यस वर्षको विश्व स्वास्थ्य दिवश मनाईंदै गर्दा हाम्रो स्वास्थ्य स्थिति कहाँ छ, स्वास्थ्यमा हाम्रा के उल्लेखनीय उपलब्धी रहे र अव कहाँ जोड दिनुपर्ने देखिन्छ भनेर खासै समिक्षा, छलफल, चर्चा परिचर्चा गरेको पाइएन। स्वास्थ्य कति महत्वपुर्ण छ भन्नेकुरा कोभिड–१९को महामारी र वायु प्रदुषणको दुष्प्रभावका समाचारले देखाए पनि राष्ट्रिय राजनीतिमा स्वास्थ्यले कमै महत्व पाउने गरेको अवस्था छ। गत वर्ष स्वास्थ्य दिवशका अवसरमा स्वास्थ्य मन्त्रीको शुभकामना सन्देश आएको थियो। यस वर्ष पनि प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्यमन्त्रीका शुभकामना सन्देशहरु आए, तर विश्व स्वास्थ्य दिवशका अवसरमा नभएर पाँचौं स्वास्थ्य बीमा दिवशका अवसरमा। यसलाई समग्र स्वास्थ्य भन्दा पनि स्वास्थ्य बीमा सरकारको प्राथमिकतामा रहेको अर्थात् राज्यको जोड अब स्वास्थ्य बाट स्वास्थ्य बीमामा खुम्चीन लागेको संकेतको रुपमा लिन सकिन्छ। स्वास्थ्य बीमा भनिए पनि यो चिकित्सा बीमा हो, उपचारको बीमा हो। तर यही बीमालेपनि पाँचौ वर्षमा आइपुग्दा पाँच प्रतिशत जनतालाई मात्र समेट्न सकेको अवस्था छ।
हाम्रो स्वास्थ्य स्थिति
स्वास्थ्य अवस्थाको कुरा गर्दा प्रायः के भन्ने गरिन्छ भने लामो राजनैतिक अस्थिरता र आन्तरिक द्वन्दका बावजुद हाम्रो स्वास्थ्य स्थितिमा प्रगति भएको छ। औषत आयु बढेको छ, मृत्युदर घडेको छ, गरिबी घटेको छ र जीवनस्तरमा सुधार आएको छ। उदाहरणका लागि सन् १९९१ र २०१६ वीचको अवधिमा पाँच वर्ष मुनिका बच्चाहरुको मृत्युदर (प्रतिहजार जीवित जन्ममा) १९७ बाट ३९ मा झरेको छ। मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) ८५० बाट २५४ मा झरेको छ। औषत आयु ५४ बर्ष (महिलाको ५३ वर्ष र पुरुषको ५५ वर्ष) थियो तर २०६८ मा आई पुग्दा नै ६७ बर्षमा (महिलाको ६८ वर्ष र पुरुषको ६६ वर्ष) मा बढेको छ। संसारभरी नै महिलाको औषत आयु पुरुषको भन्दा बढि हुने गरेकोमा नेपालमा चाहीं ठिक उल्टो अवस्था थियो। त्यसमा सुधार भएको छ। त्यस्तै गरिबीको रेखामुनी रहेको जनसंख्या ४२ प्रतिशत बाट १८ प्रतिशतमा घटेको छ। सन् १९९० देखि २०२० मा आइपुग्दा सम्ममा मानव विकास सुचकांक पनि ०.३८७ बाट ०.६०२ मा पुगेको छ। यी स्वास्थ्य सुचकहरुले हाम्रो स्वास्थ्य सकारात्मक दिशामा बढ्दैछ भन्ने देखाउँछन्।
स्वास्थ्य सुचकमा उल्लेखनीय प्रगति देखिए पनि दक्षिण एसीयाली मुलुकहरुसंग तुलना गर्दा हाम्रो स्थान औषत भन्दा कम देखिन्छ। मानव विकास सुचकांकमा हाम्रो अवस्था अफगानिस्तान र पाकिस्तान भन्दा मात्र राम्रो स्थितिमा छ। हामी श्रीलंका, माल्दीव्स, भुटान, भारत र बंगलादेश भन्दा पछाडि छौं। अनि हामी विश्वको औषत मानव विकास सुचकांक (०.७३७) भन्दा त निकै पछाडि अर्थात् १८९ देशमध्ये १४२ औं स्थानमा छौं। यसैवीच ह्याप्पीनेस इन्डेक्समा हामीले फड्को मारेको कुरा आयो। यसमा पनि हामी १४९ देशमध्ये ८७ औं स्थानमा छौं। यो भनेको हामी औषत भन्दा पछाडि नै छौं अर्थात् हामी भन्दा खुसी देश धेरै छन् भन्ने हो। करप्शन पर्सेप्शन इन्डेक्समात हामी अझ पछाडि धकेलिएर १८० देश मध्ये मध्ये ११७ औं स्थानमा छौं।
