विश्वको कुनै विकसित देशमा भएको भए डा. राजेन्द्र ज्ञवाली यतिन्जेल ‘सेलिब्रिटी’ भइसक्थे। तर, नेपालजस्तो मुलुकमा न उनको चर्चा भयो, न कामको खोजीनिती। नेपाल सरकारले उनलाई यस वर्षको बिज्ञान पुरस्कार प्रदान ग¥यो। एक कार्यक्रममा उनी पुरस्कृत भए। यत्तिमै सकियो। उनको खोज उपयोगी भएको राज्यले स्वीकार्दा पनि जनमानस भने उनको खोजबारे अनभिज्ञ रह्यो। कारण, नेपालीले पनि वैज्ञानिक अनुसन्धान गर्छन् तर त्यसको उपयोग गर्ने बलियो संयन्त्र न राज्यसँग छ, न त निजी क्षेत्र नै त्यो हैसियतमा पुगेको छ।
के खोजे उनले?
नेपाल सरकारले उनलाई क्यान्सर हुने सम्भावना न्यूनीकरण गर्ने नेपाली जडीबुटीद्वारा निर्मित औषधि पत्ता लगाएबापत यस वर्षको विज्ञान पुरस्कार प्रदान गरेको हो। उनले नेपाली जनसमाजमै परम्परागत रुपमा प्रयोग हुँदै आएका जडीबुटीको अनुुसन्धान गरेका थिए। उक्त जडीबुटीले रोग निको पार्ने वैज्ञानिक कारणसहित त्यसलाई उपयोग गर्न सकिने नयाँ तरिका पनि उनले पहिचान गरेका छन्।
विभिन्न जडीबुटीमाथि अनुसन्धान गरेर उनीहरुको प्रयोगबाट क्यान्सर रोग नियन्त्रण गर्न सकिने प्रमाणित गरेका छन्। उनको अनुसन्धानमा आँप (फल)को बोक्रा (जुस बनाउँदा खेर जाने कुरा)बाट पाठेघरको मुखको क्यान्सर र ग्यास्ट्रिकका कारण हुने पेटको क्यान्सर निको हुनसक्ने तरिका भेटिएको छ। यस्तो जडीबुटीजन्य औषधिले शरीरका कोषिकाभित्र प्रवेश गरेपछि कुन ठाउँमा पुगेर कस्तो जीव–रासायनिक प्रतिक्रिया गर्दा क्यान्सर नियन्त्रण हुने रहेछ भन्ने पत्ता लागेको उनले बताएका छन्।
यसैगरी, सुन्तलाको बोक्राबाट पनि पाठेघर र पेटको क्यान्सर रोक्ने औषधि बनाउने सकिने उनको अनुसन्धानको निष्कर्ष छ। नेपालको दामन क्षेत्रमा पाइने भैँस भनिने विरुवालाई प्रयोगशालामा जाँच गर्दा यो समेत क्यान्सर रोग निको पार्नका लागि उपयोगी देखिएको छ। यी विभिन्न वनस्पतिको रासायनिक तत्वले कसरी क्यान्सर रोक्न भूमिका खेल्छन् भन्ने विषयमा उनले विस्तृत अनुसन्धान गरेका छन्।
‘क्यान्सर भएपछि क्यान्सरका सेल वृद्धि हुन नदिन यी जडीबुटीको रसायनको भूमिका देखिएको छ, यो औषधि आविष्कार गर्ने प्रक्रियाको प्रारम्भिक आधार पूरा भएको अवस्था हो,’ उनले भने। हरियो चिया, जौ र अनारको बोक्राको निश्चित मात्राको समिश्रणले स्तन क्यान्सर नियन्त्रण गर्ने उनको अनुसन्धानबाट प्रमाणित भएको छ। यसलाई चियाका रुपमा सेवन गर्न सकिने औषधि पनि तुरुन्तै उत्पादन गर्न सकिने उनी सुनाउँछन्। उनले पुरस्कार पाएको पनि यही खोजबाट हो। क्यान्सर नियन्त्रणका लागि गरिएको खोजबाट पुरस्कृत भए पनि अन्य रोगमा समेत उनले अनुसन्धान गरेका छन्। दुधेझारलाई रक्त क्यान्सर (ल्युकेमिया) निको पार्न प्रयोग गर्न सकिने पनि उनले पत्ता लगाएका छन्।
