कीर्तिपुरमा कन्ट्याक्ट ट्रेसिङ
कीर्तिपुर नगरपालिका काठमाडौं उपत्यकाको अत्यन्तै व्यस्त ठाँउ हो। यहाँ देशभरका मानिसहरुको बसोवास रहेको छ। त्रिभुवन विश्वविद्यालयको कारण अधिकांश विद्यार्थीहरु कीर्तिपुरमै डेरा बस्छन्। कोरोना भाइरसको महामारीको प्रभाव कीर्तिपुरमा धेरै पर्न सक्ने अनुमान गरिएको थियो। हुन त कीर्तिपुर मात्रै महामारीबाट अछुतो रहने कुरा भएन तर नगरपालिकाको सशक्त कन्ट्याक्ट ट्रेसिङका कारण आक्रान्त अवस्था भने आएन। समुदायमा संक्रमण फैलियो तर नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ टोली अहोरात्र सकृय रह्यो।
नगरपालिकाको स्वास्थ्य शाखामा सन्तमान मानन्धर, तपराज फुलारा, अमृतजंग बस्नेत, सर्मिला खनाल र कन्ट्याक्ट ट्रेसिङ टिममा बालकुमार ओझा, इश्वर श्रेष्ठ, कामेश्वर चौधरी, भोजन ढकाल लगायत सबैको कोभिड नियन्त्रणमा निरन्तर समन्वयात्मक प्रयास रह्यो। मेयर रमेश महर्जन र प्रमुख प्रशासकीय अधिकृत सीता परियार लगायत सबैको निरन्तर हौसलाले समग्र महामारी नियन्त्रणको काम कीर्तिपुरमा सहज भएको छ।
गत वर्ष जेठ महिनामा बनाइएको कन्ट्याक्ट ट्रेसिङ टोलीहरुले विभिन्न चरणमा निरन्तर काम गरिरहे। कन्ट्याक्ट ट्रेसिङ टोलीलाई नगरपालिकाले पनि आवश्यक सुविधाको प्रवन्ध गरि सधै हौसला र अविभावकत्व दिइरह्यो। कोरोना महामारी नियन्त्रणको लागि कीर्तिपुर नगरपालिकाले नियमित स्वास्थ्य सेवाको व्यवस्थापनका अलवा कन्ट्यक्ट ट्रेसिङका साथै त्रिविविसँगको सहकार्यमा आफ्नै कोरोना परीक्षण प्रयोगशाला (PCR Lab) पनि बनायो र कन्ट्याक्ट ट्रेसिङमा परेकालाई निःशुल्क परीक्षणको व्यवस्था मिलायो। यसबाट कीर्तिपुर नगरपालिका क्षेत्रमा बसोवास गर्ने सबैलाई ठुलो राहत पुगेको छ।देशको अन्यत्र स्थानीय तहहरुमा कीर्तिपुरले जसरी कन्ट्याक्ट ट्रेसिङलाई महत्व दिएको पाइदैन।
के हो कन्ट्याक्ट ट्रेसिङ?
कोरोना भाइरस जस्ता अति संक्रामक महामारीको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी सिद्ध अस्त्र कन्ट्याक्ट ट्रेसिङ नै हो। यो विभिन्न अध्ययन अनुसन्धानले प्रमाणित गरेको कुरा हो। कोरोना भाइरसको विश्वव्यापी महामारी नेपालमा प्रवेश गरेसँगै नेपालमा पनि यसको नियन्त्रणका विभिन्न उपायहरु अपनाउने क्रममा जोडदार रुपमा कन्ट्याक्ट ट्रेसिङको मुद्धा अगाडि आयो र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ सम्बन्धि निर्देशिका बनाई देश भरमा कन्ट्याक्ट ट्रेसिङको लागि प्रत्येक तहमा कन्ट्याक्ट ट्रसिङ टोलीहरु (Case Investigation and contact Tracing Team : CICTT) बनाइयो। महामारीको सुरुवाती चरणमै बनेका कन्ट्याक्ट ट्रेसिङ टोलीहरुले निकै प्रभावकारी रुपमा काम गरे। सघन कन्ट्याक्ट ट्रसिङका कारण र अरु विभिन्न उपयले कोरोना भाइरसको महामारी कम पनि हुदै गयो। कुनै समय शुन्यप्रायको अवस्थामा पुगेको महामारीको दश्रो लहरको रुपमा फेरी अर्को भेरियन्ट सकृय भएर आयो जसका कारण आज फेरी हामी यो अवस्थामा आइपुगेका छौँ।

कन्ट्याक्ट ट्रेसिङले कसरी काम गर्छ ?
कन्ट्याक्ट ट्रेसिङले मुलतः कोभिड १९ केशहरुको खोज पड्ताल गर्ने र केशको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरि अलग्गीएर आइसोलेशनमा बस्न तथा अन्य सतर्कता अपनाउन सुझाव दिने र आवश्यक परे परीक्षण गर्ने काम गर्दछ। कन्ट्याक्ट ट्रेसिङले केशको निरन्तर खोजी र फलोअप गर्ने हुँदा समुदायमा संक्रमण छरपस्ट हुन पाउदैन। संक्रमितलाई पनि निरन्तर फलोअप हुने हुँदा केही ढाडस र साहरा मिल्ने गर्छ र रोग सँग लड्न सहज हुन्छ। कुनै एक व्यक्तिमा संक्रम भयो भने उसले विगत एक हप्तदेखी कस कससँग भेटेको छ भनी खोजपड्ताल गरी उसको सम्पर्कमा रहेका व्यक्तिहरुलाई निगरानी गर्ने काम पनि कन्ट्याक्ट ट्रेसिङले गर्छ।
महामारी नियन्त्रणमा के हामी चुकेका होइनौं र?

कोरोना भाइरसको महामारी नियन्त्रणमा पोहोर साल ठिक यहीँ समयमा हामी जे गरिरहेका थियौँ, अहिले सारभूत रुपमा त्यही त्यही गर्नुपरिरहेको छ। मास्क, स्यानिटाइजर, सोसल डिस्ट्यान्स, लकडाउन, निषेधाज्ञा, आइसोलेशन, क्वारेन्टाइन पिसीआर टेस्ट, कन्ट्याक्ट ट्रेसिङ, कोभिड हस्पिटल, आइसीयू यी सबै फेरी कोरोनाको दाश्रो लहर सँगै दोहोरिएर आए। कोरोना महामारीले यत्रो पाठ सिकाएर जाँदा पनि हाम्रो तयारी जहाँको त्यही रह्यो। आइसीयू थपिएन, भेन्टीलेटर थपिएन, जनशक्ति थपिएन र नियन्त्रणका उपायहरु प्रभावकारी रुपमा अगाडि बढाइएन। छिमेकी भारतमा कोरोना भाइरसको दाश्रो लहरले आक्रान्त बनाइरहदा समयमै सतर्कता अपनाएर र भारत लगायतबाट आवतजावत गर्नेको कन्ट्याक्ट ट्रेसिङ गरेको भए आज यसरी केश बढीरहेको नहुन सक्थ्यो।
महामारी नियन्त्रणको सशक्त हतियार : कन्ट्याक्ट ट्रेसिङ
कोरोना महामारीको अहिलेको अवस्थामा फेरी सबै तहबाट सक्रिय रुपमा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने आवश्यकता देखिएको छ। कन्ट्याक्ट ट्रेसिङ महामारी नियन्त्रणको सबैभन्दा सशक्त हतियार हो भन्ने कुरा केन्द्र देखी स्थानीय तहसम्म सबैले बुझ्न जरुरी छ।