अन्तर्वार्ता

परीक्षणको दायरा बढाउने हो भने समुदायस्तरमा संक्रमितको संख्या बढ्छ : डा न्यौपाने, जोन्स हप्किन्स् विश्वविद्यालय [अन्तर्वार्ता]

विगत १५ वर्षदेखि नेपाललाई मूल कार्यक्षेत्र मानेर अध्ययन र अनुसन्धान गर्दै आएका जनस्वास्थ्यविद् डा दिनेश न्यौपाने हाल अमेरिकाको जोन्स हप्किन्स् विश्वविद्यालयमा कार्यरत छन्। विश्व महामारीका रूपमा रहेको कोभिड-१९ का बारेमा उनले थुप्रै अध्ययन र अनुसन्धान गरेका छन्। कोरोना भाइरस, संक्रमितको उपचारलगायतका विषयमा उनीसँग लन्डनबाट प्रकाशन हुने साउथ एसिया टाइम अनलाइन पत्रिकाका लागि भगीरथ योगीजगन कार्कीले गरेको कुराकानीको नेपाली अनुवाद: 

अहिले कोरोना भाइरसको अवस्था नेपालमा कस्तो देख्नुहुन्छ?
कोरोना भाइरसको संक्रमणको सुुरुवाती अवस्थामा नै बन्दाबन्दी सुरु गर्ने देशहरुमध्ये नेपाल पनि एउटा थियो। यदि हामीले कन्ट्याकट ट्रेसिंग (संक्रमितहरुको सम्पर्कमा आएकाहरुको खोजपड्ताल), क्वारेन्टिन (सम्भावित संक्रमितहरुलाई छुट्टै अवलोकनमा राख्ने) र आइसोलेसन (संक्रमितहरुलाई छुट्टै राखेर रेखदेख र उपचार गर्ने पद्धति) लाई प्रभावकारी रुपमा लागू गर्न सकेको भए नेपाल अहिले कोरोना रोकथाममा एउटा नमुना देश हुन सक्थ्यो। बिडम्बना हामीले त्यो एउटा सुनौलो अवसर गुमायौं। भारतसँगको सिमानामा राम्रो व्यवस्थापन हुन नसक्दा छोटो समयमा नै कोरोना भाइरस नेपालको सबै जिल्लामा फैलिन पुग्यो। पछिल्लो पटक बन्दाबन्दीलाई खुकुलो पार्दै जाँदा र विभिन्न नाममा भइरहेका आन्दोलनहरुले कोरोना भाइरसलाई थप फैलिन मद्दत गर्‍यो। कोरोना भाइरस छ कि छैन भनेर पत्ता लगाउने पिसिआर परीक्षण सीमित मात्रामा भएकाले अहिलेको तथ्याङ्कको भन्दा धैरै संक्रमित भएको अनुमान लगाउन सकिन्छ। उदाहरणको लागि हाम्रो भन्दा परीक्षणको क्षमता धेरै बढी भएको विकसित देश अमेरिकाले संक्रमितहरुको संख्या प्रयोगशालाबाट पत्ता लागेको भन्दा दस गुणा बढी भएको भनेर अनुमान गरेको छ। त्यसैले अहिले देखिएको तथ्याङ्कको आधारमा हाम्रो अवस्था राम्रो छ र राम्रो रहिराख्छ भनेर निष्कर्षमा पुगियो भने त्यो गम्भीर भुल हुनसक्छ। 

यदि त्यस्तो धेरै जनामा संक्रमण भए त अस्पताल कोरोनाका बिरामीले मात्र भरिनुपर्ने वा पूरै गाउँसहर नै कोरोनाका कारणले भयावह हुनुपर्ने होइन र?
अहिले पनि नेपालमा सडक दुर्घटनाबाट प्रतिमहिना ५६५ जनाको अकालमा ज्यान जाने अनुमान छ। यो संख्या ठूलो भए पनि हामीले त्यस्तो त्राही–त्राही महसुस गर्दैनौँ।  कोरोना भाइरसले यो स्तरको क्षति गरिन्जेल पनि हामीलाई खासै ठूलो रोग रहेन छ जस्तो लाग्छ। तर यसको फैलिने दर उच्च भएकोले सतहमा हामीले महसुस गर्ने गरी देखिन केही समय लाग्नु सामान्य कुरा हो। यदि बेलैमा रोकथामका उपायहरुलाई कार्यान्वयन गर्न सकिएन भने सम्भावित नराम्रा दिनहरु प्नि हामीले सामना गर्नुपर्ने हुनसक्छ। त्यसलै अहिले प्रयोगशालाबाट आएको नतिजाको आधारमा भन्दा पनि विश्वमा यसले पुर्‍याइरहेको क्षतिलाई मध्यनजर गरेर कसरी क्षति कम गर्न सकिन्छ भनी न्यूनीकरणका प्रयासहरुमा केन्द्रित हुनुपर्छ। 