सिप्लीगान, निम र जिनेसेनको समिश्रणबाट बनाइएको औषधिले मधुमेह नियन्त्रणका लागि प्रभावकारी भूमिका खेलेको उनले बताए। जामुनको दाना, गुणमार र सिस्नोको पातको निश्चित मात्राको मिसावटबाट पनि मधुमेहका बिरामीलाई लाभ पुग्ने उनको अनुसन्धानले पुष्टि गरेको छ। अम्बाको पातलाई परम्परागत रुपमै ‘एन्टी–डाइबेटिक’ भनिन्छ।
यसमा गरिएको वैज्ञानिक अनुसन्धानको नतिजा पनि सन्तोषजनक आएको उनले बताए। परम्परागत रुपमा घाउ, खटिरा, चोटपटक आदिमा प्रयोग हुँदै आएका १२ वटा जडीबुटीको प्रारम्भिक मूल्यांकन गरी औषधिजन्य तीनवटा छनोट गरेर मलहम आविष्कार गरेर त्यसको सफल परीक्षण भइसकेको उनको भनाइ छ। काफल, कोइरालो र गुराँसको बोक्राबाट मल्हम बनाउन सकिन्छ।
‘हामीले मुसामा समेत परीक्षण गरेका थियौँ, बजारमा पाइने मल्हमभन्दा बढी असरदार प्रमाणित भइसकेको छ,’ उनले भने। पखाला लाग्दा प्रयोग हुने ठूलो ओखती, घसिङ्ग्रेबाट आइडेक्स मलहम, चिउरीको घिउबाट दुखाइको जडीबुटीजन्य औषधि व्यावसायिक रुपमै उत्पादन गर्न सकिने सूत्र तयार गरी प्रयोगशालामा जाँच समेत भइसकेको छ।
त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा एमएस्सी गर्दा जडीबुटीप्रति उनको मोह पलाएको थियो। नेपालमा परम्परागत रुपमा प्रयोग हुँदै आएका जडीबुटीमाथि केही अनुसन्धान गरी पहिलोपल्ट सन् १९९८ मा उनले जर्नलमा लेख प्रकाशित गरेका थिए। त्यसपछि केही समय त्रिभुवन विश्वविद्यालयमै अध्यापन गराएका उनले सरकारी छात्रवृत्तिमा दक्षिण कोरिया गएर पिएचडी गर्ने अवसर पाए। त्यहाँ पनि उनको खोज भने नेपाली बनस्पतिको औषधिजन्य महत्वमाथि नै रह्यो। उनले थपे, ‘सुपरभाइजरले मेरो प्रस्ताव स्वीकारेपछि नेपाल आएर ४७ प्रकारका जडीबुटी संकलन गरेँ। त्यहाँको प्रयोगशालामा पुर्याएर त्यसको प्रभावकारिता जाँच गरियो। धेरै सकारात्मक नतिजा हासिल भए।’
चोसुन युनिभर्सिटीमा उनले नेपाली जडीबुटीको प्रभावकारितामाथि पिएचडी गरेका हुन्। पिएचडीमा उनको शोधपत्र नै ‘वनस्पतिको औषधिजन्य गुण तथा गुणस्तर निर्धारणका लागि अपनाउन सकिने प्रविधिको खोजी’मा आधारित छ। पछिल्लो समय क्यान्सरमा जडीबुटीको असरमाथि खोज गर्न भने उनको पोस्ट डक्टरेटको पढाइले भूमिका खेलेको छ। ‘पोस्ट डक्टरेट गर्दा क्यान्सर कोषिकाहरु अध्ययन र अनुसन्धान गर्ने अवसर पाएपछि मलाई क्यान्सरमा नेपाली जडीबुटीको प्रभावकारिता खोज्न धेरै सहज भएको हो,’ उनले भने।
हरेक रोग नियन्त्रण
लामो समयदेखि अनुसन्धानरत उनलाई लाग्छ, नेपालमा भएका जडीबुटीबाट निदान गर्न नसकिने कुनै रोग छैन। उनी भन्छन्, ‘नेपालमा पहिलेदेखि जुन रोगका लागि ती जडीबुटीको प्रयोग भइरहेको छ, त्यसैमा प्रभावकारिता जाँच्दा नतिजा सकारात्मक प्राप्त भएको छ। यसमा म भाग्यमानी भएर होइन, नेपाली वनस्पति नै रोगको निदानका लागि उपयोगी छन्।’
नेपाली उद्योगहरु अगाडि बढ्न चाहेका खण्डमा नेपालमै थुप्रै प्रकारका औषधि बनाउन सकिने सम्भावना उनले औँल्याएका छन्। नेपालमा आयुर्वेदिक औषधिको खपत र उत्पादन हेर्ने हो भने पनि उनी ठूलो सम्भावना देख्छन्। ‘अहिले नेपालका आयुर्वेदिक उद्योगले कुल मागमध्ये १५ प्रतिशत औषधि मात्रै पूरा गर्न सकेका छन्। नेपालका ८५ प्रतिशत जडीबुटी भने कच्चा रुपमै विदेश निर्यात भइरहेका छन्।’
नेपालमै औषधि उत्पादन गर्न सकिने सम्भावना उनले देखेका छन्। उनले भने, ‘यसका लागि नेपालका औषधि उद्योग अघि सर्नुपर्छ, हामी सहयोग गर्न तयार छौँ।’ उनले नेपाली वनस्पतिमा रहेको औषधीय गुणको प्रचारप्रसार र व्यापार विस्तारको अझै अभाव रहेको समेत औँल्याए। अन्तर्राष्ट्रिय स्तरमा यसको महत्व दर्शाउन सकियो भने नेपालको वनस्पति क्षेत्रका महत्व अझै बढ्ने उनले देखेका छन्। उनी भन्छन्, ‘हिमालयन जडीबुटीको प्रयोग गरेर हरेक रोगको निदान गर्न सकिन्छ भन्ने कुरामा म विश्वस्त भइसकेको छु।’ पहिल्यैदेखि उपचारको अभ्यास भइसकेकाले पनि अनुसन्धान गरी औषधीय गुण पत्ता लगाउन सहज रहेको उनको भनाइ छ।
गुणस्तरको सूत्र
जडीबुटीको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि गुणस्तरमा प्रश्न उठ्ने गरेको छ। नेपालका जडीबुटी अन्तर्राष्ट्रिय बजारमा पठाउनका लागि गुणस्तर निर्धारण गर्न सकिने उपाय पनि उनले पत्ता लगाएका छन्। जडीबुटीजन्य औषधिको गुणस्तर सुधारका लागि नयाँ प्रविधिको विकास गरेबापत उनले सन् २००८ मै टिडब्लुएएस अवार्डसमेत प्राप्त गरेका थिए। ‘जडीबुटी माटोजन्य स्रोतबाट उत्पादन हुने भएकाले त्यसमा रहेको जीवाणुको संक्रमण हुन्छ नै। त्यसैले गुणस्तरीय पनि मानिँदैन। यो पनि एउटा विकिरणबाट नियन्त्रण गर्न सकिन्छ,’ उनी भन्छन्।
उक्त प्रयोग समेत उनले गरिसकेका छन्। जठीमधु नामक जडीबुटीमा गरिएको प्रयोगले गुणस्तरमा ब्यापक सुधार हुने उनको अनुभव छ। उनी भन्छन्, ‘एउटा विकिरणको माध्यमबाट खराब जीवाणु नष्ट गर्न सकिने र लामा समय भण्डारण गर्न सकिने प्रमाणित भइसकेको छ।’