काठमाडौं– गत चैत महिनादेखि नै कोरोना भाइरसको नियन्त्रणमा दिनरात खटिँदै आएका छन् सिनियर कन्सल्टेन्ट डेन्टल सर्जन एवम् स्वास्थ्य सेवा विभाग, उपचारात्मक महाशाखाको आँखा, इएनटी तथा ओरल हेल्थ शाखाका प्रमुख डा प्रकाश बुढाथोकी।
चैत ११ मा सुरु गरिएको लकडाउनदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रदेशमा समन्वय गर्न मेचीदेखि महाकालीसम्म खटिएका डा बुढाथोकी क्वारेन्टाइन, आइसोलेसन, अस्पतालको तयारी, सामान तथा उपकरणको उपलब्धताको समन्वय, तयारी तथा अनुगमन र मूल्यांकन गर्ने काममा निरन्तर लागिपरेका छन्।
उनी चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको कोषाध्यक्ष पनि हुन्। त्यसैले महामारी नियन्त्रणमा अग्रपंक्तिमा सेवारत स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न, उनीहरुको मनोबल बढाउन, हौसला दिन यातायात, क्वारेन्टाइन, आइसोलेसन होटलमा व्यवस्था गर्न र स्वास्थ्य बिमा गरिदिन पनि बुढाथोकी सक्रिय भए।
संक्रमित चिकित्सकको स्वास्थ्यमा जटिलता आए आइसियु र भेन्टिलेटरको व्यवस्था, प्लाज्मा थेरापी, रेम्डिसिभिरको उपलब्धताको समन्वय गर्ने काममा पनि बुढाथोकी उत्तिकै सक्रिय छन्।
कोरोना नियन्त्रणमा निरन्तर सक्रिय बुढाथोकी असोज महिनामा आफैं कोरोना भाइरसबाट संक्रमित हुन पुगे। अहिले उनी कोरोनामुक्त भएर काममा फर्किसकेका छन्।
स्वास्थ्यखबरले डा बुढाथोकीसँग कोरोना संक्रमित भएका बेलाको अनुभव खोतल्ने प्रयास गरेको छ। संक्रमित भएको अवस्थाको अनुभव डा बुढाथोकीकै शब्दमाः
विगत ६ महिनादेखि दिनरात कोरोना नियन्त्रणमा खटिएको थिए। यो बीचमा फुर्सदिलो दिन नै थिएन भन्दा पनि हुन्छ। शरीरले पर्याप्त आराम पाएको थिएन, न त समयमा नै खाना नै पाएको थियो। ललितपुर महानगरपालिकाको सहजकर्ता भएको नाताले त्यहाँ हुने छलफलमा सहभागी हुनुपथ्र्यो।
असोज ३ गते ललितपुरको तिब्बती शरणार्थी शिविर र ७ गतेको एक होम आइसोलेसनमा बसेकालाई दिइन लागेको हेल्थ किटमा केके राख्ने, कसकसलाई दिने तथा कहिलेदेखि दिने भन्ने बैठकमा २ घन्टाजति ललितपुरका मेयरसँग छलफलमा बसेको थिएँ। हामीले आवश्यक दूरीका साथै मास्क पनि लगाएका थियौँ।
असोज ११ गते आइतबार बेलुका मलाई हल्का ज्वरो आयो। त्यो दिन बिहानैदेखि व्यस्त थिएँ र दिनभर खाना पनि खाएको थिइनँ। राति ज्वरो आउँदा दिनभरको थकानले होला भन्ने लाग्यो र सुतें।
सोमबार बिहान अर्थात् असोज १२ गते सहज महसुस भएपछि फेरि काममा व्यस्त भएँ। तर बेलुका फेरि शरीर तातेको महसुस भयो र सिटामोल खाएँ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ९ गते कोरोना पाजेटिभ देखिएपछि असोज १३ गते मंगलबार उहाँको सम्पर्कमा आएका सबैको स्वाब लिने कार्यक्रम थियो।
