अस्पताल मानिसको जीवन मरणसँग जोडिएको व्यवस्थित र संवेदनशिल संरचना हो। अस्पताल भन्ने वित्तिकै हामी ठुलो घर, फराकिला उज्याला कोठाहरु, सेतो कोट लगाएका डाक्टर, नर्सहरु, गेटमा औषधि पसल, प्रशस्त पार्किङ, बिरामी र बिरामीलाई भेट्ने स्याहार्ने मानिसहरुको बाक्लो चहलपहल भएको व्यस्त ठाँउ भन्ने कल्पना गर्छौं, चाहे त्यो सरकारी होस वा निजी। कस्तो कस्तो संरचना र सुविधा भएको ठाँउलाई अस्पताल भन्ने हो भन्ने कुरामा हामी आफ्नै प्रकारले सुसूचित त छौँ तर अस्पताल हुनको लागि ठ्याक्कै के के चाहिन्छ भन्ने विषयमा हामी कम जानकार हुन सक्छौँ।
अस्पताल जीवनको सुरुवात हुने र अन्त्य हुने ठाँउ हो। अधकांश मान्छेको जस्तो अत्यन्तै जटिल र संवेदनशिल प्रकृया हुने ठाँउमा कनैपनि कुरा ट्राइ गरि हेर्ने भन्ने हुँदैन।
अस्पताल हुन के के चाहिन्छ?
अस्पातल बाहिरबाट हेर्दा एउटा भव्य भवन मात्र हो तर भवनभित्रका अनगिन्ती अवयवहरुको बारेमा त्यो भव्य भवनभित्र छिरेपछी मात्र महसुस हुन्छ। अस्पताल हुन मूख्यतः भौतिक पूर्वाधार, दक्ष जनशक्ति र उपयुक्त औजार उपकरणहरु चाहिन्छ। यहाँ अस्पताल हुनको लागि के के नभई हुँदैन भन्ने विषयमा चर्चा गरौँ।
भौतिक पूर्वाधार :
कति, कस्तो र कत्रो भौतिक संरचना चाहिने भन्ने कुरा अस्पतालको क्षमतामा निर्भर रहन्छ। अस्पतालको क्षमतालाई मूलतः शय्या संख्याको आधारमा र सेवाको आधारमा वर्गिकरण गर्ने गरिएको छ। यहाँ बुझ्नुपर्ने कुरा के छ भने शय्या संख्या भनेको बेडको संख्या मात्र होइन, बेड राख्दैमा त्यसलाई गनेर यति शय्याको भनिने होइन, एक शय्या मात्र बढ्दा पनि त्यसमा धेरै सेवाहरुमा वृद्धि हुनुपर्दछ। भौतिक पूर्वाधार भनेको मूलत अस्पतालको भवन हो। अस्पताल त्यस्तो ठाँउ हो जहाँ सबै भत्कीएर ध्वस्त भयो भने पनि अस्पतालको भवन केही हुनु हुदैन, यो मान्छेको अन्तिम साहरा हो। त्यसकारण अस्पतालको भवनको मापदण्डमा कुनै सम्झौता गर्नु हुँदैन। बीसको ठाँउमा उन्नाइस पिल्लर गरेर खर्च बचाउने तिर लाग्नै हुँदैन। भवन बलियो, प्रयाप्त, सुरक्षित, सुविधायुक्त हुनुपर्छ। अस्पतालमा भवका साथै प्रशस्त खालि ठाँउ पनि हुनुपर्छ।
विद्यमान मापदण्ड अनुसार एक शय्या बराबर पचपन्न वर्गमिटर जग्गा चाहिन्छ। यसरी एक सय शय्याको अस्पतालको लागि पचपन्न सय वर्गमिटर अर्थात करीव एघार रोपनी जग्गा चाहिन्छ। सघन शहरी क्षेत्रमा यो सम्भावना कम छ तर चाहिन्छ। मापदण्ड अनुसारको उपलब्ध जग्गा मध्ये चालिस प्रतिसत जग्गामा मात्र संरचना बनाई बाँकी साठी प्रतिसत खाली छाडेको हुनुपर्छ। जहाँ सरदर तिन शय्या बराबर एक कार पार्किङ गर्न सक्ने क्षमता हुनुपर्दछ।
