प्रोफाइल

गाउँप्रेमी स्वास्थ्य सेवक

स्वास्थ्य मन्त्रालय अन्तर्गतका चिकित्सकलाई काठमाडौं उपत्यका पहिलो रोजाइमा अहिले पनि पर्छ। पहिले त झन् चिकित्सकका लागि उपत्यका बाहिर बस्ने वातावरण नै थिएन। न अर्थोपार्जन गर्ने अवसर न माथिल्लो स्तरमा सम्बन्ध निर्माण गर्ने अवस्था। दुर्गम भनेकै बढुवा र उच्च शिक्षा हासिल गर्न चाहिने नम्बरका लागि ठान्नेहरु धेरै थिए र छन्। 

गत वर्ष स्वास्थ्य मन्त्रालयबाट एक जना त्यस्ता स्वास्थ्य सेवकले अवकाश प्राप्त गरे, जो उपत्यका बाहिर दरबन्दी नभएको पदमा बढुवा भएपछि मात्रै काठमाडौं आए। उनी हुन् डा सुशीलनाथ प्याकुरेल। उनी सरकारी सेवाका अन्तिम दुई वर्ष मात्रै उपत्यकामा रहे। काठमाडौं आउन नपाएर होइन, नचाहेर नआउने सरकारी कर्मचारी हुन् उनी। दूरदराजको सेवामा रमाए जीवनभर। जहाँ पुगे, त्यहाँ केही न केही छाप छाडेर हिँडे। उनलाई आफ्ना इमान र लगनमा यति आत्मविश्वास थियो कि आफूलाई सही लागेको कुरा जसका अघि पनि हाकाहाकी प्रस्तुत गरिदिन्थे। मन्त्री भनेपछि गरुडको छायाँको सर्पझैं लत्रिने कर्मचारीमाझ उनी त्यस्ता व्यक्ति थिए, जो सरुवा भइजान तयार हुन्थे तर गलत कुरामा समर्थन जनाउँदैनथे। 

पंक्तिकार साक्षी रहेको एक घटना यहाँनेर स्मरण गराउन उपयुक्त हुन्छ। केही वर्षअघि स्वास्थ्य क्षेत्रको नियमित समीक्षा चलिरहेको थियो। स्वास्थ्य मन्त्री त्यतिबेला रामजनम चौधरी थिए। उपत्यका बाहिरको कुनै क्षेत्रीय निर्देशनालयका निर्देशक डा प्याकुरेलले मन्त्रालयमा रहेको अव्यवस्थामाथि निसंकोच प्रश्न उठाइदिए। मन्त्रीका काममाथि सिधा प्रश्न गर्न सक्ने उनको आँट देखेर धेरै कर्मचारीले मुखामुख गरेका थिए। नबिराएको मान्छे डराउँदैन भन्ने उदाहरण उनले पेस गरे। 

सेवाकालीन ३५ मध्ये ३३ वर्ष उपत्यका बाहिर बिताएका डा प्याकुरेललाई धेरैले नचिन्न सक्छन्। तर जतिले चिन्छन्, त्यतिले उनलाई इमान्दार जनसेवक भनेर चिन्छन्। 

जागिरको विविधतामा पनि स्वास्थ्य क्षेत्रको तल्लो तहकदेखि उपल्लो तहसम्म महसुस गर्ने अवसर पाए उनले। 

जागिर जर्नी : रेडियोग्राफरदेखि निमित्त स्वास्थ्य सचिवसम्म
चितवनको रामपुरमा जन्मेका उनले माध्यमिक तहको शिक्षा सिरहाको चन्द्र हाइस्कुलबाट लिए। सिरहामा उनको परिवारको खेतीपाती थियो। त्यसैले बसाइ त्यतै भयो। एकैपल्ट तीन कक्षा भर्ना भएका उनी २०३१ सालमा एसएलसी दिँदा सानै थिए। त्यसैले उच्च शिक्षाका लागि परिवारले टाढा पठाएन। एक वर्ष गाउँमै बिताएपछि महाराजगञ्ज क्याम्पसमा रेडियोग्राफी अध्ययन गर्न पुगे।

रेडियोग्राफी उनको चाहनाको विषय थिएन। स्वास्थ्य क्षेत्रमा प्रवेश गर्ने चाहनाले महाराजगञ्ज क्याम्पस पुगेका उनले त्यसअघि विषय विविधताबारे जानकारी पाएका पनि थिएनन्। स्वास्थ्य क्षेत्रका अहेबदेखि विशेषज्ञसम्मलाई ‘डाक्टर’ भन्ने जमानामा उनलाई पनि त्यही बन्नु थियो। 

प्रवेश परीक्षा दिएपछि फिजिक्समा उनको राम्रो नम्बर आयो। क्याम्पसको नियमअनुसार उनले रेडियोग्राफी पढ्नुपर्ने भयो। साढे दुई वर्षको कोर्ष पूरा गरेपछि उनले स्वास्थ्य सेवा विभागमा जागिरका लागि निवेदन दिए। न्यून जनशक्तिमा चलिरहेको स्वास्थ्य क्षेत्रमा पढेको कोही आए अस्थायी जागिरको प्रमाण पत्र थमाएर खाली भएको ठाउँमा पठाइहाल्ने गरिन्थ्यो। 

यही प्रक्रियाबाट २०३६ सालमा मेची अञ्चल अस्पतालमा रेडियोग्राफरको अस्थायी नियुक्ति लिएर गए। राजनीतिक परिवर्तनको समय थियो। भूमिगत पार्टी र सरकारबीच तनाव थियो। राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा गोली चल्यो। मेचीकै एक जना घाइते भए। उनलाई पूर्वकै राम्रो मानिने कोशी अञ्चल अस्पताल पुर्‍याइयो। 

डा प्याकुरेल सम्झिन्छन्, ‘विराटनगरमा रहेको कोशी अस्पतालमा एक्स–रे गर्ने मान्छे रहेनछ। त्यसपछि पूर्वका अस्पतालमा रेडियोग्राफर खोज्ने क्रममा मेचीमा मलाई खबर आयो। तत्काल काजमा कोशी अञ्चल अस्पताल जान निर्देशन आयो।’ 

कोशीमा उनले एक्स–रे गरिदिए। त्यही आधारमा घाइतेको उपचार भयो। संयोगले कोशीमा मेडिकल सुपरिटेन्डेन्ट डा प्याकुरेलकै बुबाका साथी डा भरतलाल वैद्य थिए। उनले मेची फर्किनै दिएनन्। कोशीमा एक्स–रे सञ्चालनका लागि उनको सरुवा त्यहीँ गरिदिए। डा वैद्यले नै फेरि उनलाई सरुवा झापाको भद्रपुर गरिदिए। सरुवा गरेपछि डा प्याकुरेललाई भने, ‘सानै उमेरका छौ। दुर्गममा सेवा गर्‍यौ भने डाक्टरी पढ्न सजिलो हुन्छ। दुर्गममा सेवा गरेकोले प्रवेश परीक्षामा २० नम्बर पाउँछ।’ डा वैद्य सिभिल सर्जन थिए। अञ्चलभरि जहाँ, जतिखेर पनि सरुवा गर्न सक्ने अधिकार उनलाई थियो। 

मेसिन चलाएर बिरामी जाँच्ने डाक्टर
त्यसपछि डा प्याकुरेलको सरुवा भोजपुर भयो। ‘भोजपुर जिल्ला अस्पतालमा पनि एक्स–रे मेसिन थियो तर प्रयोग गर्न जान्ने मान्छे नभएका कारण स्टोरमा थन्किएको रहेछ। स्टोरबाट झिकेर एक्स–रे चलाएँ। उनले जेनेरेटरबाट एक्स–रे चलाएपछि जिल्लामा हल्ला फैलिएछ, ‘डाक्टर भन्दा ठूलो मान्छे आएको छ। उसले त मेसिन चलाएर जाँच्छ।’

पहाडी जिल्लामा लडेर हातखुट्टा भाँचिएकाहरु उपचारका लागि आउँथे। एक्स–रे चलाउने व्यक्ति जिल्लामै भएपछि उपचारका लागि सहयोग पुग्यो। उनले त्यहाँ डेढ वर्ष बिताए। 