मलाई स्वास्थ्यमा कुनै समस्या नभएकाले स्वाब दिइनँ। अर्काे दिन दिउँसो प्रदेश २ जानुपर्ने कार्यक्रम थियो। यसबीचमा भएका बैठक, भेटघाट, छलफल सबैलाई सम्झिँदा कहाँबाट संक्रमण भयो भनेर यकिन गर्न सकेको छैन।
प्रदेश २ का अस्पतालहरुको कोभिड र ननकोभिड सेवाहरु अनुगमन गर्न वीरगञ्ज गएँ। गएको दिन राति सुत्ने बेलामा ज्वरो आउनुका साथै शरीर दुखेको थियो। फर्पिङको बाटो हुँदै गएको र गाडी पनि पुरानो भएकोले शरीर दुखेको होला जस्तो लाग्यो। भोलि पल्ट जनकपुर जाने कार्यक्रम थियो। त्यहाँ गयौँ र त्यतैबाट राजविराज गयौँ। त्यहाँ जाँदा अस्पताल बन्द रहेछ। त्यसैले नजिकै रहेको घरमा एक जना व्यक्तिसँग कुरा गर्दा थाहा भयो, अस्पतालमा संक्रमण भएका मानिसलाई राखिएको रहेछ।
असोज १५ मा प्रदेश २ बाट फर्किसकेपछि बिहीबारको दिन बेलुका शरीर तातो भयो।
छोरा मसँगै सुत्ने भएकाले फकाइफुल्याई छुट्टै सुत्न लगाएर आफू त्यही दिनबाट आइसोलेट भएँ। असोज १५ गते सुर्खेतका मित्र डा हरि सापकोटाको मृत्यृले मेरो पनि चिसो पस्यो, कतै मलाई पनि कोरोना त भएन?
मलाई रातिमा ज्वरो आउने र स्यानिटाइजरको गन्ध थाहा नपाउने भइसकेको थियो। खानामा अरुचि हुँदै गएको थियो। आइतबार पिसिआर परीक्षणका लागि स्वाब परीक्षण गर्न दिएँ। त्यही दिन बेलुका कोरोना रिपोर्ट पोजिटिभ आयो।
सामान्य लक्षण भएकोले होम आइसोलेसनमा बसेको थिएँ। सोमबार र मंगलबार सार्कस्तरको आकस्मिक सेवाको लागि अस्पतालहरुको तयारी अर्थात् होपको भर्चुअल तालिम थियो।
त्यो तालिममा ज्वरो, रक्तचाप, अक्सिजनको मात्रा हेर्दै सहभागी भएँ। तर मंगलबार मलाई निकै गाह्रो भयो। भर्चुअल तालिममा सहभागी हुन पाइनँ। बिहान १० बजेदेखि अक्सिजनको मात्रा ९७ प्रतिशतबाट घट्दै गएको थियो। अक्सिजनको मात्रा ९० तल झरेपछि सुख्खा खोकी झनै बढ्न थाल्यो। तातोपानी, औषधि खाएँ र घोप्टो परेर सुतें। तर पनि सुख्खा खोकी पनि कम भएन र अक्सिजनको मात्रा बढेन। झन्झन् घट्न थाल्यो। श्वास फेर्न गाह्रो हुँदै गयो र अक्सिजन पनि ८५ पुगेपछि अस्पताल जानैपर्ने महशुस गरें। मधुमेहको बिरामी पनि भएकाले अस्पताल जानुपर्ने निर्णयमा पुगें।
मंगलबारको त्यो ५ घन्टामा मलाई श्वास फेर्न ज्यादै गाह्रो भयो। लगातारको सुख्खा खोकी र ज्वरो आएको थियो। त्यो बेला अब बाँचिदैन जस्तो लाग्यो।
असोज २० गते टेकु अपतालका चिकित्सकलाई फोन गरी अस्पतालमा भर्ना भएँ। सुरुमा अस्पतालमा आइसियु बेड खाली थिएन। चिकित्सकले मेरो उपचार इमर्जेन्सीमा राखेर गर्नुभएको थियो। पछि एक जना बिरामी डिस्चार्ज हुनुभयो र मलाई आइसियुमा राखेर उपचार सुरु भयो।