के तपाईंलाई नेपालमा समुदायस्तरमा संक्रमण फैलिएको जस्तो लाग्छ?
मेरो विचारमा यो प्रश्न सान्दर्भिक छैन जस्तो लाग्छ। काठमाडौं भित्रै थुप्रै संक्रमितहरुलाई कोरोनाको संक्रमण कहाँबाट फैलियो भनेर पत्ता लगाउन सकिएको छैन। प्रयोगशाला परीक्षण अहिले मुख्य गरेर क्वारेन्टिनमा भएकाहरुलाई मात्र लक्षित छ। क्वारेन्टिनमा बस्नेहरु मूलतःभारतबाट फर्किने युवाहरु छन्। यसले गर्दा अहिले अधिकांश पत्ता लागेका कोरोना संक्रमितहरु विदेशबाट आउने खास गरेर भारतबाट फर्किनेहरु छन्। यदि हामीले कन्ट्याक ट्रेसिङ र परीक्षणको दायरालाई बढाउने हो भने मेरो विचारमा समुदायस्तरमा संक्रमणका संक्रमितहरु धेरै फेला पर्छन्।

तपाईंको विचारमा नेपालमा कोरोना संक्रमितको उच्च संख्या (पिक) कहिले पुग्छ होला? कसै–कसैले अनुमान गरेजस्तो यो असोज, कात्तिकतिर पुग्ने सम्भावना छ कि छैन?
प्रक्षेपण गर्ने अध्ययन विधिहरुले कोरोना भाइरसको प्रक्षेपणको सही अनुमान लगाउन सकेका छैनन्। प्रक्षेपण गर्दा धेरै अनुमानहरुका आधारमा गर्नुपर्ने हुन्छ र यो संक्रमण विल्कुल नयाँ भएको हुनाले कति अनुमानहरु वास्तविकतासँग मेल नखान सक्छन्। यो संक्रमणले धेरै जनामा सामान्य लक्षण वा विना लक्षण संक्रमित बनाउने भएकोले पनि सही संख्यामा कति जनालाई संक्रमण भयो भनेर पत्ता लगाउन पनि धेरै नै चुनौतीपूर्ण छ। तर सत्य के हो भने जबसम्म खोप वा औषधि पत्ता लाग्दैन वा यो संक्रमण आफैं हराएर जाँदैन तबसम्म कोरोना फैलिरहन्छ। सैद्धान्तिक   रुपमा भन्नुपर्दा यदि हामीले कुनै पनि रोकथामका उपायहरु पालना गरेनौं भने यो रोगको उच्चतम संक्रमितहरु जनसंख्याको करिबकरिब ५० प्रतिशतलाई संक्रमण गराएपछि पुग्छ। यो पनि हामीले एक पटक लागिसकेपछि त्यो व्यक्तिलाई पुनः संक्रमण हुँदैन र सबै जनालाई कोरोना भाइरसको संक्रमण हुन्छ भन्ने अनुमानको आधारमा प्रक्षेपण गर्ने हो। 

वास्तविक जीवनमा हामी कुनै न कुनै रोकथामका उपायहरु अबलम्वन गर्दछौं। प्रभावकारी रोकथामका उपायहरु हामी अबलम्वन गर्ने हो भने प्रतिदिन धेरै संक्रमितहरुको संख्या देख्न ५० प्रतिशत जनसंख्या संक्रमित हुनु पर्दैन।  धेरै देशहरुले यस्ता उपायहरु अपनाएर आफ्नो जनसंख्याको न्यून जनसंख्या संक्रमित हुने बित्तिकै पनि कोरोनालाई नियन्त्रणमा लिन सकेका छन्। न्युजिल्याण्डले त कोरोना भाइरस उसको देशबाट निर्मूल नै भएको घोषणा गर्‍यो। तर पनि हामीले कोरोना भाइरस विरुद्ध ती देशहरुले पाएको सफलता कहिलेसम्म कायम रहन्छ भन्ने यसै भन्न सक्दैनौं र जुन सुकै बेला पनि ती देशहरुमा संक्रमण फेरि फैलिन सक्छ। 