उनी त्यहाँ काम गर्दागर्दै महाराजगञ्ज क्याम्पसमा एमबिबिएसको भर्ना खुल्यो । त्यो क्याम्पसकै चौथो ब्याचका लागि थियो। भोजपुरको डेढ वर्ष बसाइ डा प्याकुरेललाई एमबिबिएस पढ्न सहयोगी भइदियो। २० नम्बर दुर्गमको पाएपछि पढ्न पाउने विद्यार्थीमा उनको नाम अगाडि नै आयो। प्रवेश परीक्षाबाट २८ र हुकुम प्रमांगीबाट २ गरी ३० जनाले पढ्न पाएका थिए।  प्रवेश परीक्षा पास गरेर मात्रै डाक्टर बन्ने बाटो खुल्दैनथ्यो। अहिले आर्मी प्रहरीको जस्तै शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुपथ्र्यो। यसकारण पनि दुर्गम उनको पढाइका लागि सहयोगी भइदियो।  

उनी एमबिबिएस भर्ना मात्रै के भएका थिए, काठमाडौंमा मेनेन्जाइटिसको महामारी फैलियो। पाँच महिना स्कुल र कलेज बन्द भए। भोजपुरका जनतामाझ उनी प्रिय थिए। त्यसैले काठमाडौं बन्द जस्तै भएको त्यो समयमा उनलाई स्थानीयले भोजपुर बोलाए। उनलाई पनि काठमाडौं यत्तिकै बस्नुभन्दा त्यहाँ सेवा गरेर बस्नु सही लाग्यो र फेरि भोजपुर पुगे। 

एमबिबिएस पास गरेपछि २०४७ सालमा मेडिकल अफिसरका लागि लोकसेवा दिए। पास गर्ने नै ३० जना थिए। अघिल्ला ब्याचका केही पनि थिए तर मागिएको थियो जम्मा पाँच जना। उनको नाम तीन नम्बरमा निस्कियो।  

डाक्टर बनेपछि उनको पहिलो पोस्टिङ दोलखाको जिरी अस्पताल भयो। २०४७ फागुन ११ गते उनी त्यहाँ हाजिर भएका थिए। त्यहाँ पनि उनको बसाइ लामो रह्यो। सेवामा मरिमेट्ने उनलाई स्थानीयले सम्मान गर्थे। स्थानीय माझ लोकप्रिय डाक्टरलाई सरुवा पनि बारम्बार गरिँदैनथ्यो। कि डाक्टर आफैंले सजिलो ठाउँ खोजेर सरुवा माग्थे। तर डा प्याकुरेल जहाँ खटायो, त्यही विना हिचकिचाहट पुग्ने स्वभावका थिए। 

२०५० सालमा जनस्वास्थ्य कार्यालय र अस्पताल गाभियो। दोलखामा तीन जना चिकित्सक थिए। प्रमुख तोक्ने विषयमा माथिल्लो तहमा मत बाझियो। ‘जिरी अस्पताल प्रमुखको दरबन्दी सेकेन्ड क्लासको थियो, म थर्ड क्लास अफिसर थिएँ। काम सेकेन्ड क्लासकै गर्थें। तत्कालीन क्षेत्रीय निर्देशक डा तीर्था राणाले थर्ड क्लास भए पनि सेकेन्डको काम गरेकाले प्रमुख बनाउनुपर्छ भनेर मलाई जिम्मेवारी दिनुभयो,’ उनी सम्झन्छन्।

जिम्मेवारी त पाए। तर अवस्था के भयो भने जिरी अस्पताल जिरीमा र चरिकोटमा जिल्ला स्वास्थ्य कार्यालय थियो। उनले दुई वटा कार्यालयको काम भ्याउनुपर्ने भएपछि उनलाई गाडी उपलब्ध गराइयो। उनी सम्झिन्छन्, ‘दुई दिन जिल्ला स्वास्थ्य कार्यालय र पाँच दिन अस्पतालमा काम गर्थें। बिदा भन्ने कहिल्यै हुँदैनथ्यो।’

जिरीमा काम गर्दै उनको विवाह भएको थियो २०४८ सालमा।

No description available.

No description available.

उनको पहिलो सन्तान जिरीमै र दोस्रो पनि दोलखाको चरिकोटैमै जन्मेका हुन्। तेस्रो सन्तान भने तेह्रथुम जिल्लामा २०५३ सालमा जन्मेका हुन्। डा प्याकुरेलले तेह्रथुममा रहेको समयमा नै गोरखा दक्षिणबाहु तेस्रो पुरस्कार पाएका हुन्।

जनस्वास्थ्यमा उनको लगनशीलनता देखेर सरकारले नै २०५१ सालमा एमपिएच पढ्न मैडल युनिभर्सिटी थाइल्यान्ड पठायो। त्यहाँ पठाइएका नेपाली विद्यार्थीमा उनको पढाइ अब्बल ठहरियो। एमपिएच पढेर आएपछि उनको सरुवा तेह्रथुम जिल्ला अस्पताल भयो। दुई वर्ष त्यहाँ काम गरेपछि २०५४ साल मंसिरमा नुवाकोट जिल्ला अस्पताल सरुवा भए। 

No description available.

