भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेकमा सवारी पास उपलब्ध नगराउने भएको छ।
अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भन्दै सवारी पास माग भएकाले शुक्रबारदेखि अन्य पास रोकिएको प्रशासनले जनाएको छ। सम्बन्धित वडा कार्यालयको सिफारिस बाहेक कार्यमा सवारी पास वितरण नगरिने प्रशासनले जानकारी गराएको छ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाका सवारी साधनलाई पासको आवश्यकता नपर्ने प्रशासनले प्रष्टाएको छ। बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक-वित्तीय संस्था, बीमा लगायत नेपाल राष्ट्रबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थाका कर्मचारीलाई प्रशासनको पास आवश्यक पर्ने छैन।
विमानस्थल जाने/आउने यात्रुहरूको हकमा पनि सवारी पास आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।