कोभिड-१९ विशेष

कोभिड-१९ मा मानवताको परीक्षण र पहिचान

डा बच्चुकैलाश कैनी

आजकल कोभिड-१९ संक्रमणका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा संकटकाल लागेको छ। अस्पतालको क्षमताभन्दा बढी बिरामी भर्ना गर्नुपर्ने हुनाले थप शय्या, उपकरण, जनशक्ति, स्रोत र साधनको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ। यो आपतको घडीमा स्वास्थ्यकर्मीलाई सहयोग गर्न कतिपय देशमा स्वयंसेवकहरु समेत परिचालन गरिएको छ। धेरैजसो देश र समाजमा मानवताको परीक्षण हुँदैछ।   

कोभिड-१९ बाट संक्रमित, उनीहरुको परिवार, यसको कारण आर्थिक रुपमा कष्ट भोग्ने, दीनदु:खी, असहाय र विपन्न वर्गको हितमा काम गर्ने बेला यही हो। यदि मानिस भएर काम केही गर्न सकिएन भने मानव चोला जिउनुको कुनै अर्थ हुँदैन। दलाई लामाले भन्नु भएको थियो, 'प्रेम र सहानुभूति वा दया मानिसको आवश्यकता हो, बिलासिता हैन। किनकी यी दुई विना मानवता बाँच्न सक्दैन।' 

कोभिड-१९ सँग जुध्न बेलायतमा स्वास्थ्य सेवामा पाँच लाख स्वयंसेवक चाहिने अनुमान गरी दरखास्त माग गरिएकोमा केही हप्ताभित्र त्यसको दोब्बर अर्थात् दस लाख मान्छेले स्वयंसेवक हुन दरखास्त दिएका थिए। यसरी दरखास्त दिने सबैलाई थाहा थियो कि हामीलाई  कुनै पनि बखत कोभिड-१९ को संक्रमण हुन सक्छ। उनीहरुलाई धेरै जोखिम छ। तर पनि उनीहरुलाई आफ्नो स्वास्थ्य र चिन्ताभन्दा देश, समाज र समस्यामा परेका अरु मानिसको सेवा गर्नु ठूलो भयो। त्यसैले उनीहरु स्वेच्छाले संकटको घडीमा स्वयंसेवक हुन राजी भए र आफ्नो नाम लेखाए। यो संकटको बेला मानवताको एकदम ठूलो उदाहरण हो। 

तर, नेपालको अहिलेको परिस्थिति बिल्कुल फरक छ। यदाकदा हुने र सुनिने केही थोरै राम्रा कामका अपवाद बाहेक कोभिड-१९ का बिरामी र स्वास्थ्यकर्मीप्रति गरिने व्यवहार नकारात्मक छ। कतिपय अवस्थामा स्वास्थ्यकर्मीलाई आदर र सम्मान गर्नुको सट्टा अहिले स्वास्थ्यकर्मीलाई घर भाडामा दिन डराएको अवस्था छ। मानिस अस्पताल नजिक पर्न डराएका छन्। मानिसको लास व्यवस्थापन गर्न अवरोध खडा गरिएको छ। धेरै अवस्थामा स्वभाविकभन्दा पनि बढी समाजलाई नै आतंकित हुने र कोभिड-१९ बाट संक्रमितलाई दु:ख दिने काम भएको छ। यो कुनै पनि हदमा मानवीय भन्न सकिँदैन। 

कोभिड-१९ का संक्रमित र उनीहरुका परिवारलाई अरु बेलाभन्दा यो बेला धेरै सहयोग, सहानुभूति र मायाको खाँचो पर्छ। तर यसको ठिक विपरीत नेपाली समाजमा उनीहरुलाई हेर्ने दृष्टिकोण एकदम फरक र नकारात्मक छ। उनीहरुलाई यसरी हेरिँदै छ मानौं उनीहरु आफैंले कोभिड-१९ को संक्रमण खोजीखोजी ल्याएका हुन्। उनीहरु समाजका दोषी र पापी नै हुन्। बिचरा! उनीहरुको पीडा र दु:ख कसले बुझ्ने?

नेपालमा आफ्नो वरपरका अस्पतालमा कोभिड-१९ को उपचार नै नहोस भन्ने गरेको पनि देखियो र सुनियो। कतिपय सरकारी र निजी अस्पतालले कोभिड-१९ का लक्षण देखिएका बिरामीलाई आफ्नो अस्पतालमा भर्ना लिन मात्रै हैन, सामान्य जाँच पनि गर्न मानेनन्। स्वास्थ्यकर्मीले समेत बिरामी हेर्न नमानेका कतिपय उदाहरण पनि छन्। यो कुनै पनि पेसागत मान्यता, धर्म र नैतिक अर्थात् इथिक्सको घोर विरुद्ध हो।  

खै यस्तो बेला सरकारको उपस्थिति? स्वास्थ्य संस्था र सरकारले स्वास्थ्यकर्मीलाई चाहिने पिपिई उपलब्ध गराउनुपर्छ। उनीहरुलाई काम गर्ने वातावरण दिनुपर्छ। यदि यो सबै हुँदाहुँदै पनि कसैले आफ्नो कर्तव्य पूरा गरेको छैन भने सरकारले कारबाही गर्न सक्नुपर्छ। स्वास्थ्यकर्मीको अनुमतिपत्र नै जफत गर्न सक्नुपर्छ। 

