कोभिड-१९ भिडियो

नेपालका कोरोना संक्रमितमा यी ४ औषधिको प्रभावकारिता अनुसन्धान गरिँदै

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमितमा ४ वटा औषधिको प्रभावकारिताबारे अनुसन्धान गर्ने भएको छ। 

परिषदले विश्व स्वास्थ्य संगठनको सहयोगमा अनुसन्धान अघि बढाउन लागेको हो। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालका करिब ८ सय संक्रमितमा अनुसन्धान गरिने बताए। उनले कोरोनाको सामान्य लक्षण देखिएका संक्रमितमा अनुसन्धान हुने दिए। उनका अनुसार परिषद् कोरोनाको उपचार गरिरहेका अस्पतालका दुई क्लिनिसियनलाई तालिम समेत दिई सकिएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत  डा मेघनाथ धिमालले इबोला रोगविरुद्ध प्रयोग हुने रेम्डेसिभिर, एचआइभी/एड्समा प्रयोग हुने लोपिनाभिर र रिटोनाभिर, हाइड्रोक्सीक्लोरोक्विन औषधिको प्रभावकारिता परीक्षण गर्न लागिएको जानकारी दिए।

कोरोना संक्रमितमा यी औषधि कति प्रभावकारी हुन्छन् भनेर पत्ता लगाउन अनुसन्धान गर्न लागिएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा विश्वका एक सयभन्दा बढी देशमा यी औषधिका विषयमा अनुसन्धान भइरहेको छ।

नेपालमा हुन लागेको अनुसन्धानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिइसकेको छ। 

विश्व स्वास्थ्य संगठनले पहिले नै प्रयोग भइरहेका केही औषिधबारे विश्वस्तरमै ‘डब्ल्युएचओ सोलिडारिटी ट्रयाल’ का रूपमा अनुसन्धानका लागि आह्वान गरेको थियो।

भारतमा पनि यी औषधिको विषयमा अनुसन्धान सुरु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले विश्वस्तरमै चलनचल्ती रहेका एन्टिभाइरल औषधिलाई कोरोना भाइरस संक्रमणको उपचारमा प्रयोग गर्नेबारे अध्ययन गर्न सहयोग गरिरहेको छ।

यो पनि :

के मदिरा सेवनले शरीर भित्रको कोरोना भाइरस मार्छ? यस्तो छ वास्तविकता

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने