दाँत दुख्नु दन्त चिकित्सककहाँ जाने सबैभन्दा सामान्य कारणमध्ये एक हो। दाँतमा हल्का दुखाइदेखि तीव्र र धड्किने किसिमको पीडासम्म हुन सक्छ। यस्तो दुखाइले दाँत वा वरपरका तन्तुमा कुनै समस्या भएको संकेत गर्छ।
लामो समयसम्म रहने र असह्य दाँत दुखाइको प्रमुख कारणमध्ये दाँतको भित्री भागमा रहेको पल्प (Dental Pulp अर्थात् दाँतको स्नायु तथा रक्तनलीयुक्त भाग) मा हुने संक्रमण वा सुजन एक हो। यस्तो अवस्थामा दुखाइ कम गर्न र प्राकृतिक दाँत जोगाउन रुट क्यानल उपचार प्रभावकारी विकल्प हुन सक्छ।
डेन्टल पल्प दाँतको सबैभन्दा भित्री भाग हो, जसमा स्नायु, रक्तनली र संयोजी तन्तुहरू हुन्छन्। गहिरो दन्तक्षय, दाँत चर्किनु वा भाँचिनु, चोटपटक लाग्नु वा पटक-पटक दन्त उपचार गरिनुका कारण यसमा संक्रमण वा सुजन हुन सक्छ। यसले अत्यधिक पीडा उत्पन्न गर्न सक्छ।
यसका सामान्य लक्षणमा तातो वा चिसो खानेकुरा खाँदा झमझमाउनु, चपाउँदा दुख्नु, गिजा सुन्निनु तथा कहिलेकाहीँ पीप बग्नु वा मुखमा नराम्रो स्वाद आउनु पर्छन्। कतिपय अवस्थामा दाँतको स्नायु निष्क्रिय भएपछि दुखाइ अस्थायी रूपमा कम हुन सक्छ। तर, दुखाइ कम हुँदैमा संक्रमण निको भएको हुँदैन। संक्रमण भित्रभित्रै फैलिन सक्छ।
रुट क्यानल उपचार भनेको दाँतको संक्रमित वा क्षतिग्रस्त दन्तमज्जा हटाउने, दाँतका जराभित्र रहेका नलीहरू सफा गरी संक्रमणमुक्त बनाउने र त्यसपछि तिनलाई उपयुक्त पदार्थले भरेर बन्द गर्ने उपचार विधि हो। यसले संक्रमण फैलिनबाट रोक्न र प्राकृतिक दाँत जोगाउन मद्दत गर्छ। यो उपचार नगरिएमा अन्ततः दाँत निकाल्नुपर्ने अवस्था आउन सक्छ।
रुट क्यानल उपचारबारे भ्रम र वास्तविकता
धेरै मानिस पुराना गलत धारणा र अरूले सुनाएका अतिरञ्जित अनुभवका कारण रुट क्यानल उपचारसँग डराउँछन्। तर, आधुनिक प्रविधिबाट गरिने रुट क्यानल उपचार प्रभावकारी हुन्छ र सामान्यतया उपचारका क्रममा हुने पीडालाई स्थानीय एनेस्थेसियाको सहायताले नियन्त्रण गर्न सकिन्छ।
उपचारका क्रममा दन्त चिकित्सकले स्थानीय एनेस्थेसिया (लट्याउने औषधि) प्रयोग गरी उपचार गरिने भागलाई लाटो बनाउँछन्। त्यसैले यो उपचार सामान्य फिलिङ गर्दा हुने अनुभवजस्तै सहज हुन सक्छ। धेरैजसो बिरामीले उपचारपछि दुखाइबाट राहत पाउँछन्।
उपचारपछि केही असहजता वा हल्का दुखाइ हुन सक्छ, तर यो सामान्यतया अस्थायी हुन्छ। आवश्यकताअनुसार चिकित्सकको सल्लाहमा उपयुक्त दुखाइ कम गर्ने औषधिबाट यसलाई नियन्त्रण गर्न सकिन्छ।
रुट क्यानल उपचार पूरा गर्न दाँतको अवस्था र समस्याको जटिलताअनुसार एक वा एकभन्दा बढी पटक अस्पताल वा क्लिनिक जानुपर्ने हुन सक्छ। जराका नलीहरू सफा गरी बन्द गरेपछि दाँतको मजबुती, आकार र स्वरूप पुनःस्थापित गर्न प्रायः क्राउन (दाँतको खोल वा क्याप) राखिन्छ।
उपचारपछि नियमित रूपमा दाँत माझ्ने, दाँतको बीचमा रहेको फोहोर सफा गर्ने र समय-समयमा दन्त परीक्षण गराउने हो भने रुट क्यानल उपचार गरिएको दाँत लामो समयसम्म टिक्न सक्छ। उचित हेरचाह र आवश्यक पुनःस्थापनाले कतिपय अवस्थामा दाँत जीवनभर पनि टिक्न सक्छ।
दाँत दुखेमा समयमै उपचार गराउनुहोस्
दाँत दुख्ने समस्यालाई बेवास्ता गर्नु हुँदैन। उपचारमा ढिलाइ गर्दा संक्रमण बढ्न सक्छ र दाँतको जराको वरिपरि पीप जम्ने (डेन्टल एब्सेस), हड्डीमा क्षति पुग्ने वा गम्भीर अवस्थामा संक्रमण शरीरका अन्य भागसम्म फैलिने जोखिम हुन सक्छ।
समयमै उपचार गराउँदा समस्यालाई प्रारम्भिक अवस्थामै नियन्त्रण गर्न सकिन्छ। यसले उपचारलाई तुलनात्मक रूपमा सरल बनाउन र थप जटिल उपचारको आवश्यकता कम गर्न मद्दत गर्छ।
दाँत दुख्ने समस्यालाई डरका कारण बेवास्ता नगर्नुहोस्। समयमै दन्त चिकित्सकसँग परामर्श गरी उचित उपचार गराउनुहोस्। सही समयमा गरिएको उपचारले तपाईंको दाँतको स्वास्थ्य, चपाउने क्षमता र मुस्कानप्रतिको आत्मविश्वास कायम राख्न मद्दत गर्छ।
(डा जोशी सीडीएएनकी प्रेसिडेन्ट तथा वीर अस्पतालकी वरिष्ठ कन्सल्टेन्ट एन्डोडोन्टिस्ट हुन्)