जहाँ पुग्थे, त्यहाँ मन–वचनले काम गर्थे। उनको कामका कारण सबैबाट चन्दा असुल्ने माओवादीले समेत नुवाकोटमा स्वास्थ्यकर्मीबाट चन्दा लिएन। उनले सुरुमै भनेका थिए, ‘म यहाँ उपचारका लागि आएको हुँ। सबैको उपचार गर्छु। त्यस्तो गाउँका स्वास्थ्य चौकीमा साथीहरु पनि त्यसै गरिरहेका हुन्छन्। तपाईंहरुले चन्दा नमाग्नुहोला। चन्दा माग्दा उनीहरु डराएर सदरमुकाम आउँछन्। गाउँमा सेवा प्रभावित हुन्छ।’ उनका अनुसार नुवाकोटका स्वास्थ्यकर्मीलाई माओवादीले गुनासो गर्ने ठाउँ दिएन जनयुद्धभरि। 

६ वर्ष त्यहाँ काम गरेपछि २०६१ मा गोरखा अस्पताल सरुवा गरियो। त्यहीँ हुँदा नवौं तहमा बढुवा भएपछि संखुवासभा अस्पताल खाँदबारी सरुवा भए। 

संखुवासभा एक वर्ष काम गरेपछि दमौली अस्पताल सरुवा भए। २०६४ देखि २०६९ सालसम्म उनले दमौली अस्पतालबाट सेवा दिए। त्यहीँ काम गर्दा दसौं र एघारौं तहमा बढुवा भए र मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेत, त्यसपछि पूर्वाञ्चल क्षेत्रीय अस्पताल र सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयको प्रमुखका रुपमा उनले काम गरे। 

१२औं तहमा बढुवा भएपछि मात्र काठमाडौं
२०७४ मा १२औं तहमा बढुवा भएपछि डा प्याकुरेल काठमाडौं आइपुगे। स्वास्थ्य सेवाकै पहिलो काठमाडौं आगमन थियो त्यो। १२औं तहका लागि उपत्यका बाहिर कुनै दरबन्दी थिएन। कि स्वास्थ्य सेवा विभाग टेकु, कि स्वास्थ्य मन्त्रालय मात्रै छ। 

१२औं तहमा बढुवा आफ्नो जीवनकै पहिलो फाइल बढुवा भएको उनी बताउँछन्। सधैं प्रतिस्पर्धामा उछिनेर बढुवा हुने उनी सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयमा हुँदा राम्रो गरेका कारण फाइल बढुवा प्राप्त भएको ठान्छन्। उनी तत्कालीन सुदूरपश्चिमाञ्चलको क्षेत्रीय निर्देशक हुँदा त्यहाँको जनस्वास्थ्य सूचाकांकमा महत्वपूर्ण परिवर्तन आयो। स्वास्थ्य मन्त्रालयको आन्तरिक मूल्यांकन दुई वर्ष पहिलो नम्बरमा समेत आएको थियो। 

डा प्याकुरेल स्वास्थ्य सेवाका कर्मचारीले प्राप्त गर्ने अधिकतम जिम्मेवारी हासिल गर्न सफल भए। १२औं तहमा रहेका बेला डेढ महिना आर्थिक, प्रशासनिक अधिकार सहितको निमित्त स्वास्थ्य सचिवको जिम्मेवारी पनि निर्वाह गरे। पौने दुई महिना स्वास्थ्य सेवा विभागको महानिर्देशक पनि भए। 

No description available.

उनलाई लाग्छ, ‘यतिसम्म आफ्नो योग्यता र कर्मबाट पाउने हो।’ उनका अनुसार त्यसपछिको पद पाउन केही ‘च’ हरुको गठजोड चाहिन्छ, चाकरी, चलखेल, चम्चागिरी, चाप्लुसी। तर यतातिर उनको कहिल्यै रुचि भएन। स्वास्थ्य सचिव बन्ने हल्लालाई हल्लामै परिणत गर्दै बिदा भए उनी। 

केही सम्झना, जो दिमागमा फन्को मार्छन्
माथि उल्लेख गरिएजस्तो जागिर यात्रा उनको सरलरेखामा कुँदेको होइन। उनले तीन दशक बढी सेवा गरेका पहाडका बाटोजस्तै घुमाउरो र सकसपूर्ण जीवन बिताएका छन्। तर ती सम्झना होइनन्। ती बिर्सनलायक घटना हुन्। उनले तिनलाई बिर्सिदिए। सम्झेर खुसी नहुने कुरामा उनको खास लगाव छैन। त्यसैले संघर्ष, चोट र पिरलाई उनी महत्व दिँदैनन्। उनलाई लाग्छ, ‘जसलाई बढी महत्व दियो, उही त हो फर्कीफर्की आउने।’ त्यसैले जीवनका असहजतालाई एकतर्फी बाटो देखाइदिएका छन्। 

तर, असहजताका बीच पनि गरिएका कर्महरु उनको दिमागमा सञ्चित छन्। जुन अहिले फर्केर आउँदा पनि सकुन मिल्छ। समय नै त्यस्तै थियो, बिरामीको रोग उसको मुखबाट सुनेर र छामेर पत्ता लगाउनुपर्ने। कति फ्याक्चरको उपचार समेत छामेको आधारमा गरेर निको पारेका छन् डा प्याकुरेलले। 

कति त्यस्ता वस्ती पुगेका छन्, जसले जीवनमा डाक्टर देखेका थिएनन्। सुनेको थिए– डाक्टरले त मान्छे बचाउँछ, भगवान हो।

२०४७ सालतिर परिवार नियोजन भ्यासेक्टोमीका लागि उनी भोजपुरको साल्पा पोखरी पुगेको थिए। त्यहाँ एक राई थरकी वृद्धा नजिकै आइन्। ‘डाक्टर हेर्न’ भनेर आउनेहरुको समूहमा उनी एक थिइन्। उनलाई सम्झना छ, ‘नजिकै आएर हात समाएपछि उहाँले भन्नुभयो– डाक्टर भनेको भगवान होला भन्ठानेको तर हामीजस्तै रहेछन्।’ 

कठिन जीवनयापन गरिरहेकाहरुका मुखबाट निस्किने यस्तै निश्चल शब्दहरुले नै हो उनलाई सकेसम्म उपत्यका बाहिरै बस्न प्रेरित गरेको। त्यो समय पनि चिकित्सामैत्री थियो, चिकित्सक पनि समाजमैत्री रहेको उनको बुझाइ छ। भन्छन्, ‘अहिले विभिन्न कारणले डाक्टरको अवस्था अर्कै भयो। त्यो बेला सेवामुखी थियो। सेवा गर्न पाउँदा हामी खुसी थियौं। जनताले हामीलाई भगवानका रुपमा हेर्थे। हामी उनीहरुको भरोसा कायम राख्ने कोशिस गथ्र्यौं।’ विभिन्न जिल्लामा पुग्दा त्यहाँका नेतालाई समय दिन सकेपछि एक ठाउँ एक नेताले व्यंग्य मिश्रित लवजमा भनेका थिए, ‘फुर्सद भए डाक्टरसाहेब भेट्नुहोला।’

No description available.

अहिले समय दोषी छ। परिस्थिति दोषी छ। दोषका केही भाग–हिस्सा स्वास्थ्यकर्मीले पनि प्राप्त गर्ने उनको बुझाइ छ। ‘चिकित्सा पढाइको शुल्कले आकाश छोयो। त्यो शुल्क उठाउनुपर्ने बाध्यता चिकित्सकलाई भयो। अर्बौं लगानी गरेर निजी चिकित्सा संस्था निर्माण भए। चिकित्सकलाई लाखौं दिन थाले। त्यो रकम उठाउन नचाहिने टेस्ट गर्न लगाउने र औषधि चलाउने परिपाटी पनि आयो,’ उनी निर्मम रुपमा प्रस्तुत हुन्छन्, ‘जुन नर्सिङ होमले एक जना डाक्टरलाई १५÷२० लाख रुपैयाँ महिनाको तलब दिन्छ। त्यसले कहाँबाट उठाउँछ यति धेरै तलब दिने पैसा?’ स्वास्थ्य र शिक्षा सरकारले निःशुल्क गर्नुपर्छ भनेर उनी सेवामा हुँदा पनि भनिरहे। सुनुवाइ हुने ठाउँमा थिएनन्, सुनिएन। समस्या बढ्दो छ। 

अहिले चिकित्सकको उपचार पद्धतिमाथि पनि बिरामीले शंका गर्छन्। उनको समय थियो, सिक्दै उपचार अभ्यास गर्दै हुन्थे। प्रकृतिले समेत कहिलेकाहीं उपाय सुझाउँछ भन्ने मान्यतामा चल्थे। एकपल्टको अनुभव सुनाउँछन्। भोजपुरमा थिए उनी। त्यहाँ पानीजुकाले मान्छेलाई हैरान बनाउने रहेछ। पोखरी र धाराको पानी खाँदा नाकमा जुका पस्ने र नाकबाट रगत बग्ने समस्या लिएर बिरामी आइरहने गर्थे। 

उपचार कसरी गर्ने? त्यो समय यसको उपाय नै थिएन। खैनी खाने प्रचलन जस्तै थियो। जो पनि खैनी खान्थे र डा प्याकुरेल पनि। खुट्टामा लाग्ने जुकाका लागि स्थानीयले खैनी लगाएर झार्ने गरेको उनले देखे–भोगे त्यहीँ। नाकको जुकाका लागि पनि त्यही उपाय अपनाउने जुक्ति फुर्‍यो उनलाई। सहयोगीलाई जुका समात्ने साधन थमाएर नाकमा खैनी हाल्दै जुका निकालेका छन्। उनलाई त्यसपछि लागेको हो, ‘कति प्रकृतिबाट सिक्नुपर्छ। हरेक कुरा मेडिसनको किताबमा नहुन सक्छ।’

दोलखामा बस्दा उनले भालुको आक्रमणबाट सिकिस्त बिरामीलाई बचाएका छन्। भालुले मुखमा आक्रमण गर्ने भएकाले आँखा बाहिरै निस्किएका बिरामीको समेत रातभरि लगाएर उपचार गर्नेदेखि सुचर गर्नेसम्म काम गरे। जसले ज्यान जोगियो। त्यो गुन ती व्यक्ति मात्रै होइन, उनका छोरानातिसम्मले बिर्सेका छैनन्। बीसौं वर्षपछि पनि दोलखाको आलु कोसेलीस्वरुप काठमाडौं आइपुग्छ। 

जनताका लागि काम गर्ने हो भने आफूलाई त्यहीअनुसार तयार गरेर राख्नुपर्ने उनले बुझेका छन्। त्यसैले जहाँ पुगे, त्यहाँ केही न केही छाप छाडे। सुदूरपश्चिमको स्वास्थ्य सूचकांकमा राम्रो बनाउन उनले केही मिहिनेत गरेका हुन्। पहिलोपल्ट सुदूरपश्चिम पुगेपछि उनलाई ‘बेग्लै नेपालमा पुगेको’ महसुस भएको थियो। भाषा, संस्कृति मात्रै होइन, व्यवहार पनि फरक पाएका थिए। उनलाई लाग्यो, ‘यहाँका जनता असाध्यै सोझा रहेछन्। शासकले सजिलै प्रयोग गर्ने तर केही नदिने। यस्तो ठाउँमा धेरै सुधार गर्न सकिन्छ भन्ने सोचें।’ 

उनले स्वास्थ्य उपचारका क्षेत्रमा मात्रै होइन, जनस्वास्थ्यलाई प्रभाव पार्ने कुप्रथालाई समेत न्यूनीकरण गर्न आफूले जानेका उपाय अवलम्बन गरे। सुदूरपश्चिमको क्षेत्रीय निर्देशनालय डोटीको दिपायलमा छ। निर्देशक भएर जानेहरुको रुचि धनगढीमै धेरै बस्ने हुन्छ। तर उनले दिपायलमै अड्डा जमाए। जिल्लाको भ्रमणमा निस्किरहे। स्वास्थ्यकर्मीका कारण पनि कतिपय ठाउँमा काम हुन नसकेको पाएपछि उनले अनुगमनलाई तीव्रता दिए। त्यसमा उनको ट्रिक थियो, ‘भ्रमणमा जाने ठाउँ कैलाली, कञ्चनपुर लेखेर बझाङ र बाजुरा जाने।’

कार्यालयबाट सूचना लिक भएका कारण अनुगमनमा सब ठिकठाक पार्नेहरु उनको नजरमा परे। तर उनले त्यस्ता कर्मचारीलाई कारबाही गरेनन्, सुधारे। त्यसको प्रभाव उनी त्यहाँ हुँदै देखियो। सुदूरपश्चिम जनस्वास्थ्यको सूचकांकमा राम्रो गरिरहेको विकास क्षेत्र ठहरियो। सुरक्षित मातृत्वको क्षेत्रमा त्यसअघिका निर्देशक परशुराम श्रेष्ठले बसाएको जगमा उनले इँटा थपे। उनले सुदूरपश्चिमका जिल्लाहरुमा सिजेरियन सेक्सन, बच्चालाई आइसियुमा राख्ने व्यवस्था र कर्मचारीलाई क्वार्टर बनाउने कुरामा समेत जोड दिए। यसका लागि कतिपय ठाउँमा सरकारको बजेटले नपुगेर निक साइमन्स इन्स्टिच्युटलाई समेत गुहारेको उनी बताउँछन्।  

No description available.

देश संघीय संरचनामा गयो। राज्यका सबै निकायमा स्थानीयको पहुँचका लाग शासन व्यवस्था र सेवामा विकेन्द्रीकरण यसको ध्येय थियो। तर तत्कालीन समयको स्वास्थ्यको नेतृत्वमा रहेको अक्षमताका कारण स्वास्थ्य खुम्चियो। 

स्वास्थ्यको नयाँ संरचना बनाउने जिम्मा लिएका तत्कालीन स्वास्थ्य सचिव पुष्पा चौधरी, मोहम्मद दाउद लगायतले यसलाई खुम्च्याउने गरी मोडेल तयार पारे। ७७ जिल्लामा रहेका स्वास्थ्य कार्यालय ३५ मा झारिए। क्षेत्रीय स्वास्थ्य निर्देशनालय हटाइयो, तालिम केन्द्र सानो शाखामा सीमित भए।

यसले जनस्वास्थ्यमा नेपाललाई प्राप्त उपलब्धि गुम्ने डा प्याकुरेललाई लगायतलाई लाग्यो। ग्रामीण भेगमै जीवनको लामो समय बिताएका डा प्याकुरेललाई यसपछि आउने जटिलता थाहा थियो। त्यसैले उनले उक्त अग्र्यानोग्रामकी संयोजक चौधरी र दाउदसँग चर्काचर्की नै गरे। केही लागेन। पास भइछाड्यो। 

त्यसले स्वास्थ्य सेवामा ठूलो समस्या सिर्जना गर्‍यो। उनले सामान्य प्रशासन मन्त्रालय, मुख्य सचिव र अर्थ सचिवलाई समेत यस विषयमा पुनःविचार गर्न अनुरोध गरे। तर केही सिप लागेन।

No description available.

आफ्नो पुग्ने ठाउँमा उनले लबिङ गरिरहे। समय यस्तो आयो कि उनी निमित्त सचिव बन्नुपर्‍यो। स्वास्थ्य सचिवका हैसियतमा उनी सहभागी हुने ठाउँमा उनले यो विषयलाई जोडतोडका साथ राख्न थालेपछि तत्कालीन अर्थमन्त्री र मुख्य सचिवले उनलाई छुट्टै बोलाएर विस्तृतमा राख्ने मौका दिए। उनले आफूलाई लागेका कुरा राखेपछि उनीहरु सहमत भए। खारेज भएका स्वास्थ्य कार्यालय, निर्देशनालय, तालिम र स्टोरहरु मात्रै फिर्ता भएनन्, प्रदेश स्तरमा ल्याब बनाउने नयाँ योजना समेत पास भयो। जसको परिणाम अहिले कतिपय क्षेत्रीय ल्याबहरुले कोरोना महामारी पिसिआर टेस्ट समेत गर्न थालेका छन्। 

उनले अवकाश प्राप्त गर्नु र विश्वमा महामारी फैलिनुको संयोग छ। मन्त्रालयबाट अवकाश पाए पनि सेवाबाट स्वास्थ्यका कर्मचारीले अवकाश पाउँदैनन्। उनले केही समय विश्राम लिने सोच बनाएर गैरसरकारी संस्थाले प्रस्ताव गरिरहेका अवसर स्वीकारिसकेका छैनन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने