स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी नै गरी देशभर भीडभाड हुने कुनै गतिविधि नगर्न भन्दै सामाजिक/भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग र साबुन पानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न अनुरोध गरेको हो।
झट्ट सुन्दा/हेर्दा धेरैलाई यो फेरी बन्देज किन लगाउनुपर्यो भन्ने लाग्न पनि सक्छ। अहिले कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै हामी जसरी निर्धक्क हिडिरहेका छौं र जोखिम कम हुँदै गएको महसुस गरेका छौँ, त्यसले जोखिम झनै बढाउन सक्छ। यस्तो अवस्थामा फेरी किन सावधानी अपनाउनु भन्ने लाग्न स्वाभाविक हो। तर यसको कारण छ।
पछिल्लो समय युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय सुरु भएको छ भन्दा फरक नपर्ला। त्यस्तै असर नेपालमा पनि पर्न सक्छ। किनकी हाल मेरो जानकारीमा आएको एउटा घटनाले झस्काएको छ। फागुन ७ गते एउटा होटलमा करिब ५० जनाको जमघट भएको थियो। उक्त हलमा हावा आवत जावत हुने कुनै ठाउँ थिएन।
हलमा भित्रिने र बाहिरिने एउटै ढोका मात्र थियो। जमघट र खानपिन साँझ ६ बजेदेखि राति ११ बजेसम्म चल्यो। त्यसको एक सातापछि त्यही भेटघाटमा पुग्नु भएका एक व्यक्ति ज्वरो, खोकी र श्वास फेर्न समस्या भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुनुभयो।
उहाँमा कोरोना भाइरस पोजेटिभ देखिनुका साथै निमोनिया भइसकेको थियो। पाँच दिनको उपचारपछि उहाँ निको भएर घर फर्कनुभयो। तर अत्याउने किसिमको तथ्यांक त त्यो आएको थियो। जुन जमघटमा पुगेपछि पिसिआर गरेका ४० मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखियो। जसमध्ये ७ जना अस्पतालमा भर्ना पनि भए।
त्यो जमघटमा पुगेका मेरो एक जना आफन्त पनि निमोनिया देखिएपछि शुक्रराज अस्पतालमै चार दिन उपचार गराएपछि निको हुनुभयो। उहाँलाई एक दिन मात्र ९९ डिग्रि फरेनहाइट ज्वरो आयो तर खोकी पटक्कै थिएन। १० दिनपछि निमोनिया देखियो। ५ घण्टा एउटा जमघटनमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा होइन।
यसले कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ की भन्ने आशंका बढाएको छ। यो भाइरस कति संक्रामक किसिमको होला भनेर चिन्ता लिन जरुरी छ। त्यसैले तपाईहरु मनन गर्नुहोस्, जनस्वास्थ्य मापदण्डको पालना कत्तिको आवश्यक छ। त्यसैले भोजभतेर, भीडभाड सकेम्म नगरौं। जनस्वास्थ्यको मापदण्ड पालना गरौं।