यसबाट के बुझ्न सकिन्छ भने एक त हामी विश्वको औषत भन्दा निकै पछाडि छौं, त्यसमाथि भएको प्रगति पनि सवै बर्ग, समुदाय र क्षेत्रमा समान छैन। बरु स्वास्थ्यसुचकहरुले असमानता बढेको देखाउँछन्। गरिब, दलित, सिमान्तकृत समुदाय र दुर्गम क्षेत्रका बासिन्दा स्वास्थ्य सुचकमा निकै पछाडि रहेका छन्। उदाहरणको लागि पाँच वर्ष मुनिका ब्राम्हण÷क्षेत्री बच्चाहरुको मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३१ जना छ भने दलित बच्चाहरुको ५१ जना, सवैभन्दा धनि समुहमा २२ जना छ भने सवैभन्दा गरिब समूहमा त्यसको ठिक दोव्वर छ, बाग्मती प्रदेशमा २३ छ भने कर्णाली प्रदेशमा ५१ज्ना।औषत आयु, साक्षरता, र गरिबीको अवस्था पनि त्यस्तै छ। उदाहरणको लागि ४२ प्रतिशत दलित गरिब छन् भने गैर दलित २४ प्रतिशत। यसले विभिन्न सामाजिक आर्थिक समुहबीच बिभेद र असमानता रहेको देखाउँछ। यस बर्षको विश्व स्वास्थ्य दिवशको नारा ‘स्वस्थ विश्वका लागि समतामुलक स्वास्थ्य सेवा’ ले पनि यस्तो विभेद र असमानताको सवालमाथि ध्यान आकृष्ट गर्न खोजेकोे छ।
पहिला भन्दा स्वास्थ्य सेवाको विस्तार भए पनि अधिकांस अस्पत्ताल काठमाण्डौ र ठुला शहरहरुमा नै केन्द्रित रहेका छन्। स्वास्थ्य सेवा शहरमुखीे नै छ। दुर्गम स्थानमा स्वास्थ्य सेवा पुग्न सकेको छैन।अहिले पनि त्यसमा खासै सुधार आएको छैन ।स्वास्थ्यमा निजि क्षेत्रकोसहभागिता निकै बढेको छ तर निजी स्वास्थ्य संस्थाहरु सेवा गर्न भन्दा नाफा कमाउन उद्यत देखिन्छन्।शहरका ठुला र महंगा अस्पतालको सेवा लिन जायजेथा बेच्नु पर्ने अवस्था छ। संविधानले स्वास्थ्यलाई मौलिक अधिकार मानेर निःशूल्क आधारभुत स्वास्थ्य सेवाको ग्यारेण्टी गरे पनि जनसंख्याको ठुलो हिस्सा यो अधिकार उपभोग गर्नबाट बञ्चित छ।
प्राथमिकतामा उपचार
हाम्रो स्वास्थ्य हामी कहाँ जन्मीएका छौं, कुन ठाउँमा बस्छौं, के काम गर्छौ, के खान्छौं, कस्तो हावामा सास फेर्छौ भन्ने कुरामा भर पर्दछ। हाम्रो खेति प्रणालीमा रासायनिक मल र विषादिको प्रभुत्व बढेको छ। हाम्रो खानपान विषाक्त बन्दैछ। हाम्रो आकाश धुलो र धुवाँले ढाकिएको छ।हामीले फेर्ने सास सुरक्षित छैन। हामीले पीउने पानी स्वच्छ छैन। जल, थल र आकास सवै प्रदुषित बनेको छ। अवस्था निकै जटिल छ। हाम्रो स्वास्थ्य सेवा बढी उपचारमुखी छ। रोकथाम भन्दा उपचारले प्राथमिकता पाउँछ। वायुमण्डलको प्रदुषण रोक्ने विषयले प्राथमिकता पाउँदैन। खाद्यान्न तथा फलफुलमा विषादी रोक्ने क्रियाकलापहरु प्राथमिकतामा पर्दैनन्, बरु रोग लागे पछि उपचार सेवाको व्यवस्था गर्न स्वास्थ्य बीमा प्राथमिकतामा पर्दछ।
