काठमाडौं- कान्ति बाल अस्पतालका कन्सल्ट्यान्ट बालरोग विशेषज्ञ डा अनिल श्रेष्ठ, जसले यो क्षेत्रमा करिब १४ वर्ष बिताएका छन्। बितेका यो वर्षमा उनले कयौं अनुभव समेत बटुले।
चिकित्सकलाई न त दसैंले छुन्छ, न तिहारले। यसको उदाहरण डा श्रेष्ठ स्वयं हुन्। सबै जना यतिखेर आफ्नो घर परिवारमा तिहार मनाइरहेका छन्। तर उनको यस वर्षको तिहार बिरामीको सेवामै बित्नेछ। यो वर्ष मात्र होइन, उनले गत वर्षको तिहार पनि अस्पतालको ड्युटीमै मनाएका थिए।
उनी भन्छन्, ‘यस वर्ष तिहारमा मेरो ड्युटी परेको छ। गत वर्षको तिहारमा पनि म अस्पतालमै थिएँ।’
हुन त उनले दसैंमा भने परिवारसँग रमाउने मौका पाएका थिए। उनको घर काठमाडौंको गोंगबुमा छ। बहिनी विदेशमा भएकाले पनि यस वर्षको तिहारमा भाइटीका नरहेको उनी बताउँछन्। यद्यपि लक्ष्मीपूजा गरी मिलेको समय परिवारसँग रमाइलो गरेर तिहार मनाउने उनको योजना छ।
उनले भने, ‘मेरी बहिनी बाहिर छ। त्यसैले यस वर्ष भाइटीका छैन। तर मिलेको समय परिवासँग रमाइलो गरेर तिहार मनाउने योजनामा छु।’
अस्पतालमा अहिले नयाँभन्दा पनि पुराना बिरामी भएकाले पनि तिहारमा ड्युटी केही सहज हुने उनी बताउँछन्। घर नजिकै भएकाले ड्युटी सकेर पनि तिहार मनाइने उनले बताए।
दसैं तिहारमा बिदा नपाउँदा मन खल्लो हुँदैन? भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘सुरुवाती दिनमा निकै नरमाइलो लाग्थ्यो। तर अहिले यही क्षेत्रमा धेरै वर्ष बिताइसकें। त्यसैले होला, अब त सामान्य लाग्छ।’
तिहारसँग सम्बन्धित उनीसँग कयौं तिता–मिठा अनुभव पनि नभएका होइनन्। यतिसम्मकी चाउचाउको भरमा मात्र पनि ड्युटी गरेको अनुभव उनीसँग छ।
‘धेरै वर्षअघिको कुरा हो। कुनै बेला मैले चाउचाउ खाएर मात्र पनि ड्युटी गरेको छु। त्यो बेला अहिले जस्तो सहज थिएन,’ उनले भने।
बिरामीको सेवा सधैं आफ्नो पहिलो प्राथमिकतामा रहेको उनी बताउँछन्। अहिले कोरोनाको जोखिम भएकाले पनि सावधानी अपनाउँदै तिहार मनाउन उनको सुझाव छ।
उनले भने, ‘पहिले जसरी धेरै घुलमिल भएर भेटघाट गरी तिहार नमनाएकै राम्रो। हामी अहिले पनि कोरोनाको जोखिममा छौं। त्यसैले सावधानी अपनाउनै पर्छ।’