अस्पाल भवन पूर्ण रुपमा अपाङ्गमैत्रि हुनपर्दछ। भवनमा चालु लिफ्ट वा ¥याम्पको उचित प्रवन्ध भएको हुनुपर्दछ, जहाँबटा अशक्त विरामीलाई बेड सहित ल्याउन लैजान सकियोस। अस्पाल भवनको हरेक स्थानबाट बाहिरिने ठाँउ देखिने व्यवस्था भएको हुनुपर्दछ। अस्पताल भवनमा आपतकालिन द्वार र अग्नी नियन्त्रक यन्त्र अनिवार्य हुनुपर्दछ। हरेक वार्ड र क्याविनहरुमा नर्सिङ स्टेशनबाट प्रत्येक बेडका विरामीलाई प्रत्यक्ष देखिने र निगरानी गर्न सकिने व्यवस्था मिलेको हुनपर्दछ। एक शय्या देखी अर्को शय्या बीचको दुरी कम्तीमा चार फिट हुनुपर्दछ, संक्रमण नियन्त्रण र नर्सिङ प्रोसिडेयर गर्न सहजता दुवैको हिसाबले। प्रयाप्त मात्रामा प्रतिक्षा कक्ष र बस्ने कुर्सीको व्यवस्था, प्रतिक्षा कक्षमा सूचनामूलक जानकारीहरु, टेलिभिजन, सहयता कक्ष हुनुपर्दछ। करिडोरहरु फराकिला र उज्याला हुनुपर्दछ।
अस्पतालले संचालनपूर्व नै वातावरणीय प्रभाव मूल्यांकन गराएको तथा सो बमोजिमको बातावरणीय सन्तुलनको लागि आवश्यक व्यवस्था मिलाएको हुनुपर्दछ।
ओपिडी
बिरामी जाँच्ने ओपिडीहरु प्रयाप्त ठाँउ भएको, वातानुकुलित, उज्यालो, विरामीलाई सहज हुने, डाक्टर विरामी र केही अन्य व्यक्तिहरु सजिलोगरी बस्न मिल्ने, बिरामी जाँच गर्ने उपयुक्त टेबल र बेड भएको, हात धुने व्यवस्था भएको र बिरामीको गोपनियता कायम हुने किसिमको हुनुपर्दछ। अपिडी सबैले सजिलै पुग्न सक्ने सहज पहुँच भएको र सकेसम्म सुरुको तलामा हुनुपर्दछ। ओपिडीबाट प्रयोगशाला नमुना संकलन कक्ष, फार्मेसी, बिलिङ कक्ष, एक्स–रे, सिटी स्क्यान, एआरआई लगायतको सहज पहुँचको व्यवस्था भएको हुनुपर्दछ। ओ.पि.डि.मा बिषय र रोग अनुसारका विशेषज्ञ चिकित्सकहरुले विरामी जाँच गर्ने व्यवस्था हुनुपर्दछ। डाक्टरको नाम, शैक्षिक उपादी र विरामी जाँच गर्ने समय अनिवार्य रुपमा सबैले देख्ने गरी राखेको हुनुपर्दछ। यथासम्भव विरामीले रोजेको चिकित्सक सँग जचाँउन पाउने व्यवस्था मिलाएको हुनुपर्दछ। प्रत्येक विषय र विशेषज्ञको अलग ओ.पि.डी. हुनुपर्दछ। ओ.पि.डी.मा सहजीकरण तथा परामर्शको लागि प्रयाप्त संख्यामा पारामेडिक्स कर्मचारीको व्यवस्था भएको हुनुपर्दछ।
डायग्नोस्टिक सेवा
डायग्नोस्टिक सेवा अन्तरगत रोग पत्ता लगाउन गरिने खोज पड्ताल अन्तरगतका सेवाहरु पर्दछन्। यस्ता सेवाहरुको लागि सम्बन्धित विषयका दक्ष प्राविधिक कर्मचारीहरुको व्यवस्था भएको हुनु पर्दछ। डायग्नोस्टिक सेवा अन्तरगत एक्स–रे, प्रयोगशाला, सी.टी.स्क्यान, एम.आर.आई. इत्यादी पर्दछन्।
एक्स–रे कोठा कम्तीमा पच्चीस वर्गफिटको हुनुपर्दछ, भित्ता र ढोकामा लिड राखिएको हुनुपर्दछ, जहाँबाट भित्रको विकिरण कुनैपनि हालतमा बाहिर आउन नसकोस। सीटि स्क्यान, एमआरआई र अन्य रेडियोधर्मी किरणयुक्त जाँचहरुमा पनि विकिरण बाहिर नआउने व्यवस्था मिलाएको हुनुपर्दछ। त्यस्तो विकिरणयुक्त ठाँउमा काम गर्ने स्वास्थ्यकर्मी कर्मचारीको स्वास्थ्य सुरक्षाको प्रयाप्त प्रवन्ध भएको हुनुपर्दछ। प्रयोगशालामा प्रयाप्त क्षत्रफल भएको तथा प्याथोलोजी, हेमाटोलोजी, बायोकेमेष्ट्री लगायत जाँच गर्ने कक्षहरु अलग अलग रहेको हुनुपर्दछ। नमूना संकलन कक्ष अलग्गै हुनुपर्दछ। यसका अलवा अडियोमेट्री जाँच, फिजियोथेरापी, अप्थाल्मोलोजी लगायतका सेवाहरुलाई अलग र विशिष्ट किसिमको संरचना आवश्यक पर्दछ।
इमर्जेन्सी
इमर्जेन्सी अस्पतालको प्रवेश विन्दु हो। इमर्जेन्सी कक्षमा अस्पतालको समग्र सेवाको झलक आउदछ। इमर्जेन्सीमा अस्पतालको कुल शय्याको दश प्रतिशत बेडको व्यवस्था भएको हुनुपर्दछ। दुई बेडबीचको दुरी कम्तीमा चार फिट, भित्ताबाट १ फिट छाडेर बेड राखेको हुनुपर्दछ र सबैभन्दा महत्पूर्ण कुरा इमर्जेन्सीमा ट्रायज अनुसार हरियो, पहेँलो र रातो एरिया तोकी बेड मिलाएको हुनुपर्दछ। इमर्जेन्सीबाट स्टेशनबाट सबै बेड देखिने हुनुपर्दछ। इमेर्जेन्सी मेडिसिन ट्रली, कार्टको व्यवस्था भएको र औषधिहरु तथा औजार उपकरणहरु सहजै पत्ता लाग्ने गरी वर्गीकरण गरेर राखेको हुनुपर्दछ। कम्तीमा दुई बेड बराबर एउटाको अनुपातमा मनिटरको व्यवस्था, अक्सीजन सप्लाई, सक्सनको प्रवन्ध भएको हुनुपर्दछ। इमर्जेन्सीमा कम्तीमा एउटा आइसोलेशन बेड हुनुपर्दछ।
इमर्जेन्सीमा कम्तीमा एक जना मेडिकल अफिसर, एक जना नर्स, एकजना पारामेडिक्स र एक जना सहयोगी चौविसै घन्टा उपलब्ध भएको हुनुपर्दछ। जनरल प्राक्टीसनर (एम.डी.जी.पी.) अन कलमा उपलब्ध हुनुपर्दछ।
इमर्जेन्सीमा कम्तीमा एउटा पोर्टेबल भेन्टीलेटर, डिफिब्रीलेटर, सि.भि.पि.लाईन सेट, इन्टुबेशन सेट लगायतको व्यवस्था अनिवार्य रुपमा भएको, मुभेवल स्क्रीन लगायतको व्यवस्था भएको हुनुपर्दछ।
आइसीयू
आइसीयू अर्थात सघन उपचार कक्ष भनेको अस्पतालको मुटु हो। यो अति विशिष्टीकृत संरचनायुक्त हुनुपर्दछ। आइसीयूमा अति संवेदनशिल विरामी राखी उपचार गरिन्छ। अरु वार्डको तुलनामा आइसीयू अति संवेदनशिल हुन्छ। आइसीयूमा अस्पतालको कुल शय्याको पाँच प्रतिशत बेड राख्नुपर्दछ, जसमा कम्तीमा एउटा आइसोलेशन बेड अलग्गै व्यवस्था भएको हुनुपर्दछ। आइसीयूको प्रत्येक बेडमा सम्पूर्ण सूचकहरु देखिने मनिटर जडान भएको हुनुपर्दछ। आइसीयूमा कम्तीमा दुई शय्या बराबर एक भेन्टीलेटरको व्यवस्था भएको हुनुपर्दछ। आइसीयू अनिवार्य रुपमा वातानुकुलित हुनुपर्दछ जहाँ विरामीलाई सहज हुने तापक्रम चौविसैघन्टा मिलाएको हुनुपर्दछ।
आइसीयूमा प्रत्येक शय्यामा एक बराबर एकको अनुपातमा (१ः१) तालिमप्राप्त नर्स अनिवार्य रुपमा चौविसै घन्टा उपलब्ध हुनुपर्दछ र कम्तीमा एक जना मेडिकल अफीसर चौविसै घन्टा रहनुपर्दछ, आइसीयू हेर्ने डाक्टर र नर्स ड्युटी अवधिभर आइसीयू बाहेक अन्यत्र निक्लिन हुँदैन। जस्तो मानौँ कुनै अस्पतालमा दश शय्याको आइसीयू छ भने तिन सिफ्टको लागि तिस जना र अफ ड्युटीमा बस्ने दश जना गरी चालिस जना नर्स र चार जना मेडिकल अफिसर आवश्यक पर्दछ, आइसीयूको लागि मात्र। यसरी जनशक्ति मिलाएर राखेका अस्पताल अत्यन्तै कम छन्। धेरैजसो अस्पतालहरुमा १ः१ को अनुपातमा नर्स हुदैनन्, बिरामी भरिदैन भनेर त्यसरी राखेका हुँदैनन् र आइसीयूमा ड्युटी भएकै डाक्टरले आइसीयूबाट निक्लेर अन्य वार्ड र पुरै अस्पतालमा हर्ने गरेको पाईन्छ, जुन विल्कुलै गलत हो। यो सब संचालकहरु तथा व्यवस्थापकहरु खर्च बचाउन गरिरहेका हुन्छन्, आइसीयू बेडको संख्या बढाउन तम्सीन्छन् तर मापदण्ड अनुरुप औजार उपकरण र जनशक्ति राख्न सकिरहेका हुदैनन्। यसको मार अन्ततगत्व बिरामीलाई परिरहेको हुन्छ, बिरामीले त आइसीयूमा प्रत्येक दिन बिशै हजार तिरीरहेका हुन्छन्।
आइसीयूमा जीवन मरणसँग खेलिरहेको बिरामी रहने विशिष्ट उपचार कक्ष हो। यसमा तपाई हामी वा स्वयमं अस्पताल संचालक तथा कर्मचारीहरु जुनसुकै बेला पुग्न सकिन्छ, यसको विशिष्टतामा कुनै सम्झौता गरिनु हुन्न। आइसीयूमा जे हुनुपर्छ त्यो हुनै पर्छ। यदि तोकिएको जनशक्ति र औजार उपकरणको व्यवस्था गर्न सकिदैन भने जति सकिन्छ त्यती क्षमताको आइसीयू चलाउने हो। पाँच शय्याको आइसीयू चलाउन पुग्दैन भने तिन शय्या चलाउने तर मापदण्ड पुर्याएर चलाउने व्यवस्था हुनुपर्दछ।
अपरेशन थियटर
अपरेशन थियटर वा शल्यकृया कक्ष अस्पतालको अर्को महत्पूर्ण र संवेदनशिल क्षेत्र हो। अपरेशन थियटरमा सबैभन्दा महत्वपूर्ण पाटो निसंक्रमण वा कन्टामिनेसन फ्रि राख्नु हो। चिरफार गर्ने ठाँउमा कुनैपनि प्रकारका ब्याक्टेरिया, भाइरस लगायत शुष्म जिवाणुहरुको शुन्य उपस्थितिको सुनिश्चितता अनिवार्य छ। शल्यकृया गर्ने सम्पूर्ण औजार उपकरणहरु पूर्णरुपमा निर्मलिकरण गरिएको र सुरक्षित रुपमा राखिएको तथा ढुवानी गरिएको हुनु पर्दछ। शल्यकृया गर्ने औजार उपकरणहरु तथा सामानहरु ल्याउने र शल्यकृया पश्चात कन्टामिनेशन भएका सामानहरु निकाल्ने बाटो वा ढोका अलग अलग भएको हुनु पर्दछ। शल्यकृया गर्नसाथ क्लोरिनमा डुबाएर निर्मलीकरणको प्रकृया थालनी गर्ने व्यवस्था हुनुपर्दछ। शैल्यकृया गर्दा भरसक एनेस्थेसिया रुम अर्थात बिरामी लट्याउने कक्ष अलग तर सँगै हुनुपर्दछ। अपरेशन थियटरमा ओ.टी लाइट सहित सम्पूर्ण व्यवस्था भएको र वातानुकुलित हुनुपर्दछ। अपरेशन थियटर सबै बिरामीको सहज पहुँच नहुने स्थानमा हुनुपर्दछ।
अपरेशन थियटरमा अपरेशन गर्ने बिरामी र अपरेशनमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीहरु मात्र छिर्न सक्ने व्यवस्था मिलाएको हुनुपर्दछ। अपरेशन थिएटर भएतापनि एउटा मुल ढोका हुनुपर्ने र सो भित्र ओ.टी.१, ओ.टी.२.. हुने गरी मिलाएको हुनुपर्दछ। मूल ढोकाबाट प्रवेश गरेपछि वेटिङ रुम, चेन्जीङ रुम, स्क्रब एरिया हुदै मूल ओ.टी.मा प्रवेश गर्न मिल्ने व्यवस्था हुनु पर्दछ। डाक्टर, नर्सले सबै कपडा चेन्ज गरेर ओ.टी.सुट लगाएपछी स्क्रब (हात धाएर) ओ.टी.भित्र प्रवेश गरी चिरफार सुरु गर्ने गर्दछन्। यसमा सम्पूर्ण प्रकृया र चरणहरु पूरा भएकै हुनुपर्दछ। कीनकी यो निकै जटिल र संवेदनशिल काम हो।
अपरेशन थियटरबाट सिधै विरामीलाई पोष्ट अपरेटिभ वार्डमा लैजान सक्ने किसीमको व्यवस्था भएको हुनु पर्दछ। पोष्ट अपरेटिभ वार्डमा भर्खरै अपरेशन भएका विरामी राखीने हुँदा यस वार्डमा पनि विशेष किसीमका सुविधाहरु हुनुपर्दछ।
इन्डोर सेवा तथा वार्डहरु
इन्डोर सेवा विरामी भर्ना गरेर उपचार गर्ने सेवा हो। यस अन्तरगत वार्ड तथा क्याविनहरु पर्दछन्। वार्डहरुलाई जनरल, मेडिकल, सर्जिकल, मेल, फिमेल इत्यादीमा र क्याबीनलाई सुविधाको आधारमा डबल, सिंगल, डिलक्स, स्वीट इत्यादीमा वर्गीकरण गरिएको हुन्छ। वार्डहरुमा आफ्नो सुविधा अनुसार छानेर बस्ने सुविधा बिरामीलाई उपलब्ध हुन्छ। जनरल वार्डमा एउटा वार्डमा सामान्यतया पच्चीसवटा सम्म शय्या राख्न सकिन्छ, जसमा नर्सिङ स्टेशनबाट सबै शय्याहरु देखिने व्यवस्था मिलाएको हुनु पर्दछ। शय्या बिचको दुरी कम्तीमा चार फिट हुनुपर्दछ र शय्या भित्ताबाट कम्तीमा एक फिट छाडेर राखेको हुनुपर्दछ। पुरुषको लागि प्रति छ शय्या बराबर एकवटा र महिलाको लागि प्रति चार शय्या बराबर एकवटा शौचालयको व्यवस्था भएको हुनुपर्दछ। प्रति छ देखी आठ शय्याको लागि एक जना नर्स चौबिसैघण्टा उपलब्ध हुने व्यवस्था मिलाएको हुनुपर्दछ। वार्डहरुमा विरामीको कुरुवालाई पनि बिरामी कुर्नको लागि सामान्य आराम गर्नमिल्ने कुर्सी र ढल्कीन मिल्ने बेडको व्यवस्था भएको हुनुपर्दछ। वार्डहरुमा धेरै भिडभाड भैरहने हुँदा प्रयाप्त सुरक्षाको व्यवस्था हुनुपर्दछ। वार्डको नर्सिङ स्टेशनमा प्रयाप्त मात्रामा आवश्यक पर्ने औजार उपकरण तथा इमर्जेन्सी औषधिहरु उपलब्ध हुनुपर्दछ। सर्जिकल वार्डमा सामान्य ड्रेसिङ लगायतका प्रोसिडियर गर्न प्रयाप्त मात्रामा सामाग्रीहरु सहितको प्रोसिडियर ट्रली हुनुपर्दछ। चौविसै घन्टा नर्सिङ कर्मचारी ड्यटीमा रहने हुँदा उनिहरुको लागि सुरक्षित आराम कक्ष वा ड्युटी रुमको व्यवस्था भएको हुनुपर्दछ। बिरामी र स्टाफको शौचालय अलग हुनुपर्दछ। वार्डहरु सजिलै आवतजावत गर्न सकिने हुनुपर्दछ। वार्डबाट बिरामी र कुरुवाहरुले अस्पतालको तितामिठा सम्झनाहरु लिएर जान्छन, त्यसैले यहाँको सम्पूर्ण वातावरण राम्रो हुनु पर्छ।
वर्थिङ तथा म्याट्रिनिटी सर्भिस
एउटा मान्छेबाट दुईवटा मान्छे बन्ने प्रकृया सबैभन्दा जटिल कुरा हो। यो जीवनको शुरुवात हुने ठाँउ हो। यस अन्तरगत नर्मल डेलिभरी देखि जटिल शल्यकृया सम्मका सेवाहरु पर्दछन्। यस्तो सेवाको लागि सम्बन्धित विषयमा उच्च दक्षता प्राप्त जनशक्ती आवश्यक पर्दछन्। अब्स तथा गाइनो विषयका विशेषज्ञ देखि सुरक्षित प्रसुतिकर्ता SBA सम्मका जनशक्ति तथा डेलिभरीको लागि आवश्यक औजार उपकरण तथा सुरक्षित र उपयुक्त एरिया आवश्यक पर्दछ।
सीएसडी, लन्ड्री, हाउस किपिङ र अन्य सपोर्टीभ सर्भिसेज
यी सेवाहरु बिरामीसँग प्रत्यक्ष रुपमा जोडिदैनन् तर अत्यन्तै महत्वपूर्ण सेवाहरु हुन। अपरेशन, प्रोसिडियर, ड्रेसिङ इत्यादीमा प्रयोग भएका सामग्रीहरु उचित तरिकाले निर्मलीकरण गर्ने, अटोक्लेभ गर्ने, प्याकीङ गर्ने, प्रयोग हुने ठाँउ सम्म सुरक्षित ढुवानी गर्ने, प्रयोग भैसकेपछी सुरक्षित रुपमा विसर्जन र निर्मलीकरणको व्यवस्थापन मिलाउने कार्य समग्रमा सी.एस.डी. अन्तरगत पर्दछ, जन सुरक्षित शल्यकृया तथा सर्जिकल प्रोसिडियरको लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ। यस्तै अस्पतालमा प्रयोग हुने कपडाहरु, बेड सिट, बेड कभर लगायतको सुरक्षित रुपमा धुने, सुकाउने र ढुवानी गर्ने कामको लागि मापदण्ड अनुरुपको लन्ड्रीको व्यवस्था हुनुपर्दछ। अस्पतालमा वार्ड, क्याविन, आइसीयू, पोष्ट अपरेटिभ वार्ड, इमर्जेन्सीको सहयोगको लागि चौबिसै घन्टा हाउस किपिङ तथा अन्य सपोर्टीभ सेवा उपलब्ध हुनु पर्दछ।
फोहोरमैला व्यवस्थापन
अस्पतालजन्य फोहोरमैला हानिकारक र संक्रामक फोहारमैला हुन। अस्पतालजन्य फोहोरमैला व्यवस्थापन अत्यन्तै चुनौतिपूर्ण काम हो। यो विल्कुलै प्रविधिक काम हो। यसको प्रविधिक तरिकाले संक्रमण नफैलने गरि व्यवस्थापन गर्नु पर्दछ। अस्पतालबाट निस्कीने र अरु फोहोरमा मिसिने फोहोर निसंक्रमण भएको वा अटोक्लेभ गरिएको हुनु पर्दछ। ठुला अस्पतालहरुमा पुन प्रयोग, पुन चक्र हुनेगरी फोहोरलाई छुट्याउदै कम फोहोरलाई निसंक्रमण गरेर व्यवस्थापन गरिन्छ।
सामान्यतया फोहोर जहाँ उत्पादन हुन्छ, त्यहीँबाट फोहोर व्यवस्थापन सुरु भएको हुनु पर्दछ। जस्तो कुनै बिरामीलाई ड्रेसिङ गरिन्छ भने त्यहीँ स्थानमा कागज एउटा बकेटमा, बोटल, प्लास्टिक जन्य एउटा बकेटमा, सुई, ब्लेड जस्ता धारिला बस्तु सेफ्टी बक्समा, स्लाइन बोटल, आई.भि.लाईन जस्ता बिक्रि हुने सामानहरु अलग्गै, रगत पिप लागेको गज तथा कटन मात्र एउटा बकेटमा अनि फोरसेप, ट्रे, बाउल जस्ता औजारहरु तत्काल क्लोरिनमा डुबाएर निर्मलिकरण प्रकृया गर्नेगरि फोहोर छुट्याइयो र त्यही अनुरुप संकलन गर्दै व्यवस्थापन गरियो भने अन्यमा हानिकारक फोहोर (रगत पिप लागेको) अन्यन्तै कम मात्रमा हुन्छ। अन्य फोहोरलाई पुन प्रयोग, पुनचक्र वा बिक्रि गर्न सकिन्छ। तरलजन्य फोहोरमैला (रगत, पिप, पिसाब इत्यादी)को विशेष प्रकारले ट्रिटमेन्ट गरेर मात्र ढलमा जाने गरी व्यवस्था मिलाएको हुनुपर्दछ। मानव अंगजन्य फोहोर (साल नाल, अपरेशन गर्दा काटिने अंग तथा भागहारु) व्यवस्थापनको लागि अलग्गै पिट बनाएको हुनुपर्दछ। फोहोरमैला व्यवसथापनको लागि अलग विभाग, कर्मचारी र संरचना व्यवस्थापन भएको हुनुपर्दछ।
बायोमेडिकल इन्जिनियरिङ, इलेक्ट्रीकल, प्लम्बीङ, ट्रन्सपोर्टेशन र अन्य प्राविधिक सेवाहरु
यी सेवाहरुपनि अस्पताल संचालनका अत्यन्तै महत्वपूर्ण सेवाहरु हुन। अस्पतालमा पचासौँ करोड पर्ने ठुला मेसिनहरु देखि लिएर साधारण मेसिन तथा औजार उपकरणहरु हुन्छन्, जसको प्रभावकारी प्रयोग बिरामीको उपचारसँग प्रत्यक्ष जोडिएको हुन्छ। त्यी औजार उपकरणहरुको मर्मत संभार र देखभार गर्ने काम बायोमेडिकल इन्जिनियरिङ विभागको हो। त्यस्तै अस्पतालमा निरन्तर विरामीहरुको उपचार र मेसिन तथा औजार उपकरणहरु चलिरहेका हुने हुँदा अटुट विद्युत आपूर्तिको व्यवस्थापन पनि अत्यन्तै महत्पूर्ण पाटो हो। यसका अलवा धारा, पानी, ड्रेनेज, ढल इन्यादीको व्यवस्थापन पनि उपयुक्त तरिकाले निरन्तर भैरहनै पर्यो। अस्पतालमा रात दिन काम गर्ने कर्मचारीहरुलाई ड्युटीमा ल्याउने र लैजाने व्यवस्थामा पनि अस्पतालले ध्यान दिनुपर्दछ।
प्रशासन तथा शान्ति सुरक्षा तथा कर्पोरेट सोसल रेस्पोन्सीबिलिटी
अस्पताल सधै शान्त र सुरक्षित रहनुपर्दछ। अस्पतालमा कुन बेला के हुन्छ भन्न सकिदैन। कुनै घटना घटेमा र त्यसको प्रभावकारी तथा उचित व्यवसथापन हुन नसकेमा माहोल बिग्रीन गई अन्य बिरामीलाई क्षति हुने परिस्थितीलाई समेत मध्यनजर गर्दै अस्पतालले उपयुक्त सुरक्षा प्रवन्ध मिलाएको हुनुपर्दछ। अस्पतालमा ठुलो संख्यामा कर्मचारीहरु, विभिन्न व्यवस्थापकीय कार्यहरु, पब्लीक रिलेशन इत्यादीको लागि चुस्त प्रशासनीक संरचना पनि अत्यन्तै महत्वपूर्ण हुन्छ। प्रशासन भित्र सामान्य प्रशासन र आर्थिक प्रशासन अलग र विशिष्टीकृत भएको हुनुपर्दछ। यसका अलवा १०० शय्या भन्दा ठुला अस्पतालहरुमा कर्पोरेट सोसल रेस्पोन्सीबिलिटी युनिट हुनुपर्दछ जसको माध्यबाट अस्पतालले नियमित रुपमा समुदायमा विभिन्न सेवाहरु, क्याम्पहरु संचालन गरेको हुनुपर्दछ।
महामारीहरु तथा विपद्को समयमा अस्पताल संचालन
अस्पताल अफ्ठ्यारो पर्दा जाने ठाँउ हो। अस्पताल सदैव विपद्, प्रकोप तथा महामारी व्यवस्थापनको लागि तयार रहनु पर्दछ। जटिल परिस्थितीमा अस्पताल झनै चुस्त दुरुस्त हुनुपर्दछ। अस्पतालले प्रसंशा कमाउने अवसर भनेको यस्तै जटिल समयमा हो। विभिन्न ठुला दुर्घटनाहरु, २०७२ को भुकम्प र अहिलेको महामारी अस्पतालहरुको लागि चुनौतिका साथै अवसर पनि हो। अस्पतालमा प्रसस्त खाली ठाँउ हुनुपर्दछ, इमर्जेन्सी लगायत ठाँउहरुमा ट्रयज म्यानेजमेन्टको पूर्वतयारी हुनुपर्दछ, इमर्जेन्सी, वार्डहरु तथा आइसीयू समेतमा र ओ.टी.मा पनि संक्रामक रोगको उपचार गर्न अलग्गै आइसोलेशन बेडको तयारी हुनुपर्दछ। विपद् व्यवस्थापनको अभ्यास मोक ड्रिल समय समयमा गरिएको हुनुपर्दछ भनेको यस्तै परिस्थितिको लागि हो। अस्पताल सधै तयार अवस्थामा रहनुपर्ने थलो हो।
कोभिड १९ महामारीमा अस्पताल
हालै कोभिड १९ को व्यवस्थापनमा अक्सीजन, जनशक्ति, बेड तथा भेन्टीलेटरको हाहाकार हुनु भनेको हामी कहिँ न कहिँ चुकेको कारण यस्तो भयाभह अवस्था सृजना भएको हो। हामीले अस्पताल बनाउदा र बनाउन अनुमति दिँदा माथि उल्लेखित ससाना कुराहरुमा ध्यान नदिदाको परिणाम पनि हुन सक्छ। सरकारले चलाएका र सरकारले चलाउन अनुमति दिएका सबै अस्पतालहरुमा केहीलाई छाडेर बेसिक कुराहरु सारभूत रुपमा समान हुनुपर्दछ।
अब अहिलेको महामारीमा अस्पताल बेड भेन्टीलेटर र अक्सीजनको चरम अभावको परिस्थितीको बारेमा ध्यान दिनुपर्ने कुरा के छ भने हाम्रा अस्पतालहरुको क्षमता यति नै रहेछ भनेर बुझ्नुपर्छ। अस्पतालको क्षमता रातारात बढाउन सकिदैन। एक हप्तामा सयौं आइसीयू र भेन्टीलेटर तथा जनशक्ति थप्ने कुरा होस वा पन्ध्र दिनभित्र अस्पतालमै अक्सीजन प्लान्ट तयार गर्ने कुरा कमसेकम हाम्रो वर्तमान परिवेशमा सपना मात्र हो। अस्पतालहरुको क्षमता वृद्धि निरन्तरको प्रयत्नले मात्र सम्भव छ।
सबैले बुझिदिनुपर्ने महत्वपूर्ण कुरा के छ भने महामारी नियन्त्रणमा अस्पताल र उपचारात्मक सेवाको भन्दा महत्वपूर्ण भुमिका जनस्वास्थ्य क्षेत्रको हुने गर्छ। जनस्वास्थ्यका मापदण्डहरुको प्रभावकारी परिपालना गरेर गराएर मात्र महामारीलाई परास्त गर्न सकिन्छ। अस्पतालले विरामी भैसकेपछिको व्यवस्थापन गर्ने न हो।
र अन्त्यमा,
अचेल सरकारका विभिन्न तह, निकाय देखि निजी क्षेत्रका धेरै व्यक्ति, समुह तथा संस्थाहरु अस्पताल खोल्न तछाड मछाड गरिरहेका देखिन्छन्। अस्पताल खोल्न र संचालन गर्न सक्दै नसकिने कुरा पनि होइन तर सोचेजस्तो सजिलो पनि छैन। अस्पताल स्थापना गर्नुभन्दा भन्दा दैनिक निरन्तर अस्पताल संचालन गर्न अत्यन्तै कठिन छ। त्यसमा पनि तोकिएको मापदण्ड पु¥याएर अस्पताल चलाउनु त झनै चुनौतिपूर्ण छ। एउटा पचास बेडको सबै सुविधा भएको अस्पताल चलाउन भौतिक संरचना र औजार उपकरण खरिद बाहेक नै करिब ३० जना डाक्टर, १०० जना नर्स, २० जना पारामेडिक्स तथा टेक्नीसियन र १५ जना प्रशासनिक कर्मचारी, तीनको पारिश्रमिक, औजार उपकरणको दैनन्दिनी संचालनमा मात्र मेरो अनुमानमा बार्षिक करिब दश करोड भन्दा बढी संचालन खर्च मात्र हुन आउछ। सुरुको लगानीको हिसाब अलग भयो। सरकारी र निजी दुवैको हकमा यो करिब उस्तै हो, सरकारी अस्पतालमा सरकारको पैसा खर्च भएको हुन्छ, निजी तथा गैरसरकारीमा संचालकको। सरकारी अस्पतालमा शुल्क किन लागेको होला भन्ने सोच्नुभएको छ भने यहीँ संचालन खर्चको लागि हो।
अस्पताल ठुलो अठोट र निरन्तरको मेहेनतले मात्र चल्छ। र पुनःस्मरण गराउ अस्पताल जीवन मरणको लडाई लड्ने ठाँउ हो, त्यहाँ जुनसुकैबेला हामी आफैँ सुत्न पुग्न सक्छौँ, अस्पताल ट्रइ गर्ने ठाँउ होइन।
सन्दर्भ सामग्रीहरु :
• स्वास्थ्य संस्था स्थापना, संचालन स्वीकृति तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका, २०७० – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।
• प्राथामिक द्वतिय तथा तृतीय तहका अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड (MSS for Hospitals) – स्वासथ्य तथा जनसंख्या मन्त्रालय।
• जनस्वास्थ्य सेवा नियमावली, २०७६ – स्वासथ्य तथा जनसंख्या मन्त्रालय।
• COMPREHENSIVE SAFE HOSPITAL FRAMEWORK - WORLD HEALTH ORGANIZATION.
• Nepal Health Infrastructure Development Standards, 2017.
• Clinical Establishment Act Standards for Hospital (LEVEL 1A &1B) CEA/Hospital -
• Indian Public Health Standards (IPHS) Guidelines for Different level Hospitals/ Community Health Centres - Directorate General of Health Services Ministry of Health & Family Welfare Government of India.