नेपालको सन्दर्भमा यदि हामी असोज कात्तिकतिरबाट बिरामीहरुको संख्या प्रतिदिन निरन्तर घटाउन चाहन्छौं भने अहिलेदेखि नै निकै गम्भीर हुन आवश्यक छ। अहिले नेपालमा कुल जनसंख्याको ०.०४ प्रतिशतजति जनसंख्यामात्रै कोरोना भाइरसको संक्रमित भएको पत्ता लागेको छ। यदि यो संख्या बढेर ०.५ प्रतिशतमात्र पुग्यो भने पनि जम्मा संक्रमितहरुको संख्या सजिलै १,३०,००० हुन आउँछ। यी दुवै प्रतिशतहरु अहिले विश्वमा देखिएको भन्दा निकै कम प्रतिशत हुन्।

उदाहरणको लागि अमेरिकामा हालसम्म ३० लाखभन्दा बढीलाई कोरोना संक्रमण प्रयोगशाला परीक्षणबाट नै पत्ता लागिसकेको छ र अमेरिकामा उच्चतम संक्रमणको विन्दु अझै पुगे जस्तो देखिँदैन। सामान्य हिसाबले पनि ३२ करोड जनसंख्या भएको अमेरिकामा भएको संक्रमणको आधारमा भन्ने हो भने पनि हाम्रोमा २ लाखभन्दा धेरै संक्रमित हुन सक्ने अनुमान जो कसैले पनि गर्न सक्छ। यदि साँच्चिकै हामीले पनि अमेरिकामा जस्तै गरेर दसौं गुना संक्रमितहरुको परीक्षण गर्न सकेको छैनौं भने यो संख्या २० लाख पुग्ने हुन सक्छ। इति भन्दैगर्दा यदि हामीले कोरोना भाइरसको संक्रमणलाई कुल जनसंख्याको ०.५ प्रतिशतमा मात्र रोक्न सक्यौं भने कोरोना भाइरसको संक्रमितहरुको जम्मा संख्या लगभग ६५,००० जति भएपछि उच्चतम विन्दुमा पुग्छ।

अहिलेको प्रतिदिन बिरामीको संख्यालाई हेर्ने हो भने यो संख्या पुग्न कात्तिकको अन्त्यसम्म पनि पुग्ननपर्ने हुन सक्छ। फेरि पनि म दोहोर्‍याउन चाहन्छु, अहिलेका मात्रै प्रयासहरुले जम्मा ०.५ प्रतिशत जनसंख्यामात्र संक्रमित हुन्छन् भन्ने अनुमान वास्तविकतासँग मेल नखान सक्छ। अर्को कुरा ०.५ प्रतिशत जनसंख्यालाई भन्दा अरुलाई संक्रमण हुन नदिनु निकै नै चुनौतीपूर्ण कार्य हो।  

नेपालले कोरोना भाइरस विरुद्ध अहिलेसम्म चालिएका प्रयासहरुलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
कोरोना भाइरस विल्कुल नयाँ संक्रमण भएकाले अझै पनि हामीलाई यस बारेमा धेरै कुरा थाहा छैन। हरेक दिन हामी नयाँ–नयाँ कुराहरु सिकिरहेका छौं। यो नयाँ संक्रमण एक व्यक्तिबाट उच्चदरमा सर्ने गर्दछ, यसको कुनै औषधि र खोप हालसम्म पत्ता लागेको छैन। त्यसैले यसलाई नियन्त्रण गर्न त्यति सजिलो छैन। यसको लागि मुख्य रणनीति भनेको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिने प्रभावकारी उपायहरु अपनाउनु नै हो। संक्रमणको सुरुवाती चरणमा नै बन्दाबन्दी गर्नु, गाउँपालिकाहरुमा क्वारेन्टिन स्थलहरुको निर्माण गर्नु, अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द गर्नु, सिमानाकामा कडाइ गर्नु, पिसिआर परीक्षणको सुरुवात र क्षमताको वृद्धि गर्नु, स्वास्थ्य कार्यकर्ताहरुलाई व्यक्तिगत सुरक्षाका सामग्रीहरु (पिपिई) को व्यवस्थापन गर्नु सरकारले गरेका राम्रा कामहरु हुन्।

