विचार/ब्लग

कसरी बुझाउने स्तनपानको महत्व?

प्रमिला कार्की 

'स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार' भन्ने मूल नाराका साथ प्रत्येक वर्ष झैँ यो वर्ष पनि विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। अगस्ट १ देखि ७ गतेसम्म (१७-२३ साउन, २०७७) स्तनपान सप्ताह देशव्यापी रुपमा विविध जनचेतनामूलक  कार्यक्रमका साथ चलिरहेको छ

स्तनपान  सप्ताह सन् १९९२ बाट सुरुवात भएको हो। हाल यो सप्ताह नेपाल लगाएत विश्वका  अन्य १२० देशमा युनिसेफ, विश्व स्वास्थ्य संगठन, राष्ट्रिय र अन्तर्रास्ष्ट्रिय संघसंस्थाहरुको सहकार्यमा  मनाउने गरिन्छ। 

स्तनपान प्रत्येक नवजात शिशुको नैसर्गिक अधिकार हो। विश्व स्वास्थ्य संगठन र युनिसेफको निर्देशन अनुसार स्तनपान भन्नाले बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्ने र ६ महिनासम्म अनिवार्य रुपमा आमाको मात्र दूध खुवाउनुपर्ने भनिएको छ। ६ महिना मुनिका शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पोषण आमाको दूधबाट प्राप्त हुने हुँदा बच्चालाई पानी समेत खुवाउनु पर्दैन। बच्चालाई ६ महिना कटेपछि मात्र सर्वोत्तम पिठो, लिटो, जाउलो जस्ता अतिरिक्त खाना खुवाउँदै, बच्चा  दुई वर्ष नपुगुन्जेलसम्म स्तनपानलाई निरन्तरता दिनुपर्छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार हाल ४० प्रतिशत शिशुलाई मात्र ६ महिनासम्म आमाको दूध मात्र खुवाएको पाइएको  छ। नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन सकेमा प्रत्येक वर्ष ८,२३,००० बच्चाको जीवन जोगाउन सकिने प्रतिवेदनले देखाएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा जन्मेको १ घण्टाभित्रै स्तनपान गर्ने शिशुको संख्या ५५ प्रतिशत रहेको छ। उक्त सर्वेक्षण अनुसार जन्मेको १ घण्टामा स्तनपान गर्नेमा हिमाली क्षेत्रमा  जन्मिएका शिशुहरु  (६१ प्रतिशत) र प्रदेश नम्बर ७ (७१ प्रतिशत) अग्रस्थानमा छन् भने सबैभन्दा कम तराई क्षेत्र (५२ प्रतिशत) र प्रदेश नम्बर २ (४५ प्रतिशत) रहेको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले तयार पारेको तथ्यांक अनुसार ६ महिनासम्म आमाको दूध मात्र  खुवाएको दर २००६ बाट २०११ सम्म ५३ प्रतिशत बाट ७० प्रतिशतले वृद्धि भए तापनि हाल २०१६ मा आइपुग्दा उक्त  दर घटेर ६६ प्रतिशत भएको छ।

हाल विश्वमा कोरोना संक्रमण दिनानुदिन  बढ्दो छ। अहिलेसम्मको खोज अनुसन्धानमा कोरोना संक्रमित आमाबाट स्तनपान गराउँदा कोरोना भाइरस सर्ने ठोस  प्रमाण फेला पर्न सकेको छैन। यसकारण  विश्व  स्वास्थ्य संगठनले जुन २३, २०२० मा प्रकाशित गरेको सूचनामा सम्पूर्ण कोरोना आशंका  गरिएका र कोरोना संक्रमित आमाहरुमा  स्तनपानलाई  निरन्तरता दिन निर्देशन गरिएको छ।  

विश्वव्यापी स्तनपान मञ्चले (जसले स्तनपान नीति र कार्यक्रमको प्रगतिको निगरानी राख्छ) २०१८ मा सार्वजनिक गरेको स्तनपान स्कोरकोडमा नेपाल ३४औं स्थानमा परेको छ। 

आमाको दूध शिशुको लागि सबैभन्दा पोसिलो र राम्रो आहार हो। स्तनपान गराउनाले आमा र शिशु दुवैको स्वास्थ्यमा फाइदा पुर्‍याउँछ।  सुत्केरी भएपछि  जति छिटो स्तनपान गराउन  सक्यो त्यति नै छिटो पाठेघरबाट साल बाहिर निस्कन सहयोग  गर्छ। त्यसैगरी स्तनपान गराउनाले बच्चा जन्माएपछि हुने रक्तश्रावबाट समेत जोगाउँछ। स्तनपान गराउने आमाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको खतरा समेत कम हुने गर्छ।

