डा लोकेन्द्र अवस्थी
आँखामा हुने विभिन्न समस्यामध्ये एउटा हो 'स्टाइ', जसलाई बोलीचालीको भाषामा 'आनो' भन्ने गरिन्छ। आनो एक प्रकारको खटिरा जस्तै हो जुन परेलाको रौं उम्रिने ठाउँको प्वालमा अर्थात् परेलाको जरो र परेलाको तेल ग्रन्थीमा 'स्टेफाइलोकोकस' ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ। संक्रमण भइसकेपछी यसमा पिप जम्मा हुन्छ र त्यसैलाई हामी आनो आएको भन्ने गर्छौं। यो आँखाको परेलाभन्दा भित्र वा बाहिर र तल्लो वा मथिल्लो जुनसुकै परेलामा पनि आउन सक्छ।
धेरैजसोलाई थाहा होला, पहिलेपहिले आँखामा आनो आयो भने बुढापाकाले यो त धेरै झुटो बोलेर आएको हो भन्ने गर्थे। तर यो भनाइमा कुनै सत्यता छैन।
फोहोर हातले आँखा चलाउँदा वा माड्दा, आँखा धेरै मिचिरहने बानीले, आनो भएको व्यक्तिले प्रयोग गरेको रुमाल वा तौलिया अरूले प्रयोग गर्दा, फोहर पानीले आँखा धुँदा यो समस्या उत्पन्न हुने गर्छ। त्यसैगरी परेलामा चाया पर्ने समस्या छ भने पनि आनो हुने गर्छ।
आनो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुनसक्छ तर प्रायःजसो बालबालिकामा आनो बढी देखिन्छ। आनो एकपटक भइसकेपछि पनि फेरिफेरि आउन सक्छ र सामान्यतया यसले आँखाको दृष्टिलाई भने असर गर्दैन।
लक्षण
- आँखा चिलाइरहने र माड्न मन लाग्ने
- आँखाको परेला भारी हुने
- आँखाको परेला सुन्निने
- खटिरा आउने र रातो हुने
- आँखाबाट आँसु बगिरहने वा चिप्रा आउने
- घाम अथवा प्रकासमा हेर्न अप्ठ्यारो हुने
उपचार
सामान्यतया आनो केही समयमा आफैँ निको भएर जान्छ तर बारम्बार आनो हुने सम्यस्या छ भने चिकित्सकको सल्लाहमा एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ र दुखाइ धेरै भएमा दुखाइ कम गर्ने औषधिको प्रायेग गर्न सकिन्छ।
आनो आएपछि घरमै गर्न सकिने उपचार जस्तै: सफा नरम कपडालाई मनतातो पानीमा भिजाएर दिनमा कम्तीमा २-३ पटक आँखा सेक्ने। यसरी सेक्दा पीडा कम हुने, आँखाको वरिपरि सफा हुने र बन्द रहेका ग्रन्थीका प्वालहरु खुल्न मद्दत पुग्छ। आनो आएको आखाँलाई सफा राख्नुपर्छ र मिच्नु हुँदैन। आनो आएको बेला आँखाको मेकअप गर्नु हुँदैन। त्यसैगरी चिकित्सको सल्लाहबिना बजारमा पाउने औषधिको प्रयोग पनि गर्नु हुँदैन।
यसरी घरेलु विधिबाट आँखाको हेरचाह गर्दा पनि सन्चो भएन भने आखाँ रोग विशेषज्ञको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ।
वृद्धावस्थाका मानिसमा आनोको समस्या देखिए मधुमेहको जाँच गराउनुपर्छ र दृष्टिमा समस्या भए समयमै परीक्षण गरेर चस्मा लगाउनुपर्छ।
तर, आँखा धेरै सुन्नियो, धेरै दुख्यो, पिप या रगत निस्किन थाल्यो, ज्वरो आयो भने घरेलु विधि अपनाउनुभन्दा तुरुन्त स्वास्थ्य संस्थामा गएर जँचाउनु बुद्धिमानी हुन्छ। घरमा आफैंले आनो फुटाएर पिप निकाल्ने, आनोमा लिसोको प्रयोग गर्ने आदि सकभर नगर्ने।
आनोको रोकथाम
- प्राय: बालबालिकामा यो समस्या बढी देखिने हुँदा उनीहरूको सरसफाइमा ध्यान दिनुपर्छ। धुलो, धुवाँ र फोहरबाट आँखालाई बचाउनुपर्छ। आँखा सधैँ सफा पानीले धुनुपर्छ।
- आँखा चिलाउँदा मिच्नु हुँदैन।
- आँखालाई असर पर्ने गरी मेकअपका सामान प्रयोग गर्नु हुँदैन।
- कन्ट्याक्ट लेन्स प्रयोग गर्नेले लेन्स लगाउँदा र निकाल्दा हात राम्ररी धुनुपर्छ।
समयमै उपचार गरिएन भने आनो फुटेर थप संक्रमण हुन सक्ने र आँखाको दृष्टिमा पनि समस्या उत्पन्न हुनसक्ने भएकाले बेलैमा चिकित्सकको परामर्श लिई उचित औषधिको प्रयोग अत्यन्तै आवश्यक हुन्छ। आँखा एक संवेदनशील अङ्ग भएका कारण चिकित्सकको सल्लाहबिना आँखामा कुनै पनि औषधि प्रयोग गर्नु हुँदैन।
(डा अवस्थी बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छन्।)