब्दहरुको चयनलाई होसियारीपूर्वक प्रयोग गर्ने गरेको पाइन्छ। तर नेपालमा सार्स सिओभी-२ होस् वा कोभिड-१९ दुवैलाई कोरोना भाइरसको नामले नै चिन्ने गरिन्छ। अझ धेरैले कोभिड-१९ को नाम सुन्ने गरे तापनि 'सार्स सिओभी-२ को नाम भने सायदैलाई थाहा होला।
मलाई याद छ, केही समय अगाडि यसरी नै अर्को भाइरसको नाममा ठूलो विवाद भएको थियो। मिडियामा स्वाइन फ्लु भन्ने गरे तापनि नेपाल सरकारले त्यो स्वाइन फ्लु होइन 'एचवानएनवान पिडिएम ०९' भन्नुपर्छ भन्ने गरेको थियो। तर सर्वसाधारणले अहिले पनि एचवानएनवान पिडिएम ०९ लाई स्वाइन फ्लुको नामले नै चिन्ने गर्छन्। यो कसले कसरी बुझ्छ भन्ने हो।
कोरोना भाइरस परिवार अन्तर्गत सार्स सिओभी-२ पछिल्लो नयाँ प्रजातिको भाइरस हो र यसको संक्रमणले कोरोना भाइरस डिजिज अर्थात् कोभिड-१९ हुने हो। आजको दिनसम्म नेपालमा धेरैमा सार्स सिओभी-२ (सर्वसाधारणले बुझ्ने भाषामा कोरोना भाइरस) को संक्रमण त देखीयो तर उनीहरुमा 'कडा कोभिड-१९' भने भएको देखिँदैन। अर्थात् रोग लगेर जटिल अवस्थामा पुगेको वा मृत्यु भएको प्रमाण छैन।
यही कुरा बुझाउन खोज्दा सो अनलाइनमा लेखिएको शीर्षकले अर्कै अर्थ दिएको देखिन्छ, जुन गलत थियो। र, धेरैले यसलाई सही होला भनी भ्रममा परेको वा पारेको देखियो। यस्ता घटनाहरु भविष्यमा अरुलाई पनि घरिघरि नदोहोरियोस् भन्ने कामना गर्दछु।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)