आयुर्वेद कम्पनीहरुले आफूले उत्पादन गर्ने र वितरण गर्ने आयुर्वेदिक औषधिमा अत्यावश्यकीय तत्वका रुपमा सिसा (लिड) हाल्ने गर्छन्। लिड यस्तो विषालु पदार्थ हो, जसले शरीरमा गम्भीर असर गर्छ र बढी डोज भएमा प्राणघातक पनि हुन्छ।
लिड विषालु धातुको रुपमा शताब्दिऔंदेखि चिनिँदैं आएको वस्तु हो। यो सजिलै पाउडरको रुपमा परिवर्तन गर्न सकिने नरम धातु पनि हो। आयुर्वेदका औषधिका थुप्रै मिश्रणमा लिड रहेको पाइएको छ। आयुर्वेदिक औषधिका दुई वृहत प्रकार हुन्छन्। एउटा जडिबुटीमा आधारित हुन्छन् भने अर्को धातु र खनिज पदार्थ। जडिबुटीमा धातु र खनिज पदार्थ (भष्म)लाई मिसिदा रसशास्त्रको रुपमा चिनियो।
धातुमा सुन, सिसा र चाँदी प्रमुख रुपमा पर्छन्। लिडजस्ता धातुलाई धेरै मात्रामा मिसाउँदा मानव शरीरलाई फाइदा पुग्छ भन्ने गलत सोचाई आयुर्वेदिक औषधिका उत्पादकहरुको छ। तर, सत्य के हो भने लिडको सम्पर्कमा आउँदा असर नगर्ने त्यस्तो कुनै पनि शरीरका अंग या प्रणाली छैनन्। विशेष रुपमा यसले दिमागको वृद्धि, स्नायु, मिर्गौला, फोक्सो तथा प्रजनन प्रणालीमा क्षति पुर्याउँछन्। गर्भवती महिला सिसाको सम्पर्कमा आइन् भने त गर्भमा हुर्किरहेको शिशुको अंग विकासमा नकारात्मक असर पर्छ र समय नपुग्दै बच्चाको जन्म हुने खतरा रहन्छ।
केही वर्षअघि न्युयोर्कको पब्लिक हेल्थ एजेन्सीले रगतमा लिडको मात्रा उच्च भएका गर्भवती महिलाका ६ केस फेला पारेको थियो। ती सबै जना दक्षिण एशियाबाट आएकाहरु थिए। उनीहरुले आफनो छालाका लागि, गर्भका लागि र हुर्किरहेको शिशुका लागि भन्दै आयुर्वेदिक औषधि लिइरहेका थिए। एजेन्सीले आफ्नो अनुसन्धानका क्रममा थुप्रै आयुर्वेदिक औषधिमा लिड रहेको फेला पारेको थियो। तिनीहरुमा, स्वर्णयुक्त, गर्भधारक योगजाम्बु्रलिन, कन्कायनबटि, लक्ष्मीविलास रस, लक्ष्मणलुहा, गर्भपलरस, महासुदर्शन, महाशक्तिरसायन, महायोगराजगुग्गलु (चाँदीसहित), प्रेग्निता, सोरिन, पिग्मेन्टो, बसन्तकुसुमाररस, बत्भीध्वानसनरस रहेका थिए।
यी औषधि वैद्यनाथ, ब्यास र डाबरलगायतबाट उत्पादन भएका थिए। रगतमार्फत् लिड कति छ भनेर पाइन्छ। रगतमा हुने लिडको कुनै पनि परिमाण सुरक्षित छैन।यसले बच्चाको दिमागको वृद्धिलाई क्षति पु¥याउँछ। लामोसमयसम्म लिडको सम्पर्कमा आउदा मानसिक रुपमा असर पुर्याउँछ।
