काठमाडौं– कोरोना भाइरस संक्रमणको अझैसम्म उपचार, खोप वा भ्याक्सिन पत्ता लागिसकेको छैन। त्यसका लागि विभिन्न खोप तथा औषधिको क्लिनिकल परीक्षण भने भइरहेको छ।
नेपालमा पनि भदौ २४ गतेसम्म ४८ हजार १ सय ३६ जनामा कोरोना संक्रमण भइसकेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा हालसम्म ३२ हजार ९ सय ६४ जना निको भइसकेका छन् भने ३०६ जना संक्रमितको मृत्यु भइसकेको छ।
कोरोना संक्रमित बढेसँगै नेपालले विदेशमा समेत क्लिनिकल ट्रायलका रुपमा रहेको कन्भाल्सेन्ट प्लाज्मा थेरापी विधि पनि अपनाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २ महिनाको अवधिमा करिब २ सय संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्ने भनी यो परीक्षण सुरु गरेको हो।
पहिलो प्लाज्मा विधिबाट बिराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रबहादुर कार्कीलाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो। गत साउन १७ गते उनको यो विधिबाट उपचार गरिएको थियो।
डा राजन शाहका अनुसार प्लाज्मा रगतको पारदर्शी पराल रङ्गको तरल भाग हो, जुन रातो र सेतो रक्त कोषिका तथा प्लेटलेट हटाएपछि हुने भाग हो। यसले मानव रक्तको ५५ प्रतिशत भाग ओगटेको हुन्छ। यसमा एन्टीबडीहरु हुन्छन्, जसले रोग विरुद्ध लड्न सहयोग गर्छ।
कन्भालिसेन्ट प्लाज्मा भनेको रोग लागेर निको भइसकेको व्यक्तिबाट निकालिएको प्लाज्मा हो। यसमा एन्टीबडिजको मात्रा धेरै हुन्छ, जसलाई गम्भिर संक्रमणको उपचार वा रोगथामका लागि प्रयोग गरिन्छ। जुन १०० वर्षभन्दा पहिलेदेखि प्रयोगमा आएको उपचार विधि हो। खोपहरुको आविष्कार हुनुभन्दा पहिले यो विधि डिप्थेरिया, पोलियो, दादुरा जस्ता रोगहरुमा सफलता पूर्वक प्रयोग गरिएको थियो।
सन् १९१८ मा स्पेनिस फ्लू महामारी र हाल सालै सार्स र इबोलामा पनि यो थेरापीले मद्दत पुर्या एको थियो।
अहिले कोरोना संक्रमितको उपचारमा पनि यो विधि प्रयोग भइरहेको छ। पहिले संक्रमित भएर निको भएका व्यक्तिबाट झिकिएको रगतबाट प्लाज्मा निकाले कोरोना संक्रमित व्यक्तिलाई उक्त प्लाज्मा दिन नेपालमा पनि सुरु भइसकेको छ।
क्लिनिक परीक्षण भइरहेकाले नेपालमा हालसम्म करिब ५५ जना संक्रमितको यो विधिबाट उपचार भइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ।
पछिल्लो समय प्लाज्मा थेरापीलाई मानिसहरुले कोरोनाको अन्तिम उपचारकै रुपमा बुझ्न थालेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन्।
यो उपचार विधि अहिले पनि क्लिनिकल परीक्षणका क्रममा रहेकाले र विश्वभर अझै कोरोना उपचार पत्ता नलागेको भन्दै चिकित्सकले त्यसरी नबुझ्न भनिरहेका छन्।
अहिलेसम्म यसले सकारात्मक नतिजा दिइरहेको नेपालमा पहिलो पटक प्लाज्मा तयार पारेका ग्रान्डी अस्पतालमा कार्यरत ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपाल बताउँछन्।
प्लाज्मा दान गर्न संक्रमित भएको २८ दिनपछि वा संक्रमित भई पिसिआर रिपोर्ट नेगेटिभ आएको १४ दिनपछि सकिने डा नेपाल बताउँछन्। प्लाज्मा दान गर्ने समयमा कुनै पनि प्रकारका लक्षण हुनुहुँदैन। सामान्य रुघाखोकी वा ज्वरो पनि आएको हुन नहुने उनको भनाइ छ।