बच्चा जन्मेको ६ महिनासम्म नियमित रुपमा स्तनपान गराउँदा तत्कालै गर्भ बस्नबाट समेत जोगाउँछ। महिलामा सुत्केरी भएपछि देखिने मानसिक समस्या डिप्रेसनलाई  समेत स्तनपानले जोगाउँछ। बच्चा जन्मेपछि आउने पहिलो बाक्लो र पहेंलो बिगौती दूधले बच्चामा खोपको काम गर्छ। बिगौती दूधमा प्रचुर मात्रामा हुने भिटामिन 'ए' र रोग  प्रतिरोधात्मक तत्वले बच्चालाई स्वासप्रश्वास सम्बन्धी समस्या र झाडापखालाबाट बचाउँछ।

स्तनपानले  आमा र बच्चाको आत्मीयतालाई प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ।  आर्थिक र स्वास्थ्यको  हिसाबले  हेर्दा पनि आमाको दूध फर्मुला मिल्क र पाउडर  दूधभन्दा सस्तो र राम्रो छ। आमाको दूधमा बच्चाको शारीरिक, मानसिक र  बौद्धिक विकासको लागि आवश्यक सम्पूर्ण तत्व  हुन्छ।   

स्तानपान वृद्धिदर बढाउनकf लागि सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायको समेत महत्त्वपूर्ण भूमिका छ। यसका लागि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनको लागि उत्साहित गराउन सरकारले आवश्यक नीति-नियम र कानुनलाई कडाइ गर्दै सोको पालना भए/नभएको मूल्यांकन गरेर स्तनपान सम्बन्धी कार्यक्रमलाई अगाडि लैजानुपर्ने देखिन्छ।

नेपालमा हाल मान्यताप्राप्त बालमैत्री अस्पतालको संख्या ७ मात्र रहेको हुँदा त्यसको संख्या बढाएर देशैभरिका स्वास्थ्य संस्थाहरुमा बालमैत्री अस्पतालको नीति लागू गर्न आवश्यक छ।

हिजोआज बजारमा फर्मुला मिल्क, पाउडर दूधहरु पाइने हुँदा सोको प्रयोगलाई  निरुत्साहित गराउन जनचेतना फैलाउन जरुरी देखिन्छ। आमाको दूधको सट्टा प्रयोग हुने सामग्रीहरुको बिक्री-वितरणलाई कडाइका साथ लैजान वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ तथा नियमवाली २०५१ लाई अझै कडाइका साथ लैजान जरुरी  देखिन्छ।

सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा सही तरिकाले स्तनपान गराउने तरिका, स्तनपानको  बच्चा र आमामा हुने फाइदाको बारेमा जानकारी  गराएर, ६ महिनासम्म आमाको दूध मात्र खुवाउन प्रोत्साहन गराउन सक्नुपर्छ। समुदायमा समेत महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर आमा र सम्पूर्ण परिवारलाई  स्तनपानका बारेमा चेतना फैलाउन सकिन्छ। कामकाजी महिलाहरुलाई ६ महिनासम्म तलबी बिदा अथवा  काम गर्ने स्थानमा स्तनपानको लागि समय र क्षेत्र छुट्याएर सहयोग गर्न सकिन्छ। यसको लागि निजी क्षेत्र र कार्यालयको सहयोग अपरिहार्य छ।  

आमाको दूध बच्चाको लागि अमृत समान भए तापनि हिजोआज स्तनपान गराउने आमाको संख्या घट्दो छ। आजका बच्चा भोलिका देश हाँक्ने जनशक्ति हुन्। उनीहरुको सुस्वास्थ्यको लागि सम्बन्धित निकायको आजैबाट ध्यान दिन जरुरी छ। स्तनपान सम्बन्धी हाम्रो समाजमा रहेका कुरीतिहरुलाई हटाएर, महिलालाई स्तनपान गराउन सहज वातावरण निर्माण गराउन आवश्यक छ। मुख्यत: यसको  लागि सरकार, घरपरिवार, दक्ष स्वास्थ्य जनशक्ति र समुदायको भूमिका आवश्यक देखिन्छ।  
                                     
(कार्की बिएससी नर्सिङ अध्ययनरत छिन्।)
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने