डडेल्धुरा- डडेल्धुरा अस्पतालमा भेन्टिलेटरसहित मेडिकल आइसियु सेवा सुरु भएको छ। शुक्रबारदेखि अस्पतालले ५ वेडको मेडिकल आइसियु र ४ वटा भेन्टिलेटरसहितको उपचार सेवा सुरु गरेको हो।
संघीय सरकारको बजेटमा १५ वटा आइसियु सञ्चालन गर्ने भनिए तापनि भवन अभावका कारण हाललाई ५ वेडको आइसियु सेवा सुरु गरेको डडेल्धुरा अस्पतालका एनेस्थेसियोलोजी तथा क्रिटिकल केयरका प्रमुख डा तिर्थराज भण्डारीले बताए।
अस्पतालले एक हप्ता भित्र ६ वेडको आइसियु थप गर्ने तयारी थालेको अस्पतालका निमित्त मेसु डा राजन शाहले जानकारी दिए। थप हुने आइसियु वेडमा ३ वटा कोरोना विशेष बिरामीका लागी र ३ वटा पोष्टअप केयरका लागि सर्जिकल आइसियु हुने छ।
५ वेडको आइसियु सञ्चालनका लागि अस्पतालले तालिम प्राप्त ४ जना स्टाफ नर्स, ३ जना मेडिकल अफिसर थप गरेको निमित्त मेसु डा शाहले बताए। उनले भने, ‘अहिले ५ वेड सञ्चालन गर्न जसो तसो जनशक्तिले पुग्ला तर ११ वेड सञ्चालन गर्ने जनशक्ति अभाव नै छ। मन्त्रालयमा माग गर्नु पर्छ।’
आइसियुमा भर्ना भएका बिरामीका लागी प्रयोग हुने औषधिको उपलब्धताको चुनौती डडेल्धुरामा रहेका डा भण्डारीले बताए। उनका अनुसार बिरामीले खरिद गर्नु पर्ने यो औषधिको मुल्य एक हजार पर्छ तर यहाँका फार्मेसीहरुले राख्न मान्दैनन्। अहिले अस्पतालले डडेल्धुरा बाहिर गएर उपचार गर्ने नसक्ने तथा गरिब समुदायका परिवारका बिरामीलाई सकेसम्म यहाँ नै उपचारको पहिलो प्राथमिकता दिने जनाएको छ।
आइसियुमा उपचारको मुल्य भने सरकारी अस्पतालहरुले लिए बराबर नै तोकिने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए।
संघीय सरकारले आइसियु सेवा विस्तारका लागि ३ करोडको बजेट उपलब्ध गराएको थियो।
सुदूरपश्चिमका पहाडी जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरा अस्पतालमा आइसियु सेवा संचालन भएसंगै सात जिल्लाका बिरामीलाई उपचारका लागि तराईका जिल्ला जानु पर्ने बाध्यताको अन्त्य हुने बताइएको छ।
आइसियु सेवा सञ्चालन नहुँदा यहाँबाट धेरै बिरामीहरु धनगढी, नेपालगञ्जसहित भारतका विभिन्न अस्पतालमा रेफर हुने गरेका थिए।
यसैगरी डडेल्धुरा अस्पतालले केही समय भित्रै सिटिस्क्यान सेवा समेत संचालन गर्ने तयारी गरेको छ। सिटिस्क्यान खरिदका लागि टेण्डर आह्वान भइसकेकाले केही समय भित्रै संचालनमा आउने विकास समितिका अध्यक्ष ओझाले जानकारी दिए।
बैतडीमा आइसियु सञ्चालनमा आएन, जनशक्ति अभाव
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा १६ दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर सहितको दुई वेडको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ।
जनशक्ति अभावमा स्थापना भएको भेन्टिलेटर सहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको हो।
कोरोना भाइरसका जटिल बिरामीहरुलाई मध्यनजर गरेर भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना गरिएको भएपनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए।
मंसिर १७ गते जडान गरेको भेन्टिलेटरसहितको आइसियुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताए।
कोरोनाका गम्भीर प्रकृतीका बिरामीहरुलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापनाका लागि उपकरण पठाएको थियो। उपकरणसंगै दक्ष जनशक्ति पनि आवश्यक पर्ने भएपनि दक्ष जनशक्ति नपठाउँदा आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ।
जडान भएको १६ दिनसम्म पनि भेन्टिलेटर सहितको आइसियु सञ्चालनमा नआउदा जटिल खालका कोरोनाका बिरामी जिल्लाबाहिर जान बाध्य छन्।