काठमाडौं – नेपालमा प्राचिन उपचार विधिको माध्यमबाट कतिपय जटिल रोगहरुको उपचार हुनसक्ने विभिन्न प्रयोगबाट प्रमाणित भइसकेको छ। परम्परागत उपचार पद्धति कल्पसनदबाट क्यान्सरका बिरामीले समेत लाभ पाउने बताइएको छ। राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा यो विधिमाथि चर्चा गर्दै लाभदायी रहेको बताइएको हो।
कार्यक्रममा आयुर्वेदिक उपचार पद्धति अथात् कल्पसनदलाई प्रवद्र्धन गर्नुपर्नेमा पूर्व मुख्यसचिव लिलामणी पौडेलले जोड दिए। उनले भने, ‘नेपालले प्रकृतिबाट पाएको उपहार जुन हिमालय जहाँ अमृत समान जडिबुटिहरु छन् त्यसको उच्चत्तम प्रयोग गर्न आवश्यक छ।’
कल्पसनद उपचार विधिलाई प्रवद्र्धन नीति नभएको डा. वंशिधर मिश्रले बताए। ‘सरकारी स्तरबाट यसको प्रवद्र्धन गर्नका लागि कोष, सक्रिय संयन्त्र र खोज अनुसन्धानको लागि व्यवस्थित ठाउँको आवश्यकता रहेको छ,’ उनले भने, ‘नेपाललाई परम्परागत चिकित्सामा पर्यटकीय स्थलका रुपमा विश्वसामु चिनाउन पनि यसले ठूलो भुमिका खेल्न भएकाले यो अवसर गुमाउन हुन्न।’
कल्पसनद विधीलाई अभियनको रुपमा नै अगाडी बढाउन कमलराज जोशी लागि परेका छन्। हजुरबुवा बझाङ्गी राजपरिवारका राजगुरु भएकाले उनले यो विधि सिक्ने मौका पाएका थिए। सोहीे आयुर्वेद सम्बन्धि ज्ञानलाई क्यान्सर तथा बंशाणुगत रोगहरुको उपचारमा उपयोग गर्न लागि परेका छन्। उनी भन्छन्, ‘यो उपचार पद्धतिले आधुनिक चिकित्सा विज्ञानलाई पनि चुनैतीको दिन्छ।’
नेपालको ग्रामीण तथा हिमाली भेगमा प्रचलनमा रहेको परम्परागत उपचार पद्धतिलाई आधुनिकिकरण गरी सरल र सहज तरिकाले सबैको पहुँचमा पुर्याउन आफू लागि परेको उनी बताउँछन्।
शिक्षण अस्पताल महाराजगञ्जका क्यान्सर विशेषज्ञ डा. रोहीत कुमार पोखरेल आफ्नो व्यक्तिगत अनुभवमा यो विधि उत्तम रहेको बताउँछन्।उनी भन्छन् ‘यो विधि प्रभावकारी छ भन्ने प्रमाणित भए पनि आजको बैज्ञानिक उपचार पद्धतिसँग प्रतिष्पर्धा गर्न यसको विशिष्ट रुपमा खोज तथा अनुसन्धान गर्न आवश्यक रहेको छ।’ यसका लागि भारतको पनि आयुर्वेदिक उपचार संसारमै प्रख्यात भएकाले सहकार्य गर्न उनले सुझाए।
उनको कुरासँग सहमति जनाउँदै कार्यक्रममा अतिथि रहेका भारतका डाटर पुनित गुप्ताले नेपालले पहिला यसबारे स्पष्ट निति लिनुपर्ने बताए । त्यसपछि भारतका तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए।
हिमाली क्षेत्रमा पाइने जडिबुटिको माध्यमबाट रोगको उपचार भएकाले नेपाललाई संसारमा चिनाउने यो उत्तम उपाय समेत रहेको कार्यक्रमका सहभागीले बताएका छन्। कल्पसनद अध्ययन प्रतिष्ठान, बझाङ र कल्पसनद ट्रष्ट काठमाडौंले उक्त कार्यक्रम गरेको हो।
बझाङमा प्राचिनकालमा गुरुकुलमा यो विधिको अध्यापन गराइन्थ्यो । गाउँमा वैद्यहरु तयार पारेर गाउँमै जटिल रोगहरुको उपचार गरिन्थ्यो। आधुनिक चिकित्सा पद्धतिको विकास भएसँगै यो छायाँमा पर्दै गएको छ । क्यान्सको उपचारमा आधुनिक चिकित्सा पद्धतिले तुलनात्मक रुपमा राम्रो नतिजा दिन नसके पछि पुरानै पद्धतिबारे बहस फेरि चल्न थालेको छ।