काठमाडौं— कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै यससँग जोडिएका धेरै भम्रपूर्ण विषय पनि समाजमा फैलिरहेका छन्।
यस्तै भम्रमध्ये एउटा भम्र अहिले हाम्रो घरसमाजमा फैलिएको छ। त्यो हो, आयुर्वेद, होमियोप्याथी तथा अन्य प्राकृतिक चिकित्सा विधि कोरोना विरुद्धको औषधि भन्ने।
धेरै मानिसमा यसको भ्रम फैलाइएको मात्र छैन कतिपय संघसंस्थाले कोरोना विरुद्धको औषधि भनेर वितरण समेत गरिरहेको पाइएको छ। स्वास्थ्यमा अन्य असर नगर्ने भन्दै वितरण र प्रचार भइरहेका यी विषयको वास्तविकता के हो त ?
यो विषयमा हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग र विश्व स्वास्थ्य संगठनका पदाधिकारीसँग कुराकानी गरेका छौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयले कुनै पनि औषधिलाई कोरोनाको औषधिको रुपमा मान्यता नदिएको बताए।
उनले बजारमा वितरण भइरहेका औषधिले भम्र छरेपछि पटकपटक मन्त्रालयले भम्रको पछि नलाग्न अनुरोध गरिरहेको बताए। कसैले त्यसो गरेमा कानुन बमोजिम कारवाहि गर्न सकिने उनको भनाई छ।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियरका अनसार कोरोना उपचारका लागि आयुर्वेदिक वा एलोपेथिक कुनै पनि औषधि बनिसकेको छैन। त्यसका लागि विश्वका विभिन्न देशमा प्रयासहरु भने भइरहेको छ।
'केही परम्परागत र आधुनिक औषधिले यसका केही लक्षण न्यूनीकरण गर्न सहयोग गरेको पाइएको छ। तर यी कोरोना निको पार्ने वा संक्रमण नै हुन नदिने औषधि भने होइनन्। मानिसहरूले आफूखुशी यस्ता औषधिको प्रयोग गर्नुहुँदैन,' उनले भने, 'कोभिडको नियन्त्रण र उपचारका लागि कुन औषधिले प्रभावकारी रूपमा काम गर्छ भनेर विभिन्न अनुसन्धानहरू भइरहेका छन्। विश्व स्वास्थ्य संगठनले प्राप्त गरेका प्रभावकारी नतिजाहरूका आधारमा कस्ता औषधि प्रयोग गर्न सकिन्छ र कस्ता औषधि प्रयोग गर्नुहुँदैन भन्नेबारे जानकारी दिनेछ।'
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्याय पनि कोरोना भाइरसको उपचारका लागि आयुर्वेद वा अन्य चिकित्सा पद्दतिको विकास नभएको बताउँछन्। उनले आयुर्वेद वा जडिबुटीजन्य औषधिले मानिसको रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउन मद्दत गर्ने तर कोरोना भाइरस निको नपार्ने जानकारी दिए।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल विश्वमा नै कोरोना विरुद्धको औषधि नबनेका कारण विभागमा पनि हालसम्म त्यस्ता कुनै औषधि दर्ता नभएको बताउँछन।
उनले बजारमा बिक्रि वितरण भइरहेको कोरोना भाइरसको औषधि भनेर वितरण गरिएको औषधि प्रतिरक्षा शक्ति बढाउने औषधिको रुपमा मात्र विभागमा दर्ता भएको जानकारी दिए।
कोरोना भाइरस संक्रमणले एकैपटक धेरै मानिसलाई प्रभावित पार्ने भएकाले यो समय सत्यभन्दा भम्रपूर्ण कुरा छिटो फैलिन्छन्। यस्तो अवस्थामा आधिकारिक निकायबाट जानकारी नपाएसम्म हल्लाका भरका कुनै पनि औषधि सेवन गर्न नहुने विज्ञहरुको सुझाव छ।