काठमाडौं- नेपाल चिकित्सक संघ र होटल व्यवसायी महासंघ नेपालबीच ४ बुँदे सम्झौता भएको छ।
दुई संस्थाबीच भएको संयुक्त बैठकले चिकित्सकहरुलाई क्वारेन्टाइन र आइसोलेसन व्यवस्था गर्ने विषयमा सम्झौता गर्ने सहमति सम्झौता भएको हो। संघका अध्यक्ष डा लोचन कार्की र महासंघका अध्यक्ष हिराध्वज शाहले उक्त सम्झौता गरेका हुन्।
भदौ १८ गते भएको उक्त सम्झौतामा चिकित्सकहरुलाई आइसोलेसन र क्वारेन्टाइनमा राखे वापत होटलले पाउने भुक्तानी स्वय चिकित्सक वा निजले काम गर्ने स्वास्थ्य संस्थाले चेकआउन हुनुपूर्व सम्पूर्ण भुक्तानी गर्नुपर्ने, होटलहरुको शुल्क र अन्य आवश्यक जानकारीका लागि होटल व्यवसायी महासंघ नेपालका प्रतिनिधि तथा नेपाल चिकित्सक संघका प्रतिनिधिलाई सम्पर्क गर्नुपर्ने उल्लेख छ।
साथै, उपत्यका बाहिरका लागि नेपाल चिकित्सक संघका प्रादेशिक संयोजकहरु र होटल व्यवसायी महासंघ नेपालका तर्फबाट प्रादेशिक प्रमुखहरुको समन्वयमा आआफ्नो मातहतका प्रदेश तथा जिल्ला शाखाहरुबीच आवश्यक सहकार्य गर्न जिम्मेवारी तोकिएको चिकित्सक संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
काठमाडौं उपत्यकाका साथै केन्द्रीय तहमा नेपाल चिकित्सक संघको तर्फबाट महासचिव डा बद्री रिजाल (९८५११४८६९९) र होटल होटल व्यवसायी महासंघका बागमती प्रदेशका महासचिव दामोदर नेपाल (९८५११०७१९८) लाई सम्पर्क गर्न समेत संघले सूचित गरेको छ।