स्कुल खुल्दैछ भन्दा विद्यार्थी मान्न थाल्छ अचम्म
कैयौं विद्यार्थीले भुले कि भन्न कदेखि ज्ञसम्म
कैयौँ केटाकेटी घरमै थालेका छन् रमाउन
कतै नबिर्सून् यिनीहरुले कलम समाउन
नभनून् विद्यार्थी दुईमा दुई जोड्दा हुन्छ पाँच
आगे नतर्सून् सुनेर गृहकार्य अनि जाँच
परेको छैन विद्यार्थीले किताबको भारी बोक्न
छैन कुनै बाध्यता यिनीहरुलाई पाठ घोक्न
दुःखी छन् कोही साथीहरूसँग नहुँदा सम्पर्क
कोही स्कुल जान नपर्दा मानिरहेका छन् हर्क
स्मरणमा पनि छैनन् होला दूर रहेका सखा
यतिकैमा नबितून् कैयौं हिउँद अनि बर्खा
कतिलाई त यादै नहोला स्कुलको ठेगाना
नपल्टिएको धेरै भइसक्यो किताबको पाना
नबिग्रियोस् यिनीहरुको स्वर्ण भविष्यको नक्सा
घर बन्न सक्छ ज्ञानको भण्डार छिपेको बक्सा
ल्याउन सकेनन् छुट्टै पठनपाठनको विधि
शिक्षाबाट नै वञ्चित हुन लागिसक्यो यो पिँढी
कोही कहिले स्कुल खुल्छ भनी सोध्छ सवाल
को राख्ने कलिला मस्तिष्कमा पर्ने ढपको ख्याल
घरमै सिकाऔँ यिनीहरुलाई राम्रो संस्कार
पढ्नु भनेको मात्र हैन ल्याउनु जिपिए चार
बन्दाबन्दीले शैक्षिक अवस्था नबनोस् है जीर्ण
नत्र केटाकेटी जीवनमा हुनेछन् अनुत्तीर्ण
दिने गरौं है केटाकेटीलाई राम्रा उपदेश
शून्यसरी शिक्षामा नबिलाओस् ज्ञान जो छ शेष
आफ्नै घरमा जान्न सक्छन् विद्यार्थीले पाककला
असल व्यवहार सिक्न सदा दिऔं है हौसला
नैतिकता कसैगरी यिनमा नहोस् पलायन
सिकून् विद्यार्थीले चाहे खेलकुद होस् या गायन
उक्साऔँ यिनीहरुलाई सिक्नलाई चित्रकृति
प्रेरित होऊन् नि उत्तम सिपको गर्न आवृत्ति
यही नै बेला हो सिकाउने लोप भएका सिप
यही मौका हो विद्यार्थीलाई राख्ने आफ्नो समीप
अभ्यास गर्न लगाऔँ दिनहुँ सामान्य हिसाब
जाँगर बढाऔं पढ्नका लागि अनेकौं किताब
शिक्षाको माध्यम बन्छ है रेडियो टेलिभिजन
जे गरेर भए पनि उमारौँ शिक्षाको बिजन
केटाकेटीले सम्झिरहने बनाऔँ व्याकरण
सामाजिक मूल्य मान्यतालाई गराऔँ वरण
साथ दिऔं केटाकेटीलाई बन्नलाई निरोगी
बाँडौं मिलेर यिनमा ज्ञान जीवनोपयोगी
भर पर्छ हामीमा नै कसरी घर बन्छ कक्षा
सिकाऔँ कसरी रोगबाट गर्नुपर्छ सुरक्षा
सरकारले दिन सकेन शिक्षा आधारभूत
अरु क्षेत्रमा झैँ शिक्षामा पनि सरकार भो च्युत
न भयो अनलाइन कक्षाको उचित व्यवस्था
कहिले खुल्ने हो त अन्योलमै छ शैक्षिक संस्था
कैलेसम्म बज्ने हो अनलाइन कक्षाको घण्टी
सरकार भन्छ यसैको पैसा लिन खनखन्ती
विद्यार्थीको भविष्यमाथि खेलबाड छैन स्वीकार्य
भावी जीवन सुनिश्चित गर्नु छ अपरिहार्य
सरकारी निजी संस्थाबीच युद्ध छ घनघोर
को सम्हाल्ने उचित ढंगले शिक्षाको बागडोर
नेपालमा पनि सक्रिय छन् है शिक्षाका गिरोह
को मूल्यांकन गर्ने शिक्षाको आरोह-अवरोह
बन्दाबन्दी नहोस् ज्ञानको सागर निल्ने बाडव
को बन्ने शैक्षिक संस्थाको पालनकर्ता माधव
कोरोनाले गर्दा विश्वनै बनेको छ है आक्रान्त
बन्दाबन्दीको कारण शिक्षाको नहोस् है देहान्त