आइसियुमा राखेर अक्सिजन दिएपछि त मलाई स्वर्ग पुगेको जस्तो आनन्द भयो। सिटी स्क्यान गरेर हेर्दा दुवै पट्टिको फोक्सोमा ४०–४० प्रतिशत निमोनिया भइसकको रहेछ। चिकिसत्कले रेमडिसिभिर औषधि चलाउनु भयो। औषधि चलाएपछि लक्षण केही कम हुँदै गए तर शरीरमा सुगरको मात्र ह््वातै बढ्यो। सुगर कन्ट्रोलमा ल्याउन चिकित्सकले दिनरात मिहिनेत गर्नु परेको थियो।
सरकारले १४ दिनमा डिस्चार्ज गर्ने भने पनि एक हप्तामा स्वास्थ्यमा उल्लेखनीय सुधार आयो। र, परिवार नै चिकित्सक भएकोले र स्वाबमा सिटी भ्यालु ३४ देखिएकाले होम आइसोलेसनमा बस्ने निर्णय गरेर चिकित्सकलाई डिस्चार्ज गर्न अनुरोध गरें। असोज २८ गते चिकित्सकहरुको १० दिनको होम क्वारेन्टाइनमा र एक हप्तापछिको फलोअपमा अनिवार्य आउने शर्तमा डिस्चार्ज भएँ।
दैनिक रक्तचाप, अक्सिजनको मात्रा, तापक्रम आदि नियमित हेर्दै व्यवस्थित खानपान र जीवनशैलीमा बस्दैछु। अहिलेसम्म पनि ठ्याक्कै संक्रमणको स्रोत पत्ता लगाउन सकेको छैन।
सुगर नियन्त्रणमा राख्न र उक्त निमोनिया पूरै हटाउन तथा केही पोस्ट कोभिड सिन्ड्रोमहरुलाई निमिट्यान्न पार्न हरसमय लागिपरेको छु। अहिले पनि धेरै बोल्दा र सिंढी चढ्नु परेमा स्वाँस्वाँ हुन्छ।
सबैको आशिर्वाद, प्रार्थना र शुभकामनाले पूर्ण रुपमा निको हुनेछु भन्ने विश्वासमा छु।
सन्देश
१. कसैमा विश्वास नगर्ने– के ठूला, के साना, के साथी, के परिवार, के प्रधानमन्त्री तथा राष्ट्रपति कसैलाई पनि कारोना छैन भन्ने ग्यारेन्टी नगर्नुहोस। म मात्र सुरक्षित छु, जसलाई पनि कोरोना भएको छ भन्ने साचेर हरसमय एसएमएस अवलम्बन गर्नुपर्छ।
२. रोगलाई सामान्य मान्ने र भन्ने नगरौं– रोगले कसैलाई लक्षण नदेखाउला त कसैलाई सामान्य लक्षण। तर जसलाई जटिलता हुन्छ, उसलाई मृत्यु वा मृत्युको मुखमा पुर्याउँछ। निको भए पनि विविध पोष्ट कोभिड सिन्ड्रोम छोडेर जान्छ।
३. अक्सिजन घरघरमा राखौं–ः सबैले थर्माेमिटर र पल्स अक्सिमेट्री घरमै राख्यौं भने जेष्ठ नागरिक र अन्य दीर्घरोग भएका घर परिवारमा अक्सिजन सिलिन्डर पनि किनेर चलाउनसक्ने गरी घरमै राखौं। अक्सिजनको मात्रा थाहा पाउन अक्सिमेट्री तथा घटिहाले अस्पताल खोज्ने र पु¥याउने समयसम्म बचाउनलाई अक्सिजन सिलिन्डरबाट अक्सिजन प्रयोगको जरुरी पर्छ। सम्भवत त्यो हैसियत राख्ने सबै नेपाली छन् यदि ज्यानको मूल्य छ भने।
४. यो ४९ वर्षमा मानिस, समाज चिन्ने अवसर कोरोनाले दियो। घरपरिवारका अतिरिक्त सहपाठीले समेत यस्तो बेलामा पनि कारोनामै खटिनुपर्ने, फिल्ड जानुपर्ने र सँगै घर तथा कार्यालयमा बस्ने र बैठक गर्ने भनेर हामीलाई पनि कोरोना लगाई हत्या गर्न खोजेको भन्दै हत्याराको आरोप पनि लगाए। अन्यलाई सचेत र उपदेश दिने मान्छे आफैं संक्रमित भएछ। गाउँघरमा देख्दै र समाचारमा सुन्दै आएको छुवाछुतको प्रत्यक्ष पिडक भइयो। छुवाछुतमा पिडकलाई कस्तो महसुस हुँदो रहेछ भन्नेको अनुभव पनि गरायो।