चीनको वुहानबाट नेपालीहरु ल्याउँदा खरिपाटीमा स्थापना गरिएको पहिलो क्वारेन्टिनको व्यवस्थापन उत्कृष्ट रहेको थियो। दुर्भाग्य भन्नु पर्छ, अरु क्वारेन्टिन स्थलहरुको मापदण्ड त्यो स्तरको पुर्‍याउन सकिएन। बन्दाबन्दी हामीलाई आवश्यक रणनीति बनाउन र यसको कार्यान्वयन गर्न दिएको समय हामीले कन्ट्याक ट्रेसिङ, क्वारेन्टिन, आइसोलेसन र परीक्षणको लागि सदुपयोग गर्न सकेनौं। विशेषतः सरकारको आफ्नै नागरिकहरुलाई नेपाल प्रवेश गर्न नदिने रणनीति भारतसँगको सिमानामा सफल हुन सकेन र सरकारले पूर्वतयारी बिना नै सीमानाकाहरु खुला गर्दा धेरै नेपाली सीमा नाकाबाट नेपाल भित्रिए। गाउँपालिकाहरुलाई क्वारेन्टिनको जिम्मा विनाप्राविधिक सहयोग दिइयो। ऋलिअलि तयारी गरेका गाउँपालिकाहरुले धेरै व्यक्तिहरु एकै पटक आउँदा क्वारेन्टिनको गुणस्तरलाई कायम गर्न हम्मे–हम्मे परिराखेको छ। धेरै गाउँपालिकाहरुलाई के गर्ने, के नगर्ने पनि स्पष्ट जानकारी नभएको देखिन्छ। यो स्वभाविक पनि हो किनभने गाउँपालिकाहरुसँग दक्ष स्वास्थ्य जनशक्तिको अभाव छ। धेरै गाउँपालिकाहरुमा स्वास्थ्य चौकीभन्दा माथिल्लो निकाय छैनन् जहाँ चिकित्सा सहायक वा अहेबभन्दा माथिको दरबन्दी हुँदैन र स्वास्थ्य चौकीहरुमा बिरामी भर्ना गर्ने गरी पूर्वाधारहरु हुँदैनन्।

सीमित स्रोत र कमजोर जनस्वास्थ्यका पूर्वाधार भएका नेपालजस्ता देशहरुले कोरोना भाइरस विरुद्ध केके कुरा प्राथमिकतामा राखेर काम गर्नुपर्छ?
गएको २० वर्षमा नेपालले सीमित स्रोत र कमजोर स्वास्थ्य प्रणालीका बाबजुद पनि मातृ र बाल स्वास्थ्यमा उल्लेख्य सुधार गरेको छ। नेपालले क्षयरोग, एचआइभी र कुष्ठरोग जस्ता अरु थुप्रै संक्रमित रोगहरुको नियन्त्रण र रोकथाममा धेरै नै प्रगति गरेको छ। कोरोना भाइरसको प्रकृति अरु रोगहरुको भन्दा भिन्न भए पनि नेपाललाई अझै पनि स्थिति थप गम्भीर र जटिल हुन नदिने अवसर एउटा चुनौती बनेर आएको छ। एउटा अवसर त हामीले गुमाइसक्यौं र अब भयानक क्षति हुनबाट बचाउन अहिलेदेखि नै द्रुत गतिमा प्रभावकारी रणनीतिहरु कार्यान्वयन गर्नुपर्ने देखिन्छ। 

संक्रमितहरुको संख्या जति कम भयो त्यति यो संक्रमणलाई काबुमा राख्न सकिन्छ। संख्या बढ्दै गएपछि यो रोगको व्यवस्थापनमा नाटकीय रुपमा स्रोत र साधनमा वृद्धि गर्नुपर्ने हुन्छ। हाम्रोमा कोरोनाको कारणले हुने गम्भीर बिरामीहरुको उपचार गर्ने क्षमता निकै कमजोर छ। यी बिरामीहरुको लागि उपयोगी दक्ष स्वास्थ्यकर्मी र भेन्टिलेटरहरु हाम्रोमा सीमित संख्यामा छन्। यसरी नै संख्या बढ्दै गयो भने हाम्रा अस्पतालहरुले कोरोना भाइरसका बिरामीहरुको व्यवस्थापन गर्न सक्दैनन्। त्यसैले हाम्रो मुख्य जोड जनस्वास्थ्यका विधिहरु प्रयोग गरेर रोगको फैलने संक्रमणलाई जतिसक्दो कम गर्ने नै हुनुपर्छ। यो भनेको एउटा संक्रमित व्यक्तिले अर्को स्वस्थ व्यक्तिलाई सार्ने माध्यमलाई रोक्नु हो। यसको लागि संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने, सम्भावित संक्रमितहरुलाई गुणस्तरीय क्वारेन्टिनमा व्यवस्थित रुपमा राख्ने, संक्रमितहरुलाई आइसोलेसनमा राख्ने र उच्च जोखिम भएकाहरुको पिसिआर टेस्ट प्रभावकारी र द्रुत रुपमा गर्नु नै हो। विकसित देशहरुको भन्दा हाम्रा आफ्नै चुनौतीहरु छन्, तर पनि यी विधिहरु अन्तरिक्ष विज्ञान जस्तो धनी देशहरुले मात्र गर्न सक्ने विधिहरु होइनन्। दृढ इच्छाशक्ति भयो र हामी सबै एकजुट भएर लाग्यौं भने सम्भावित क्षतिलाई धेरै हदसम्म कम गर्न सक्छौं।