एक पछि अर्को मान्छे नदीमा बगेर आएको देख्दा बगेका मान्छेलाई तानेर बचाउन खोजे जस्तो हाम्रो स्वास्थ्य प्रणालीले बिरामी परेर आएकालाई उपचार गरेर बचाउन खोज्दै छ। मान्छे किन यसरी बग्दैछन्, कहाँबाट बगेर आइरहेका छन्, कतै तुइन तर्नेबेला खसेर, पुल भत्केर पो होकी भनेर हेरिंदैनै। यसरी बगेर आएकालाई बचाउनु आवश्यक छ तर त्यो भन्दा बढि आवश्यक छ मान्छे बग्ने कारणको निवारण।
बिरामी परिहालेकालाई बचाउनु आवश्यक छ तर त्यो भन्दा बढि आवश्यक छ मान्छे बिरामी पर्ने कारण र निवारणको। स्वास्थ्य प्रणालीलाई चिकित्सा प्रणालीको साँघुरो घेरामा मात्र बुझ्न थालिएको छ। मान्छेको स्वास्थ्यमा चिकित्सा क्षेत्रको ठुलो महत्व छ तर चिकित्सा सेवाबाट मात्र मान्छेको स्वास्थ्य सुनिश्चित गर्न सकिंदैन। त्यसैले स्वास्थ्यमा बहुक्षेत्रको संलग्नता आवश्यक छ। खेति प्रणाली स्वस्थ हुन सकेन भने त्यसको असर मानव स्वास्थ्यमा पर्दछ। पर्याबरणीय प्रणाली उथलपुथल हुँदा मान्छेको स्वास्थ्यमा असर पर्दछ। वायुमण्डल प्रदुषित हुंदा हामी स्वस्थ हुन सक्दैनौं। त्यसैले स्वास्थ्यमा विभिन्न पक्षहरुको साझेदारी र सहकार्य आवश्यक छ।
परम्परागत चिकित्सा
हामीकहाँ त्यति वास्ता नगरिएको क्षेत्र परम्परागत चिकित्साको क्षेत्र हो। भन्न त परम्परागत चिकित्सालाई स्वास्थ्य प्रणालीकै अभिन्न अंग भनेर भनिन्छ तर व्यवहारमा परम्परागत पद्धति सधै उपेक्षित रहेको हुन्छ। संविधानमा पनि परम्परागत चिकित्सा पद्धतिकारुपमा रहेका आर्युवेद, प्राकृतिक चिकित्सा तथा होमीयोप्याथी लगायतका स्वास्थ्य पद्धतिको संरक्षण र प्रबर्धन गर्ने भनिएको छ।यस्ता परम्परागत चिकित्सा पद्धतिहरु हाम्रो मौलिक चिकित्सा पद्धति हुन्। योग तथा शारीरिक व्यायाम हाम्रो मौलिक परम्परा हो। आधुनिक चिकित्सा पद्धतिले ठिक पार्न नसकेका कतिपय स्वास्थ्य समस्या परम्परागत चिकित्सा पद्धतिबाट सम्भव भएको छ। परम्परागत चिकित्सा विशेषतःस्वस्थ जीवन शैली अँगाल्न तथा मान्छेको स्वास्थ्य प्रबर्धनगर्न मदत गर्ने चिकित्सा विधा हुन्। तर आजभोली परम्परागत चिकित्सा पद्धतिको जोड पनि उपचार तर्फ ढल्कंदै गएको देखिन्छ।
लोक स्वास्थ्य परम्परा
हाम्रो अर्को बलियो पक्ष भनेको हाम्रो लोक स्वास्थ्य परम्परा नै हो। हामी कहाँ चिकित्सा विधामा औपचारिक शिक्षा नलिएका तर बाउबाजेका पालादेखि परम्परागत स्वास्थ्योपचारमा संलग्न भएर अनुभवले खारिएका परम्परागत उपचारक तथा लोक स्वास्थ्यकर्मीहरुको ठुलो संख्या रहेको छ। उनीहरुले एक किसिमले सामुदायिक स्वास्थ्य स्वयंसेवककारुपमा गाउँघरमा सेवा पुर्याइरहेका छन्। स्वास्थ्य समस्या पर्दा यस्ता लोक स्वास्थ्यकर्मीहरुको सेवा र सहयोग लिने प्रचलन छ।
