काठमाडौं- कोभिड-१९ महामारीले एक वर्षदेखि विश्वभर आतंक मच्चाइरहेको छ। केही समययता कोभिड विरुद्धको खोप निर्माण भई अमेरिका, बेलायत, बहराइन, चीन लगायतका मुलुकमा लगाउन समेत सुरु भइसकेको छ। अमेरिकामा खोप पाउने पहिलो प्राथमिकतामा कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी छन्।
हालै मात्र फाइजरको खोप लगाएकी अमेरिकाको एरिजोनामा स्टाफ नर्सको रुपमा कार्यरत अमिता श्रेष्ठसँग स्वास्थ्यखबरकी कल्पना पौडेलले कुराकानी गरेकी छिन्। खोप लगाउँदाको अनुभव र कोरोना भाइरसले पारेको प्रभावबारे श्रेष्ठको अनुभव उनकै शब्दमाः
मिडियामा कोभिड भ्याक्सिनबारे धेरै कुराहरु भइरहेका थिए। साँचो भन्नु पर्दा नयाँ खोप भएकाले सुरुमा लगाउँ कि नलगाउँ भन्ने द्विविधा त थियो। लामो अनुसन्धान पनि भएको छैन र पछि के होला भन्ने पनि लाग्यो। एक मनले अहिलेसम्म नलाए पनि संक्रमण भएको छैन भन्ने पनि रह्यो।
बेलायततिर कोहीकोहीलाई भ्याक्सिन लगाएपछि एलर्जी देखिएको रहेछ। पछि बुझ्दा उहाँहरुलाई पहिले नै एलर्जीको समस्या रहेछ भन्ने कुरा बाहिर आयो। मलाई एलर्जी नभएकाले खासै केही हुँदैन होला भन्ने पनि लाग्यो। फेरि सोचें, हामी जस्तो स्वास्थ्यकर्मीले नै विज्ञानमा विश्वास नगरे कसले गर्छ। त्यसपछि लगाउन आँट गरें। भ्याक्सिन लगाउन श्रीमानलाई समेत साथै लिएर गएको थिएँ।
मैले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज लगाएँ। म काम गर्ने अस्पतालले नै यसको व्यवस्था गरेको हो। पहिलो डोज लगाएपछि त्यही हात थोरै दुखेको थियो। दोस्रो दिन असजिलो महसुस हुने भएको थियो। थकाई लाग्ने, हल्का टाउको दुख्ने भयो। त्यो अपेक्षित नै थियो। अब जनवरी ७ मा मेरो दोस्रो डोज लगाउनु पर्नेछ। अमेरिकामा कोभिड भ्याक्सिन अहिलेसम्म निःशुल्क लगाइएको छ। हामी कोभिड बिरामी हेर्ने भएकाले पहिलो प्राथमिकतामा राखेर नै भ्याक्सिन दिइएको छ। मेरा केही साथीहरुले भ्याक्सिन लगाएका छैनन् भन्ने सुनेको छु। आशा छ, सबैले छिट्टै लगाउनु हुनेछ।
सुरुमा कोरोना भाइरसको नाम सुन्दा नै डर लाग्थ्यो। पछि अमेरिकामा पनि आयो। कोरोना भाइरसको उपचारमा खटिँदाका कति अनुभवहरु अहिले त धेरै बिर्सी सकें होला। कोरोना भाइरसको बारेमा धेरै थाहा थिएन। कोभिड कसरी सर्छ भन्ने बुझाइ पनि एउटै थिएन। कसैले टिबीजस्तो हावाबाट पनि सर्छ भन्थे। कसैले ड्रपलेटबाट मात्र सर्छ भन्ने कुरा पनि गरेकोले निकै अन्योल थियो र बेलाबेलामा नियम परिवर्तन भइरहन्थ्यो। बिरामी बढ्न थालेपछि पिपिई, मास्कको अभाव हुन थाल्यो। रुमाल बाँधेर भए पनि काम गरियो। केही समय त घरमा बनाएको मास्क पनि अस्पतालमा प्रयोग गर्न थाल्यौँ।
पहिलो दिन कोभिड वार्डमा ड्युटी परेपछि मैले श्रीमानलाई म्यासेज गरें, मेरो कोभिडमा ड्युटी प¥यो भनेर। उहाँले यस्तो बेलामा आफ्नो ज्यान जोखिममा पारेर अरुको सेवा गर्ने मौका सबैलाई प्राप्त हुँदैन भनेर रिप्लाई गर्नुभयो। तिम्रा लागि यो अलौकिक अवसर हो र तिम्रो पेसाले मागेको समय हो भन्नुहुन्थ्यो। त्यसपछि भने मेरो हिम्मत पनि बढ्यो। हुन त हामीलाई बिदा बस्ने विकल्प पनि थियो। तर एक न एक पटक त यो रोगको सामना गर्नु नै पर्छ, भागेर कहाँ जाने, कति भाग्ने भनेर बिदा बसिनँ। पहिलो दिन कोभिड वार्डमा ड्युटी गरेर आएपछि केही दिन त बच्चाहरुलाई नछोई अलग्गै बसेँ। केही काम पनि गरिनँ। सबै काम श्रीमानले गर्नुभयो।
मेरो वार्डमा एउटा धेरै नै खोक्ने बिरामी परेको थियो। उसले खोक्दा आफ्नो कपाल नै हावाले हल्लिएको थाहा हुन्थ्यो। मुखबाट निस्किएका ड्रपलेट कपालभरि पर्यो होला जस्तो लाग्थ्यो। शरीरभरि कोभिड टाँसिएको छ कि जस्तो लाग्ने। कति बिरामी हुन्छन्, महामारीले कस्तो रुप लिन्छ भन्ने थाहा थिएन। अस्पतालहरुले पनि सबै कुरा व्यवस्थित गर्न सकेका थिएनन्। ड्युटीमा ससाना कुराहरुमा समस्या हुन्थ्यो।
नेपालबाट मम्मीले दिनहुँ रुँदै फोन गर्नुहुन्थ्यो। कोरोनाको बिरामी हेर्नुपरेको छ, के हुन्छ, कसो हुन्छ भनेर सोधिरहनुहुन्थ्यो। जताततै डरको वातावरण थियो र त्यो स्वभाविक पनि थियो। अहिले त सबैलाई बानी परेको छ।
अहिले फेरि कोरोना भाइरस नयाँ रुपमा देखा परेको कुरा आइरहेको छ। यही समयमा नेपालमा निर्वाचनको कुरा सुन्दा अर्को डर लागेको छ। सरकारले जति सक्दो छिटो खोप ल्याउने वातावरण बनाउनुपर्छ र महामारी नियन्त्रण गर्न थप गम्भीर हुनुपर्छ जस्तो लाग्छ। खोप आएपछि पहिलो कसले पाउने र कसरी पारदर्शी रुपमा दिने भन्ने कुरा सुनिश्चित गराउनुपर्छ। आशा गरौँ, २०२१ साल शुभ रहोस र कोरोनाको कहर समाप्त होस।