भारतमा संक्रमितको संख्या बढ्दै गइरहेको छ। त्यहाँबाट हजारौं नेपाली फर्किने क्रम जारी छ। यस्तो अवस्थामा नेपालले कसरी संक्रमण दरलाई न्यूनीकरण गर्न सक्छ?
नेपालले केही महिना कोरोना भाइरसको रोकथाममा निकै राम्रो गरिरहेको थियो। यसको मूल कारण बन्दाबन्दीको असर र नेपाल–भारत सीमामा गरिएको कडाइ रहेको थियो। सरकारले सीमानाकालाई राम्रोसँग व्यवस्थित गर्न नसक्नु नै अहिले ७७ जिल्लामा कोरोना भाइरस फैलनुको एउटा प्रमुख कारण हो। यदि हामीले सीमानाकामा नै भारतबाट आउनेहरुलाई व्यवस्थित रुपमा क्वारेन्टिनमा राखेर मात्र उनीहरुको गाउँमा पठाउन सकेको भए अहिलेको भन्दा संक्रमितहरुको संख्या धेरै कम हुन्थ्यो। तर त्यो हुन सकेन। अहिले भारतबाट आउनेहरु भिडभाड गरेर सीमानाकाबाट आफ्नो गाउँपालिकासम्म जान बाध्य छन्।

धेरैजसोले महँगो भाडादर आफैंले तिरेर उच्च जोखिमका साथ यात्रा गरिरहेका छन्। अपवादमा सीमित स्रोत र साधनका बाबजुद केही गाउँपालिकाहरुले राम्रो गरिराखेका भए पनि धेरै गाउँपालिकाका क्वारेन्टिन स्थलहरुमा न्यूनतम मापदण्ड पनि पूरा गरिएका छैनन्। जसले गर्दा क्वारेन्टिन स्थलहरुमा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेका उदाहरणहरु हामीले दिनहुँ सुन्ने गरेका छौं। जबसम्म हामीले सीमानाकाबाट नेपाल छिर्नेहरुको सही तरिकाले व्यवस्थापन गर्न सक्दैनौं तबसम्म भारतबाट आउने सम्भावित संक्रमितहरुले अरु व्यक्तिहरुलाई संक्रमण सारिराख्छन्। यही अवस्था रहिराख्यो भने अबका दिनमा संक्रमण फैलाउनेहरु नेपालभित्र भएका नै बढी हुने सम्भावना देखिन्छ। केही ढिला भए पनि अझै पनि सीमानाकामा भएका होल्डिङ सेन्टर र क्वारेन्टिन स्थलहरुलाई सुधार गरेर गाउँपालिकाहरुमा जानु अगाडि त्यहीं राख्नुपर्ने आवश्यकता देखिन्छ।

गाउँपालिकाहरुमा भएका क्वारेन्टिन स्थलहरुको मात्रात्मक र गुणात्मक क्षमता पनि बढाउन जरुरी छ। सीमानाकादेखि गाउँपालिकासम्म जाने यातायात व्यवस्थामा सुधार गर्नुपर्ने देखिन्छ। अहिले भएको कन्ट्याक टे«सिङको क्षमतालाई २४ घण्टा उपलब्ध हुने गरी नै बढाउनुपर्ने देखिन्छ। यसको अलावा समुदाय र व्यक्तिको सहयोग अपरिहार्य हुन्छ। आवश्यक सुरक्षाका सावधानीहरु अपनाउने र आफूलाई सकेसम्म संक्रमण हुन नदिन नागरिकले पनि आफ्नो तर्फबाट भूमिका खेल्नु जरुरी छ। साथै समुदायमा जनचेतनाको कमी देखिन्छ र यस संक्रमणको रोकथामलाई अभियानको रुपमा नै सञ्चालन गर्नुपर्ने देखिन्छ। आवश्यक पर्‍यो  भने फेरि बन्दाबन्दी गर्नको लागि हामी मानसिक र आर्थिक रुपमा तयारी अवस्थामा बसिराख्नुपर्छ।  