गाउँघरमा जान्नेमान्छे, धामीझाँक्री, गुरुवा, लामा, आम्ची, बैद्य्रकारुपमा चिनिने यस्ता लोक स्वास्थ्यकर्मीहरुले स्थानीयरुपमा पाइने जडिबुटीहरुको प्रयोग गर्दछन्। उपचारका क्रममा कतिपयले जडिबुटीका अलावा मन्त्रहरुको प्रयोग गरेर झारफुक पनि गर्दछन्। हुनत झारफुके उपचारकोे खासै उपादेयता देखिंदैन अनि अन्धविश्वासको उदाहरणको रुपमा लिइन्छ तर केही अध्ययनहरुले मनोसामाजिक स्वास्थ्यमा यस्ता उपचार विधिको पनि महत्व हुनसक्ने देखाएका छन्। जे होस लोक स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने जडिबुटी तथा उनीहरुको उपचारका बिधि र प्रविधिका बारेमा थप अध्ययन अनुसन्धानको खाँचो चाहीं देखिन्छ।
कोरोना महामारी फैलने बेला जडिबुटीको महत्व अझ बढेको छ। खासगरी निर्बिकल्प भएको बेला हाम्रो सहारा जडिबुटी र परम्परागत उपचारकहरु हुने गरेका छन्। महामारीको शुरुवातमा लोक स्वास्थ्यकर्मीहरुले सुझाए अनुसार विभिन्न प्रकारका जडिबुटीहरुको प्रयोग गरको देखियो। आर्युवेद तथा वैकल्पिक चिकित्सा विभागले पनि गुर्जो, असुरो, तुलसी, बेसार जस्ता जडिबुटीहरुले रोग प्रतिरोधी क्षमता बढाउन मदत गर्ने सुचना प्रकाशित गर्यो।
लोक स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने जडिबुटीहरु परम्परागतरुपमै प्रयोग हुंदै आएका जडिबुटी हुन्। तर सही सुचनाको अभावमा जथाभावी जडिबुटी प्रयोग गर्दा फाइदा भन्दा नोक्सान हुने सम्भावना पनि देखियो। गुर्जो बढी खभएर विगार गरेको समाचार पनि आए। यहाँ लोक स्वास्थ्यकर्मीहरु हाम्रो स्वास्थ्य प्रणालीमा जोड्न नसकिएको कुरा निकै खट्कियो।यदीउनीहरुस्वास्थ्य प्रणालीसंग जोडिएका हुन्थे भने आर्युवेद विभागलाई समुदायसंग अझ बलियोसंग जोड्न मदत पुग्ने थियो। यसले समयमै सहि सुचना प्रवाह गर्न मनि मदत पुग्ने थियोे अनि विभाग र लोक स्वास्थ्यकर्मीबीच ज्ञान साटासाट गर्ने मौका पनि दिने थियो।
जडिबुटी र घरेलु उपचार
जडिबुटीमाथि नेपालीहरुको अगाध आस्था र विश्वास छ। बालकृष्ण समको इच्छा कविताले पनि यो आस्था र विश्वास कति गाढा थियो भन्ने देखाउँछ। नेपालको गौरव गर्न लायक परम्पराको कुरा गर्दा जडिबुटीले ठाउँ पाउने गरेको छ। प्रधानमन्त्री केपी ओलीले विदेशी पत्रकारलाई अन्र्तवाता दिंदा पनि नेपालको बलियो पक्षकोरुपमा हिमाली जडिबुटीहरुलाई स्मरण गर्न पुग्नु भएको थियो। नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढि छ भन्ने उहाँको दावीका पछाडि लोक स्वास्थ्य परम्परा नै रहेको थियो। उहाँले सुझाएका नुनपानीले गार्गाल गर्ने, जडिबुटीको चिया खाने, तातोपानीको वाफ लिने कुरा घरेलु उपचारकै विधि हुन्।
