दशैँ र दीपावली (तिहार) नेपालीहरूको महान् चाड हुन्। नयाँ लुगा, मीठा परिकार, रमाइलो भेटघाट र आकर्षक मेकअपले चाडपर्वलाई अझ विशेष बनाउँछन्। तर, यही समयमा खानपानमा हुने परिवर्तन, निद्राको कमी, अत्यधिक मेकअप, धुलो-धुवाँ र प्रदूषणका कारण छालामा विभिन्न समस्या देखिन सक्छन्।
अनुहार सुन्दर देखिनु मात्र पर्याप्त हुँदैन; छाला भित्री रूपमै स्वस्थ हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ। त्यसैले यस चाडपर्वमा छालाको प्राकृतिक चमक कायम राख्न र सम्भावित समस्याहरूबाट बच्न सही स्किन केयर (छालाको हेरचाह) अपनाऔँ।
दशैँ-तिहारमा छाला स्वस्थ राख्ने १० उपाय
१. दिनमा दुई पटक अनुहार सफा गर्नुहोस्
आफ्नो छालाको प्रकारअनुसार उपयुक्त र कोमल फेसवास प्रयोग गर्नुहोस्। अत्यधिक घोटेर अनुहार धुँदा छालाको प्राकृतिक सुरक्षा तहमा असर पर्न सक्छ।
२. सनस्क्रिन लगाउन नबिर्सनुहोस्
घाममा निस्कँदा एसपीएफ ३० वा सोभन्दा माथिको, ब्रोड स्पेक्ट्रम सुरक्षा दिने सनस्क्रिन प्रयोग गर्नुहोस्। बाहिर लामो समय बस्दा करिब प्रत्येक दुई घण्टामा र पसिना आएपछि पुनः लगाउनुहोस्।
३. छालालाई मोइस्चराइज गर्नुहोस्
आफ्नो छालाको प्रकारअनुसार उपयुक्त मोइस्चराइजर प्रयोग गर्नुहोस्। यसले छालाको ओसिलोपन कायम राख्न र सुख्खापन कम गर्न मद्दत गर्छ।
४. मेकअप गर्नुअघि र हटाएपछि छालाको हेरचाह गर्नुहोस्
आफ्नो छालालाई नसुहाउने वा म्याद गुज्रिएका कस्मेटिक सामग्री प्रयोग नगर्नुहोस्। राति सुत्नुअघि मेकअप राम्ररी हटाउनुहोस्। साथै, मेकअपका सामग्री अरूसँग साझा नगर्नुहोस्।
५. सन्तुलित खानपान अपनाउनुहोस्
फलफूल, हरियो सागसब्जी, प्रोटिनयुक्त खाना र पर्याप्त पानीलाई प्राथमिकता दिनुहोस्। मिठाई तथा अत्यधिक चिनी भएका पेय पदार्थहरू सीमित गर्नुहोस्। सन्तुलित आहारले समग्र स्वास्थ्यका साथै छालालाई पनि स्वस्थ राख्छ।
६. पर्याप्त निद्रा लिनुहोस्
चाडपर्वमा रमाइलो गर्दा पनि पर्याप्त निद्राका लागि समय छुट्याउनुहोस्। निद्राको कमीले अनुहार थकित देखिने र आँखामुनि कालोपना (डार्क सर्कल) अझ स्पष्ट हुने हुन सक्छ।
७. नयाँ कस्मेटिक सामग्री प्रयोग गर्दा सावधानी अपनाउनुहोस्
नयाँ क्रिम, फेस सिरम वा मेकअप प्रयोग गर्दा छालामा जलन, रातोपन वा चिलाउने समस्या हुन सक्छ। संवेदनशील छाला भएकाहरूले नयाँ सामग्री प्रयोग गर्नुअघि छालाको सानो क्षेत्रमा परीक्षण गर्नु उचित हुन्छ।
८. पटाका र धुवाँबाट छालालाई जोगाउनुहोस्
तिहारमा पटाकाबाट निस्कने ताप, धुवाँ र रासायनिक पदार्थले छालामा जलन वा चोट पुर्याउन सक्छन्। सम्भव भएसम्म सुरक्षित दूरी कायम राख्नुहोस्। पटाका वा आगोले पोलेमा प्रभावित भागलाई बगिरहेको चिसो पानीमुनि २० मिनेटसम्म राख्नुहोस्। पोलेको ठाउँमा बरफ, टूथपेस्ट वा अन्य घरेलु पदार्थ नलगाउनुहोस्। गम्भीर रूपमा पोलेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जानुहोस्।
९. छालामा समस्या देखिएमा जथाभावी औषधि प्रयोग नगर्नुहोस्
अनुहारमा डन्डिफोर, रातोपन, चिलाउने समस्या वा एलर्जी देखिएमा आफूखुसी स्टेरोइडयुक्त क्रिम प्रयोग नगर्नुहोस्। गलत औषधिले समस्यालाई अझ बिगार्न सक्छ। समस्या कायम रहेमा छाला रोग विशेषज्ञसँग परामर्श लिनुहोस्।
१०. आफ्नो छालाको प्रकारअनुसार स्किन केयर अपनाउनुहोस्
सबैको छाला एउटै प्रकारको हुँदैन। तैलीय, सुख्खा, मिश्रित र संवेदनशील छालाका लागि आवश्यक उत्पादनहरू फरक हुन सक्छन्। महँगा उत्पादनभन्दा पनि आफ्नो छालालाई उपयुक्त हुने र प्रमाणमा आधारित स्किन केयर प्रविधि रोज्नु महत्त्वपूर्ण हुन्छ।
अन्तिम सन्देश
दशैँ-तिहारमा सुन्दर देखिनका लागि महँगा क्रिम वा धेरै कस्मेटिक सामग्री नै आवश्यक पर्छ भन्ने छैन। नियमित सफाइ, मोइस्चराइजर, सनस्क्रिन, सन्तुलित खानपान र पर्याप्त निद्रा नै स्वस्थ छालाका मुख्य आधार हुन्।
यो चाडपर्वमा आफ्नो छालाको ख्याल राखौँ, स्वस्थ रहौँ र आत्मविश्वासका साथ मुस्कुराऔँ।
तपाईं र तपाईंको सम्पूर्ण परिवारमा दशैँ तथा दीपावलीको हार्दिक मंगलमय शुभकामना!
लेखक: डा. दिपु कुमार यादव छाला तथा यौन रोग विभाग अन्तर्गत रेजिडेन्ट डाक्टर हुन्।)