रगतमा लिडको मात्रा १० माइक्रोग्राम प्रति डेसिलिटर भएमा बालबालिकाको मानसिक वृद्धि सुस्त पार्छ, आइक्यु क्षमता घटाउँछ, सुन्ने क्षमतामा असर पार्छ। यस्तै, १० देखि २० माइक्रोग्राम प्रति डेसिलिटर भएमा स्नायु प्रणालीमा गम्भीर असर पर्छ र भिटामिन डिको उत्पादनलाई असर पार्छ। २१ देखि ५० सम्म भयो भने रक्तकोषको उत्पादन घटाउँछ, हेमोग्लोबिन सेन्थेसिसलाई घटाउँछ। ५० भन्दा माथि भयो भने गम्भीर खालको पेट दुखाई, मिर्गौला फेल हुने तथा दिमागको कोषमा क्षति पुग्ने हुन्छ। १ सय भन्दा माथि भयो भने मृत्युसम्म हुनसक्छ।
बालबालिका र वयस्कमा ब्लडलेभल ४० वा सोभन्दा बढी माइक्रोग्राम प्रति डेसिलिटर देखियो भने मेडिकल इमर्जेन्सीको अवस्था हुन्छ र उनीहरुलाई तत्काल लिड निकाल्ने थेरापी सुरु गरिहाल्नुपर्छ। यद्यपि सबै खालका आयुर्वेदिक उत्पादनमा लिड हुँदैंन पनि। लाखौ मानिसले आयुर्वेदिक उत्पादनहरु उपभोग गर्छन्। लिडले बालबालिकाको दिमागको वृद्धिमा क्षति पुर्याउँछ र लामो समयसम्म लिडको सम्पर्कमा रहिरह्यो भने मानसिक रुपमा अपांग नै बनाउँन सक्छ।
उच्च डोज प्राणघातक नै हुन सक्छ। यद्यपि पेन्ट, कस्मेटिक साधन तथा क्यान्डीका उत्पादक अथवा ग्यासोलिन प्रक्रियामा लिड तिनीहरुको फाइनल उत्पादनमा लिड असल तत्व पनि हो। पेन्टमा लिड मिसाउँदा त्यसले चमक दिलाउँछ। त्यसैले पेन्ट उत्पादकहरुले यसलाई सजिलै परित्याग गर्न सक्दैनन्, तर, यो कत्तिको विषालु भन्नेचाहिँ हुन्छ। त्यस्तै, सौन्दर्यसाधनहरु जस्तै, लिपिस्टिक र मस्कारा (गाजल) मा मिसावट भएको लिडले यिनीहरुलाई आकर्षक बनाउँछन्। पेट्रोलियममा मिसाइएको लिडले उच्च क्षमतामा काम गर्छ।
आयुर्वेदक उत्पादकहरुले के विश्वास गर्छन् भने लिड मिसाउँनाले औषधिलाई समृद्ध पार्छ। तर, यसविपरित लिड मिसाउनु विष मिसाउनुजस्तै हुन्छ। बालबालिकाहरु सबैभन्दा बढी सम्पर्कमा आउने भनेको घरभित्र लगाउने पेन्टमार्फत् हो। त्यसैले अधिकांश देशमा घरभित्र लगाउँने पेन्टमाथि प्रतिबन्ध लगाइएको छ। २० औं शताब्दिको सुरुदेखि नै अष्ट्रेलियालगायत थुप्रै पश्चिमी युरोपेली मुलुकमा लिडयुक्त पेन्टमाथि प्रतिबन्ध लगाइएको थियो।
अमेरिकामा भने सन् १९७८ पछि मात्र प्रतिबन्ध लगाइएको हो। त्यसअघि बनेका घरमा बस्ने बालबालिका भने लिडको खतरामा छन्। अमेरिकाको सिडिसीको लिड प्वाइजनिङ ब्रान्चकी प्रमुख डा. मारी जाँ ब्राउनले एक लेखमा भनेकी छन्, ‘लिड मिसाइएको पेन्टभन्दा लिड मिसाइएको घरेलु उपचार र औषधिको उपभोग बढी खतरनाक हुन्छ।’ त्यसैले आयुर्वेदिक औषधिमा लिडको मिसावटबारे अनुसन्धान र विश्लेषण गर्न सरकारले अनुसन्धान टिम स्थापना गर्नुपर्छ। अर्कोतिर, लिड भएका र नभएका उत्पादनबारे जनतलाई सचेत गराउनुपर्छ।
(डा सापकोटा मेडिकल इमिडिमियोलोजिष्ट हुन्, उनले विश्व स्वास्थ्य संगठन र अमेरिकाको फेडेरल पब्लिक हेल्थ एजेन्सीअन्तर्गत रहेर काम गरिसकेका छन्।)