देश र समाजलाई चाहिने बेलामा हो सबैले नागरिक सहयोगको अपेक्षा गर्ने। एकातिर नेपालमा हजारौं सरकारी शिक्षक र कर्मचारी सरकारको तलब खाएर घरमा बसेका छन्। अर्कोतिर सरकारी निकायले बनाएका र सञ्चालन गरेका क्वारेन्टाइन स्थलको अवस्था बेहाल छ। तिनै सरकारी निकायले दिएको तलबभत्ता खाने र घरमा बस्ने शिक्षक र कर्मचारीलाई परिचालन गरेर देशका विभिन्न स्थलमा क्वारेन्टाइन स्थलको राम्रो व्यवस्थापन गर्न सकिन्थ्यो।

बेलायतको स्वास्थ्य सेवा विश्वको एक उत्कृष्ट स्वास्थ्य सेवा मानिन्छ। यो धेरै स्रोत र साधन सम्पन्न पनि छ। करिब ५ करोड ६२ लाख जनसंख्या भएको बेलायतमा करिब १३ लाख स्वास्थ्यकर्मी र कर्मचारी राष्ट्रिय स्वास्थ्य सेवामा काम गर्छन्। यस्तो स्रोत र साधन भएको अवस्थामा बेलायतमा कोभिड-१९ को परीक्षण गर्न र स्वाब  संकलन गर्न बेलायती सेना समेत परिचालन गर्नुपर्‍यो। 

नेपालमा पनि यसरी नै क्वारेन्टाइन स्थलको र सुरुमा नेपाल भित्रिने मानिसको व्यवस्थापन गर्न सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गर्न सकिन्थ्यो। तर यसको ठिक विपरीत आर्थिक कारोवार वा स्वास्थ्य सामग्रीको ठेक्कापट्टा गर्न सरकारले सेनालाई जिम्मा दियो। भारतबाट नेपाल आउन चाहनेले सीमानाकामा सास्ती व्यहोर्नुपर्‍यो। यो सरासर सरकारको व्यवस्थापकीय कमजोरी हो। 

भन्नका लागि पूर्वीय सभ्यता, दर्शन र धर्मको अनुयायी अरुभन्दा बेग्लै हौं भन्छौं हामी नेपाली। गीता, महाभारत, रामायण आदि हिन्दु धर्मग्रन्थहरुले सिकाएको र दिएको ज्ञान र उपदेशको रटान गर्छौं। तर केही समूहले गरेका उदाहरणीय समाजसेवाका कामलाई अपवाद मान्ने हो भने कोभिड-१९ बाट संक्रमित त उनीहरुका परिवारलाई गर्ने व्यवहारले मानवीय पक्षको खिल्ली उडाएको छ। हाम्रो धर्म, संस्कृति, मूल्य र मान्यतालाई बेवास्ता गरेको छ। 

बुद्ध जन्मेको देश नेपालका बासिन्दा नेपाली हौं भनेर सगर्व भनेको, लेखेको, पढेको र सुनेको धेरै भयो। भगवान गौतम बुद्धले भन्नु भएको थियो, 'सबै जीवप्रति दयालु हुनुपर्छ। यही नै सच्चा धर्म हो।' भगवान गौतम बुद्धले जति समुदाय र मानव हितमा बोल्नु भएको छ र उपदेश दिनु भएको छ, त्यसको अलिकति पनि व्यवहारमा उतार्न सक्नुपर्थ्यो हामी नेपालीले। तर खै बुद्ध जन्मेको देशमा कोभिड-१९ संक्रमित नागरिक, देश र समाजलाई चाहिएको बेला हामीले मानवता देखाएको? यदि मानवता देखाउन सकेको भए कसैले कोभिड-१९ बाट संक्रमितबाट मरेको मानिसको लास जलाउन अवरोध गर्छ? यदि अलिकति पनि माया र धर्म हुने र स्वार्थी नहुने हो भने कोभिड-१९ बाट संक्रमित र उनीहरुको परिवारप्रति सहानुभूति र सहयोग हुनुपर्ने हो। 

सामान्य अवस्थामा सबैले खान, लाउन, बस्न पाएकै हुन्छन्। संकटको घडीमा मात्र मानिसको सच्चा मानवताको परीक्षण र पहिचान हुन्छ। यही बेला हो, आफ्नो धर्म, मूल्य र मान्यताको पहिचान दिने। यही मौका हो, समाजले मानवताको पहिचान र परीक्षण गर्ने। यो कठिन बेलामा स्वास्थ्य संस्था र अग्रपंक्तिमा काम गर्ने सुरक्षाकर्मी, कर्मचारी र स्वास्थ्य संस्थाका कर्मचारी र स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर स्वास्थ्य संस्थामा काम गरेका छन्। आफ्नो मानवताको परिचय दिएका छन्। देश, समाज र मानव जगतको हितको लागि काम गरेका छन्। 

कोभिड-१९ ले निम्त्याएको संकटको बेला अब सबै जनसमुदाय, समाज, नेतृत्ववर्ग र देशबासीको पालो हो, मानवताको परिचय दिने। देश र समाजलाई केही योगदान दिने। अब सबै हातेमालो गरौँ। कोभिड-१९ को जोखिम कम गरौं। कोभिड -१९ को संक्रमणमा परेका र तिनको परिवारप्रति सद्भाव राखौं र सबैलाई सहयोग गरौँ।

(डा कैनी क्विन एलिजावेथ अस्पताल, लन्डनमा वरिष्ठ व्यवस्थापक र आर्डेंन विश्वविद्यालय, लन्डनमा स्वास्थ्य व्यवस्थापन विषयको सहप्राध्यापकको रुपमा कार्यरत छन्।)
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने