सन् २०१९ सालको अन्त्यतिर चीनको ऊहान सहरमा देखिएको सार्स कोभ—२ भाइरसको सङ्क्रमणद्वारा उत्पन्न भएको कोभिड—१९ लाई विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० मार्च ११ मा नै विश्व महामारीको घोषणा गरिसकेको छ। यो विषाणुजनित रोगको विरूद्ध सारा विश्व नै जुटिरहेको छ।
अध्ययन र अनुसन्धानपछि विभिन्न प्रकारका एन्टिभाइरल र एन्टिवायोटिक औषधि, नयाँ खोपको प्रयोग, भौतिक दुरी, मास्कको प्रयोग, स्यानिटाइजर प्रयोग, नियमित हात धुने आदि जस्ता स्वास्थ्य मापदण्ड अपनाइएको छ। तर यति गर्दापनि एकातिर ठूलो मात्रामा मानवीय क्षति भइरहेको छ भने अर्कातिर सङ्क्रमणका नयाँ नयाँ विरामीहरू थपिइरहेका छन्। कोरोना महामारी विरूद्ध सम्बन्धित सबै पक्षबिच एकता, सहकार्य, सहअस्तित्व, समस्त स्वास्थ्य प्रणाली संरचनाबिचको सहकार्य, अध्ययन अनुसन्धान तथा विगतका वर्षहरूमा सदुपयोग भएका परम्परागत ज्ञानको सदुपयोग नै सबैभन्दा महत्वपूर्ण पक्षहरू हुन्।
त्यस्तै मित्रराष्ट्र चीन र भारतमा कोभिड १९ विरूद्धका प्रयासहरू हेर्दा परम्परागत चिकित्सा र आधुनिक चिकित्साको उत्साहजनक एकिकृत प्रयोग र त्यस प्रयोगका कारण मित्रराष्ट्र चीनले यस रोगमाथि सफल रूपमा नियन्त्रण राख्न सकेका आफ्ना अनुभवहरूलाई विभिन्न प्रकारका सेमिनार, गोष्ठीबाट विश्वसमुदायलाई जानकारी गराइरहेको छ। झण्डै १०५ वर्षको लामो इतिहास बोकेको केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीले पनि कोभिड १९ विरूद्धको लडाइमा जेजिवाइ मिश्रणलाई अगाडि सारेको छ। यस लेखमा यही मिश्रणको औषधिय गुण र वर्तमान महामारीको अवस्थामा यसको उपयोगिताका बारेमा संक्षेपमा जानकारी दिइएको छ।
१. के हो जेजिवाइ मिश्रण र कहाँ पाइन्छ?
जेष्ठवासादी चूर्ण सिंहदरवार वैद्यखानाको तरकिव किताब अनुसार बनेको औषधि हो। राणा शासनकाल अन्तर्गत चन्द्र शम्सेरको पालादेखि नै रुघाखोकी, मौसमी इन्फ्लुन्जा, श्वासप्रश्वासको कठिनाइ, घाँटी दुख्ने, एलर्जिक रुघाखोकी आदि लक्षणमा यो औषधि प्रयोग गरिंदै आएको छ।
केन्द्रीय आयुर्वेद चिकित्सालय, नरदेवीले पनि निकै लामो समयदेखि नै यो औषधि निर्माण गरी मौसमी रुघाखोकीको अवस्थामा यसलाई जनसमुदायमा निःशुल्क वितरण गर्दै आएको छ। कोभिड १९ को महामारी नेपालमा पनि भित्रिएपछि त्यसको रोकथाम र लाक्षणिक सुधारका लागि आयुर्वेद चिकित्सालयले यही जेष्ठवासादी चूर्णमा आधारित रही हाम्रा छिमेकी मित्रराष्ट्र चीन र भारतमा विगतमा सार्स र कोभिड नियन्त्रणका लागि प्रयोग भएको, अध्ययन र अनुसन्धानबाट समेत कोरोना भाइरसको नियन्त्रणमा निकै सहयोगी भूमिका देखिएका जडिबुटीहरू यष्ठिमधु र गुडूचीलाई निश्चित अनुपातमा मिलाई जेजिवाइ मिश्रण तयार गरेको हो।
वि.सं. २०७७ साल भदौ महिनादेखि यो औषधि निःशुल्क रूपमा यस चिकित्सालयमा आउने आम समुदाय र बिरामीलाई वितरण गरिँदै आएको छ। यसका लागि सेवाग्राहीहरूले आयुर्वेद चिकित्सालय, नरदेवीमा आइ दर्ता शुल्क रू ४० बुझाइ प्रतिव्यक्ति १ प्याकेट औषधि पाइन्छ। एक व्यक्तिले ४ जनाको नामदर्ता गरी सोही बमोजिम औषधि उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ।
२. जेजिवाइ मिश्रण कसरी प्रयोग गर्ने ?
सुरुमा १ लिटर पानी उमाल्ने। पानी उम्लिएपछि त्यसमा ४ चिया चम्चा मिश्रण औषधि राख्ने र मन्द आगोमा ५ मिनेटसम्म पकाउने। यसरी बनेको काढालाई चियाको रुपमा निरोगी व्यक्तिले एक पटकमा १ चिया गिलास दिनमा २ पटक पिउने।
भाइरसजनित रुघाखोकी, सिजनल फ्लू, ज्वरो आउने, घाँटी दुख्ने, पाचन प्रकृयामा गडबडी, टाउको दुख्ने जस्ता लक्षणहरू भएका अथवा सङ्क्रमित भइ होम आइसोलेशनमा बस्नुभएका सामान्य र मध्यम लक्षणहरू भएका व्यक्तिले १ चिया गिलास काढा दिनमा ४ पटक पिउने।
१० वर्ष भन्दा मुनिका बालबालिकालाई आधा मात्रा मात्रै सेवन गर्न दिने।
गर्भावस्थाका महिलाहरुले चिकित्सकको सल्लाह बमोजिम मात्रै सेवन गर्ने। पुनश्चः यो काढालाई तातो अवस्थामा र सेलाएको भए पुनः तताएर सेवन गर्न सकिन्छ।
३. अस्पतालको तथ्याङ्क कस्तो छ ?
२०७७ भदौ ११ गतेदेखि २०७७ चैत्र २९ गतेसम्म यो औषधिलाई अस्पतालको तथ्याङ्क प्रणालीमा दर्ता गरेर लगभग ५५ हजार सेवाग्राहीलाई निःशुल्क रूपमा वितरण गरिएको छ। नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी सङ्घसंस्था, सरकारी र निजी अस्पताल, सुरक्षा निकाय, स्थानीय सरकारका पत्रमार्फत् माग भएकोमा ती सरकारी र निजी कार्यालयलाई करिब ५० हजार प्याकेट गरी अन्दाजी ८ महिनाको अन्तरालमा एक लाख पाँच हजार प्याकेट औषधि उपलब्ध गराइएको थियो।
एक परिवारमा अन्दाजी ४ जनाको हिसाबले हेर्दा पनि यो औषधि पोहोर सालको महामारीमा चार लाख भन्दा बढी जनसमुदाय र बिरामीले यो मिश्रण औषधि काढाको रूपमा प्रयोग गरेको पाइन्छ।
४. जेजिवाइ मिश्रणमा के छ र कसरी काम गर्छ ?
जे.जि.वाइ. मिश्रणमा जेष्ठवासादी ५ भाग, गुडूची ३ भाग र यष्ठिमधु १ भाग रहेको छ। जेष्ठवासादीमा असुरो (Adhatoda vasica), वंशलोचन (Bamboo manna), सुक्मेल (Elettaria cardamom), जाइफल (Myristica fragrans), दहिकाम्लो (Callicarpa macrophylla), नागकेशर (Mesua ferra), ल्वाङ (Syzygium aromaticum), दालचिनी (Cinnamomum zeylanicum), तालिसपत्र (Abies webbiana) र पित्तपापडा (Fumaria indica), गुडूची (Tinospora cordifolia) र यष्ठिमधु (Glycyrrhiza glabra) यी बाह्रवटा जडिबुटीहरू रहेका हुन्छन्।
असुरोमा पाइने Vasicine र यसबाट निकालिएको bromhexine ले क्रमशः बिरामीको कफको मात्रा घटाएर बिरामीको स्वासनली फराकिलो बनाएर श्वासप्रश्वासजन्य समस्याहरूमा प्रभावकारी हुने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएको छ।
त्यसैगरी वंशलोचनमा पाइने सिलिकन सहितका लवणीय तत्वहरूले श्वासप्रश्वासको समस्या र कमजोरीमा धेरै लाभदायी पाइएको छ।
सुकुमेलमा मोनोटर्पेनोइड पाइन्छ जसले सितलता प्रदान गर्ने, वास्नादार, मुटु तथा पाचन प्रणालीलाई फाइदा पुराउँछ।
त्यस्तै जाइफलमा इसेन्सियल ओइल र माइरिस्टिसिन जस्ता तत्व पाइन्छन जो स्वादनाश, गन्धनाश, भोक जगाउने, पखाला रोक्ने जस्ता अवस्थामा अति उपयोगी रहेका छन्।
दहिकाम्लोमा पाइने डाइटर्पेनोइडस्हरू एन्टीफङ्गल, फोक्सोभित्र हुने शोथनाशक र एन्टिअक्सिडेन्ट गुणयुक्त रहेका छन्।
नागकेशरमा पाइने Rhusflavonone र Mesuaferrone B जस्ता फ्लाभोनोइडहरू जीवाणुनाशक, मधुमेह रोगलाई नियन्त्रण गर्नसक्ने र शोथनाशक रहेको छ।
ल्वाङमा पाइने इयुजेनोलहरू पीडानाशक, एन्टिभाइरल र एन्टिस्पाज्मोडिक गुणयुक्त रहेका छन्।
दालचिनीमा पाइने सिन्नामोन इसेन्सियल तेलमा म्युकोलाइटिक गुण भएकोले फोक्सो र स्वासनलीमा कफ जम्न दिँदैन र सजिलैसँग खकारको रूपमा बाहिर निकाल्दछ।
तालीशपत्रमा पाइने अल्कालोइड र बाईफ्लाभोनोइडहरूले फोक्सो भित्रका स्वासनलीलाई विस्फार गर्ने, कफ बन्ने प्रकृयालाई रोक्ने र तनावनाशक गुण हुने भएकोले दम, खोकी, चिसो लाग्ने अवस्थामा प्रभावकारी रहेको छ।
पित्तपापडामा पाईने प्रोटोपाइन अल्कालोइड ज्वरनाशक, एन्टिसाइटोटोक्सिक, एन्टिब्याक्टेरियल गुणयुक्त हुन्छ।
गुडूची जसलाई संस्कृतमा अमृता पनि भनिन्छ र यसको रासायनिक तत्वहरूको सुक्ष्म अध्ययन अनुसार यसमा पाइने पोलिस्याकेराइड G1-4A मा एन्टिकम्लिमेन्टरी र इम्युनोमोडुलेटरको गुण पाइएको छ। साथै यसले igG antibody लाई बृद्धि गरेर हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
धन्वन्तरी निघन्टुमा “विषघ्नी ज्वरभूताघ्नी वलितपलितनाशिनी” भनेर गुडूचीलाई विषाणुजन्य ज्वर, मानसिक दोष र अन्य विषाणुजनित रोगहरूको औषधिको रूपमा उल्लेख गरिएको छ। यष्ठिमधुमा पाइने रासायनिक घटक ट्राइटर्पिन ग्लाइकोसाइड Glycyrrhizin ले सार्स–कोभ २ को मेन प्रोटिएजलाई नियन्त्रण गरी विषाणुको शरिरभित्र गुणात्मक वृद्धि हुने श्रृखलालाई रोक्न प्रभावकारी रहेको पाइएको छ।
५. आयुर्वेद चिकित्सालयले गरेको अनुसन्धानात्मक सर्वेक्षणमा के पाइयो ?
सन् २०२० मा आयुर्वेद चिकित्सालय, नरदेवीले कोभिड १९ महामारीमा नेपाल हेल्थ रिसर्च काउन्सिलको पूर्व स्वीकृति लिएर जेष्ठवासादी मिश्रणमा आम नागरिक र सेवाग्राहीको ज्ञान, विश्वास र प्रयोगका सम्बन्धमा एउटा सर्वेक्षणात्मक अनुसन्धान गरेको थियो। सुरुमा अस्पताल आउने ३९३ जना सेवाग्राहीलाई विभिन्न खाले प्रश्नहरू सोधिएको थियो। साथै, फलोअपमा आउने ४५ जना सेवाग्राहीलाई पुनः सर्वेक्षणात्मक प्रश्नावली सोधिएको थियो।
अस्पतालमा आउने सेवाग्राही मध्ये सबैभन्दा बढी ५३ प्रतिशत ३० देखि ४९ वर्ष उमेर समुहका थिए। ६० प्रतिशत सेवाग्राही जनजाती समुदायका थिए र ३१ प्रतिशत ब्राम्हण क्षेत्री समुदायका थिए। शैक्षिक पृष्ठभूमि हेर्दा ७० प्रतिशत सेवाग्राहीले उच्च शिक्षा हासिल गरेको पाइयो। झण्डै ९८ प्रतिशत सेवाग्राहीहरू मध्यम वर्गीय परिवारबाट थिए जसमध्ये सबैभन्दा बढी व्यापारीहरू, निजामती र सरकारी सेवामा आवद्ध व्यक्तिहरू थिए।
सेवा लिन आएका सेवाग्राहीमध्ये ७४.३ प्रतिशतले रोगप्रतिरोध क्षमता अभिवृद्धि गर्न यो औषधि प्रयोग गरेको बताए। त्यस्तै सर्वेक्षणमा ४८ प्रतिशत सेवाग्राहीहरू कोभिड १९ पिसिआर पोजेटिभ भएका परिवारका आफन्तजनहरू थिए। पछि पुनः सेवा लिन (फलोअप) आएका बिरामीहरूमध्ये ७२.२ प्रतिशतले आफ्नो रोगप्रतिरोध क्षमता बढेको, २५ प्रतिशतले आफ्ना कोरोनासँग सम्बन्धित लक्षणहरू कम भएको, ३३.३ प्रतिशतले मौसमी रुघाखोकीबाट छुटकारा पाएको, १७.८ प्रतिशतले भोक बढेको र भोजनमा रूची बढेको, पाचन प्रणाली अन्तर्गत दिशासँग सम्बन्धित समस्याहरू राम्रो भएको, ११ प्रतिशतले शरीरको थकाइ कमी भएको र १० प्रतिशतले घाँटीको खसखस र घाँटी दुख्ने समस्या निको भएको बताएका थिए।
६. अबको बाटो
कोभिड १९ को महामारीको कारणले नेपालको अर्थतन्त्र, जनजीविका र स्वास्थ्यक्षेत्र अस्तव्यस्त हुनपुगेको छ। यो रोगसँग लड्न विभिन्न देशले बनाएका खोपहरू लगाउन थालिएको छ भने अन्य रोगको उपचारको लागि बनेका औषधिहरू अहिले यो भाइरससँग लड्न प्रभावकारी हुनसक्ने भन्ने आशामा ती औषधिहरूको कालोबजारी पनि व्याप्त रहेको छ। तर हाम्रा पूर्खाहरूले यस किसिमका विषाणुजनित महामारीलाई नियन्त्रण गर्न करिव १०० वर्ष अघि नै संगालेका अनुभवहरू, परम्परागत ज्ञान र तयार पारेका औषधिहरू भने ओझेलमा परेका छन्। विश्व स्वास्थ्य संगठनले समेत परम्परागत औषधिहरूलाई “रिप्रपोज्ड ड्रग्स” को रूपमा कोभिड १९ महामारीलाई रोक्न प्रयोग गर्नुपर्ने वकालत गरेकाले हाम्रा मित्रराष्ट्रहरू चीन र भारतमा जस्तै हाम्रो देशमा पनि यो जेष्ठवासादी मिश्रणलाई व्यापक प्रयोग गर्नुपर्छ।
आइसोलेसनमा बसेका, सामान्य र मध्यम खाले लक्षण भएका, क्वारेन्टाइनमा बसेकाहरुको रोगप्रतिरोधात्मक क्षमता बढाउन, महामारीको रोकथाम गर्न, ज्वरो, घाँटी दुख्ने, खसखस गर्ने, सुख्खा खोकी, शारीरिक कमजोरी भएकाहरूमा यो मिश्रण औषधिलाई नेपाल सरकारको कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) ले माथिल्लो तहबाटै नीति बनाई कोरोना सङ्क्रमितको घरदैलोमा पुराउने र हरेक आइसोलेसन केन्द्रमा उपलब्ध गराउनेतर्फ ध्यान दिनु जरूरी छ। भन्ने गरिन्छ “यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्”, अर्थात् मानव जाति जुन ठाउँमा रहन्छ, उसलाई त्यही ठाउँको औषधिहरू हितकारी हुन्छन्। नेपालमा पाइने औषधीय जडिबुटीको शक्तिले यो महामारीलाई परास्त गर्न सहयोगी भूमीका निभाउँछ भन्ने तथ्यलाई सरकारले सकेसम्म छिटो बुझ्नु जरूरी भइसकेको छ।
-(डा केसी आयुर्वेद चिकित्सालय, नरदेवीका निर्देशक हुन् भने डा सत्याल कन्सल्टेन्ट आयुर्वेद विज्ञ हुन्)