हाम्रो आफ्नै पारिवारिक स्वास्थ्य परम्परा पनि छ। सुत्केरीलाई ज्वानोको झोल, बच्चालाई लिटो तथा वृद्धवृद्धालाई सातु खुवाउने प्रचलन छ। कस्तो स्वास्थ्य समस्या पर्दा के खाने, कुन सिजनमा के खाने भन्ने आफ्नै बुझाइ छ। यस्ता कुराहरुले पनि स्वास्थ्य प्रवर्धन गर्न ठुलो मदत गरेका हुन्छन्।स्वास्थ्यको कुरा गर्दा परिवारको स्वास्थ्य परम्परा तथा घरेलु उपचारलाई त्यती महत्व दिईदैन। तरधेरै जसो सानातिना विमारी त घरेलु उपचारबाटै ठिक हुन्छन्। वास्तवमा परिवारका सदस्यलाई स्वास्थ राख्न र बिरामी परिहालेमा आवश्यक उपचारको खोजि गर्न तथा अस्पत्तालबाट फर्के पछि पनि बिरामीको हेरचाह र स्याहारसुसार गर्न परिवारकै महत्वपुर्ण भुमिका रहन्छ। घर बलियो भए पछि जग बलियो हुन्छ भने जस्तो परिवारको स्वास्थ्य सम्बन्धी ज्ञान, सीप र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सके त्यसले समुदायको समग्र स्वास्थ्य स्थितिमा ठुलै योगदान पुर्याउन सक्ने देखिन्छ।
निष्कर्ष
स्वास्थ्यलाई केवल स्वास्थ्य बीमामा सिमित गर्ने कुरा संबैधानको मर्म विपरित छ। राज्यको प्रयास संबिधानले निर्दिष्ट गरे अनुसार गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्नेतर्फ लक्षित हुनु पर्दछ। एकातर्फ हामीले स्वास्थ्य सेवाको गुणस्तरमा ध्यान दिनु आवश्यक छ अर्कोतर्फ पहुंचको सुनिश्चिततामा। गुणस्तरको कुरा गर्दा परम्परागत चिकित्सा पद्धतिको गुणस्तर अभिवृद्धिकालागि पनि त्यत्तिकै जोड दिनु आवश्यक छ। पहुंचको कुरा गर्दा दलित, गरिब र पिछडिएका वर्ग, समुदाय र क्षेत्रको पहुंचको सवालले महत्व पाउनु पर्दछ। आजको विश्वले स्वस्थ जीवनका लागि परम्परागत चिकित्साको ठुलो सम्भावना देखेको छ। हामीभने हाम्रा मौलिक चिकित्सा पद्धति र लोक स्वास्थ्य परम्पराहरुको महत्व बुझ्न सकेका छैनौं।
लोक स्वास्थ्य परम्पराले गरिब समुदायको स्वास्थ्य सुरक्षाकोरुपमा काम गर्ने भएकोले पनि यसको जगेर्ना गर्नु आवश्यक छ। लोक स्वास्थ्य परम्पराको जगेर्ना गर्नुको आसय अन्धविश्वास र अवैज्ञानिक कुरालाई प्रश्रय दिनु किमार्थ होइन। आज जडिबुटी साक्षरता डरलाग्दोसंग घटेर गएको छ। युवापिंढीलाई कुन जडिबुटीको के महत्व छ भन्ने जानकारी छैन। अनि लोक स्वास्थ्यकर्मीहरु राज्यको नीतिका कारण निरुत्साहित बन्दै गएका छन्। यही अवस्था कायम रहने हो भने लोक स्वास्थ्य परम्पराको रैथाने ज्ञान अझै ओइलाएर जाने छ। लोक तथा रैथाने ज्ञानको थप क्षय हुनबाट रोक्न आवश्यक नीतिगत सुधार गरी लोक स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य प्रणालीसंग जोड्न र जडिबुटी साक्षरता अभिवृद्धिकालागि विद्यालय तह देखिनै पठनपाठनको व्यवस्था मिलाउनु आवश्यक छ।