‘यो क्लिनिकल परीक्षण मात्र हो, यसलाई कोरोनाको उपचारकै रुपमा भने लिइनु हुँदैन। तर जति मात्रा अहिले यो विधिबाट उपचार हुनुपर्ने हो, त्यो भएको छैन' डा नेपालले भने।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका हेमाटोलोजिस्ट डा निरजकुमार सिंह पनि कोभिड–१९ नेगेटिभ आएको १४ दिनपछि प्लाज्मा दान गर्न सकिने बताउँछन्।
उनले निको भएको व्यक्तिको एन्टिबडी उसको शरीरमा निश्चित समयसम्म रहने र त्यसपछि कम हुँदै जाने भएकाले कोभिड भई नेगेटिभ रिपोर्ट आएको १४ दिनको समयमा प्लाज्मा दिन सकिने बताए। एन्टिबडी निश्चित समयभित्र दिइने भएकोले यसलाई कन्भालिसेन्ट प्लाज्मा थेरापी भनिने उनले बताए।
उनी प्लाज्माको माध्यमबाट निको भएको मानिसको शरीरमा भएको एन्टिबडी अर्को कोभिडको गम्भीर बिरामीलाई दिइने बताउँछन्।
‘कोभिड–१९ भएको व्यक्ति, जसलाई कोभिडका लक्षण छन्, उसलाई आइसियुको उपचार चाहिएको छ। शरीरमा अक्सिजनको मात्रा कम भएको छ, त्यस्तो व्यक्तिलाई कन्भालिसेन्ट प्लाज्मा थेरापी दिइन्छ’, उनले भने।
उनी प्लाज्मा दान गर्ने व्यक्तिको इम्युटिनी पावर अर्थात रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ भन्ने तथ्य अझै फेला नपरेको बताउँछन्।
‘कोभिड–१९ भएको ३ महिनाअघि दान गर्दा इम्युनिटी पावर कम हुन्छ भन्ने हुँदैन। किनभने अझै यसबारे अध्ययनले केही तथ्य देखाएको छैन। प्लाज्मा मात्रै निकाल्न त हरेक तीन दिनमा रगत दिन मिल्छ। रगत दान गर्ने समय पो ३ महिना हो,’ उनले भने।
अर्काे कुरा, प्लाज्मा दान गरेपछि फेरि कोभिड पोजेटिभ हुन्छ कि हुँदैन भन्नेबारे पनि कुनै अध्ययनले देखाएको छैन। तर अहिलेसम्म रगतका माध्यमबाट कोभिड सर्दैन भन्ने तथ्य हालसम्मका अध्ययनले देखाएका छन्।
यसका साथै प्लाज्मा दाता कोरोना संक्रमित भएको पुष्टि आरटीपिसिआर विधिबाटै भएको हुनुपर्छ। दाता र प्लाज्मा लिने व्यक्तिको रगत समूह पनि मिलेको हुनुपर्छ।
प्लाज्मा दान गर्न करिब ५ सयभन्दा बढी निको भएका मानिसलाई फोन गरिसकेको बताउछन् डा विपिन नेपाल। फोन गर्ने, डोनर खोज्ने, बिरामी खोज्ने सबै काम आफूले गरिरहेको डा नेपालले जानकारी दिए।
‘प्लाज्मा थेरापीको नेतृत्व नेपाल रेडक्रसले लिनुपर्ने थियो तर ५० वर्षको इतिहास बोकेको रेडक्रसमा एक जना पनि ब्लड ट्रान्सफ्युजन विशेषज्ञ छैन। यही समयमा प्लाज्माको महत्व बुझेर व्यवस्थित बनाइनुपर्ने हो’ डा नेपालले भने।
नेपालमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्न स्वीकृति पाएका अस्पतालमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, पाटन एकेडेमी अफ हेल्थ साइन्स, शुक्रराज ट्रपिकल अस्पताल छन्।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, कोशी अस्पताल, नारायणी अस्पताल, भक्तपुर अस्पताल, भेरी अस्पताल र सेती अस्पतालले पनि यो विधिबाट उपचार गर्ने स्वीकृती पाएका छन्। निजी तर्फ भने नेपाल मेडिसिटी, ग्रान्डी इन्टरनेसनल अस्पताल र ह्याम्स अस्पतालले स्वीकृति पाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जानकारी दिएको छ।