दक्षिण एसियामा कोरोना भाइरसको अवस्था कस्तो देख्नुहुन्छ? कुन देशले अरुको तुलनामा राम्रो गरिराखेको छ र सिक्नु पर्ने कुराहरु केके हुन्?
हामी अहिले पनि कोरोना भाइरसको सुरुवाती चरणमा नै छौं। दक्षिण एसियाका देशहरु अहिले पनि पिसिआर टेस्टको क्षमता बढाउन संघर्ष गरिराखेका छन्। सबै देशहरुमा गम्भीर बिरामीको उपचारको लागि सीमित क्षमता रहेको छ। अहिले नै दक्षिण एसियामा कोरोनाको मृत्युदर कम छ भनेर ढुक्क हुने अवस्था छैन। अहिलेसम्म हेर्दा भुटान, श्रीलंका र माल्दिभ्सले राम्रो गरिरहेको देखिन्छ। भारतकै पनि केरला र सिक्किमजस्ता केही राज्यहरुको व्यवस्थापन राम्रो देखिन्छ तर भारतमा संक्रमणको दर द्रुत रुपमा फैलिएकाले कहिलेसम्म ती राज्यहरुलाई यही अवस्था कायम राख्न सक्छन् अहिले नै यसै भन्न सकिन्नँ।

जुन देशहरुले कोरोनाको विरुद्ध राम्रो गरिरहेका छन् ती देशहरुको जनस्वास्थ्य प्रणाली कोरोना आउनु अगावै पनि राम्रो थियो। जस्तो जनस्वास्थ्यमा प्रतिव्यक्ति प्रतिवर्ष गरिने खर्च माल्दिभ्समा ९३० अमेरिकी डलर छ भने नेपालमा केवल ६५ अमेरिकी डलर। भुटान र श्रीलंकाको पनि प्रतिव्यक्ति जनस्वास्थ्यमा खर्च गरिने रकम नेपाल, भारत, पाकिस्तान र बंगलादेशको भन्दा धेरै छ। विश्वका अधिकांश देशहरुमा द्रुत रुपमा फैलिँदा पनि दक्षिण एसियामा कोरोनाको संक्रमण केही पछि देखापरेको हो। तर दुर्भाग्य नै भनौं नेपाल, भारत, पाकिस्तान र अफगानिस्तानले थोरै संख्या हुँदानै कोरोना भाइरसको नियन्त्रण गर्ने पहिलो सुनौलो अवसर गुमाइसकेका छन्। दक्षिण एसियामा पनि धेरै जनाको ज्यान जाने जोखिम बढेर गएको छ। त्यसैले सबै देशहरुले कसरी हुन्छ क्षतिलाई न्यूनीकरण गर्न आफ्ना रणनीतिहरु कार्यान्वयन गर्नुपर्ने देखिन्छ। 

पश्चिमी देशहरुमा कोरोना भाइरसको दोस्रो तरंग (सेकेन्ड वेभ) को सम्भावना कत्तिको छ? के यो दक्षिण एसियाले पनि चासो राख्नुपर्ने विषय हो?
कोरोना भाइरसको पहिलो वेभ अहिले पनि धेरै पश्चिमा देशहरुमा सकिएको छैन। अमेरिकामा केही दिनअघि मात्र अहिलेसम्मकै उच्च संख्यामा संक्रमितहरु भेटिए। यो नै उच्च हो कि योभन्दा बढी भएको दिन पनि आउँछ, हेर्न बाँकी नै छ। खोप, औषधि पत्ता नलागिन्जेल वा यो भाइरस आफैं निष्क्रिय भएर नहराएसम्म यसका धेरै तरंग आइरहने उच्च जोखिम हुन्छ। जबसम्म यो भाइरस निर्मूल हुँदैन वा सबै जनसंख्याले यो भाइरस विरुद्ध प्रतिरक्षा प्रणालीको विकास गर्न सक्दैन, अहिले कोरोना नियन्त्रणमा अब्बल देखिएका लगायत सबै देशहरु कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा छन् र रहिरहन्छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने