म छु,
मेरो अस्तित्व छ।
म हुनुमा मेरो हात छैन
आमा छिन् त सर्वश्व छ।
म जहाँ छु,
त्यहाँ उभिएर हेर्दा-
प्रशव पीडामा छट्पटाइरहेका
हरेक आमाको अधकल्चो रोदन सुन्छु।
हाँसोमा बेरिएको महिनौंको यात्रा पश्चात-
त्यो सिकिश्त अमिलो अनुहार!!
कति रुन्छिन् उनी, अनि म ?
बाँडर पनि नबाँडने पीडा
म हेर्दै हुन्छु !
यत्ति नाच्दैछन्,
आमाका निधारका रेखा यसै;
साँच्दैछ्न् चोखो,
शिशुका लेखाजोखा त्यतै;
कति अड्याइन् मायाको झोलासँगै
डक्टरी अक्षरले तुहिने नाम दिँदा पनि।
खपे उनी लक्षिन,
नसके कुन नामको डाम लाग्ला?
पिडाको पोको उनले एक शब्द नबोली बोक्दा पनि।
उनको भोगाइको
कत्रो लहर लाग्ने हो?
प्रमाण मातृत्वको
कु-कुन सहरले माग्ने हो?
आज, हजारौंको भीडमा
उनी एक यसै हराइन्!
म पनि उनी जस्तै अरुमा हराएँ!
त्यो उनको आमासयले
कति हण्डरदेखि बचाएको,
शिशुको धड्कन उनि भित्रै हरायो।
अनि, ती आमाका प्रफूल्लित नयन
एका-एक आँसुकै आहालमा हराए।
'छ' को छन्दमा
रम्दा रम्दै
छैन अब-
त्यो प्राण भित्रको प्राण!
कति नमिठो आकृति कोरिएला
त्यो मगजमा आमाको?
हिजोसम्म उनको पेटको भित्ताले
नादान पाउको झट्का खप्थ्यो;
आज, केबल छल गर्ने दैब छन्!
चल्ने उनको, नचल्ने उसको मुटु छ!
अनि, उठ्न नचाहने आमा र
अब नउठ्ने शिशु, दुवै अचेत छन्।
घाउ यो कस्तो,
सहानुभूतिको न दुई शब्द,
न त ओगटि नसक्नु पीडाको केही अर्थ!
भोगाइको तरङ्ग बीच,
अडबङ्गे सोचाइको आगमन हुन्छ।
न आमाको पोल्टो,
न कोखबाट खोसिएको रहर भरिन्छ।
आजको दिन यसै गयो,
भोली उनको मुहार उज्यालो होस्!
एउटाले आमाका थुप्रै अनौठा कहानी नखोसून्!
एक झै अनेकले उनको पोल्टो भरियोस्!
अनि, त्यो धपक्क जून
उनमा कहिल्यै पर्न नभूलोस् !!