सरकारले कोरोना भाइरसको संक्रमणबाट रोकथामका लागि लगाएको झण्डै तीन महिना लामो लकडाउनलाई खुकुलो बनाएको छ। लकडाउन खुकुलो भएपनि कोरोना संक्रमितको संख्या भने झन् बढ्दै गइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वका अन्य देशले अपनाएको नव सामान्ययीकरण विधि अपनाउदैँ लकडाउन व्यवस्थित बनाउँदै खुकुलो बनाएको जनाएको छ।
लकडाउन पछिको दैनिकीलाई नव सामान्यीकरण वा न्यू नर्मल भन्ने गरिएको छ। वास्तवमा नव सामान्यीकरण भनेको के हो? यस्तो बेला कसरी सर्तकता अपनाउने? यो समयमा के गर्न हुन्छ र के गर्न हुँदैन ? लकडाउनको समयमा कसरी व्यवस्थित जीवनशैली अपनाउने ?
हामीले यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपालस्थित विश्व स्वास्थ्य संठगनका प्रतिनिधी र सरुवा रोग विशेषज्ञसँग कुराकानी गरेका छौँ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले तत्कालै कोरोना भाइरसको संक्रमणबाट मुक्त हुने अवस्था नरहेकाले आगामी दिनमा कोरोनासँगै बाँच्न सिक्नुपर्ने बताए। उनले यसका लागि आम नागरिकले व्यवस्थित र सुरक्षित जीवनशैली बनाउन आवश्यक रहेको बताए।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियरका अनुसार नेपालमा लकडाउन खुकुलो बनाइनुको अर्थ कोरोना भाइरसको संक्रमण आउनुभन्दा अघिको जस्तो सामान्य अवस्था होइन। उनले हाम्रो वरिपरी अझै पनि कोरोना भाइरस रहिरहेकाले पुनः यसको संक्रमण फैलन सक्ने बताए।
उनले अहिलेको अवस्थामा थप सचेत हुँदै अन्य मानिससँग दुरी कायम गर्न, भिडभाडमा नजान, मास्क प्रयोग गर्न, बारम्बार साबुनपानीले हात धुन र खोक्दा वा हाछ्यूँ गर्दा कुहिनोले नाकमखु छोप्न सुझाव दिए।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन पनि लकडाउन खुकुलो भएपछिको अवस्थामा झन् बढी सर्तक हुनुपर्ने बताउँछन्।
उनले कोरोना भाइरस अझै लामो समयसम्म देखिन सक्ने भएकाले सुरक्षाका उपाय अपनाउँदै सर्तकताका साथ पहिले झैं जीवन सञ्चालन गर्न सुझाव दिए।
लकडाउन खुकुलो बनाएपछि स्वास्थ्य मन्त्रालयले संक्रमणबाट जोगिनका लागि ‘कोभिड–१९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड २०७७’ समेत ल्याएको छ।
लकडाउनलाई थप व्यवस्थित बनाउँदै दैनिक क्रियाकलापलाई सञ्चालन गर्न जनस्वास्थ्यका मापदण्डहरु प्रयोग गरी समग्र मुलुकलाई सामान्यीकरण तर्फ लैजान मापदण्ड ल्याइएको मन्त्रालयले जनाएको छ।
उक्त मापदण्डमा विशेषागरी भौतिक दूरी कायम राख्न, मास्कको प्रयोगमा र सरसफाईमा जोड दिइएको छ।
मापदण्डमा सबै किसिमको जमघट र भेलाहरुमा कम्तिमा २ मिटर वा ६ फिटको दुरी अनिवार्य रुपमा कायम गर्ने, घर बाहिर जाँदा अनिवार्य रुपमा सर्जिकल वा तीन तहको कपडाको मास्क लगाउने, सबै सार्वजनिक स्थल तथा कार्यालयहरुले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने कुरा उल्लेख छ।
यसका साथै यो समयमा अनावश्यक वस्तु तथा सतहहरु नछुने, अनुहारको टी क्षेत्र अर्थात आँखा, नाक र मुखलाई अनावश्यक रुपमा नछुने, सार्वजनिक स्थलहरुमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोबार गर्दा विधुतिय कारोबार गर्ने, खोक्दा वा हाच्छ्यिुँ गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, उक्त कुराको सम्भव नभएमा कुहिनाले छोप्ने, ज्वरो, खोकी तथा श्वासप्रस्वासको समस्या भएका व्यक्तिहरुले सकभर जनसम्पर्कमा नआउने, आउने परेको खण्डमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने लगायतका कुराहरु मापदण्डमा उल्लेख छ।
कोरोना भाइरसको संक्रमण तत्कालै नहट्ने भएकाले अबका दिनमा कोरोना संगै बाँच्न सिक्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सर्तकताका साथ जनजीवन सरलीकरण गर्न जनस्वास्थ्य विज्ञहरुले पनि सुझाव दिएका छन्।