कोभिड-१९ विश्वव्यापी महामारी घोषणा भएसँगै यो महामारीलाई रोकथाम गर्ने संसारभरी नै विभिन्न किसिमका क्वारेन्टिनको व्यवस्था गरिएको छ ।
क्वारेन्टिनको इतिहास हेर्ने हो भने यो बाइबलिक समयदेखि नै चलिलाएको छ। धेरै किताब एवं अनुसन्धानहरु मध्ये 'वल्ड टेस्टामेन्टस् बुक अफ लेभिटिकस'मा कसरी कुष्ठरोग भएका बिरामीहरुलाई समाजबाट पृथक रुपमा अलग राखिन्थ्यो भने विस्तृत वर्णन गरिएको पाइन्छ ।
इतिहास हेर्ने हो भने जब 'बुबोनिक प्लेग'को महामारी सन् १३७० तिर फैलियो, धेरै युरोपियन शहरहरुले आफ्नै किसिमको क्वारेन्टिनको व्यवस्था संचालन गरेको देखिन्छ।
१७ औं शताब्दिमा जब प्लेग लण्डनमा फैलियो त्यतिबेला पनि संक्रमित व्यक्तिहरुलाई समाजबाट पृथक ठाउँमा क्वरेन्टिनको व्यवस्था गरिएको पाइन्छ। यस्ता धेरै उदाहरणहरु पाइन्छ । तसर्थ क्वारेन्टिन वा विभिन्न किसिमका सेल्फ आइसोलेसन, भौतिक तथा सामाजिक दूरी कुनै नयाँ कुरा होइन ।
यो विगतमा विभिन्न महामारीहरु जस्तै स्मलपक्स, यल्लो फिबर, फ्लू महामारी र इबोला भाइरसलाई रोकथाम गर्न अपनाइएको देखिन्छ।
कोभिड–१९ को समयमा क्वारेन्टिन
वैश्विक महामारी कोभिड–१९ शुरु भए लगतै संसारभरीको सबै देशहरुले आ–आफ्नै किसिमका क्वारेन्टिनको व्यवस्था गरेको छन् । जस्तै घरमै बस्ने आदेश, धेरै भिडभाड नगर्ने, सामाजिक कामहरुमा बन्देज वा नियन्त्रण, कर्फ्यू सँगै स्थानीय एवं राष्ट्रिय लकडाउन, विद्यालय एवं उद्योग र कार्यालय, नगण्य व्यक्तिगत भेटघाट एवं सामाजिक जमघटमा रोक।
चीनले वुहान वरिपरि कोरोना फैलिन नदिन २ करोड जनतालाई क्वारेन्टिनमा राखेको इतिहास छ ।
मान्छे सामाजिक प्राणी हो र उसले समाजमै घुलमिल गरेर बस्न खोज्दछ। कोभिड–१९ माहामारीलाई रोकथाम गर्न लागू गरिएको क्वारेन्टिन, निषेधाज्ञा मान्छेहरुको लागि ठूलो झट्काका रुपमा आएको छ । जसले गर्दा मानसिक समस्याहरु पनि देखिन थालेको छ।
विकासशील एवं तेस्रो मुलुकहरु जहाँ साधन र स्रोतको कमी, स्वास्थ्य स्रोतसाधनहरुको उपलब्धतामा कमी, अस्पतालमा बेडहरुको कमी, अक्सिजनको पर्याप्त मात्रामा उपलब्धता नहुनु इत्यादि कारणले क्वारेन्टिन वा लकडाउन महामारी रोकथामको लागि एउटा महत्वपूर्ण कडी हुनसक्छ।
नेपाल जस्तो देशमा आधारभूत मानविय संस्कार एवं व्यवहार जस्तै नियमित मास्कको प्रयोग, समय समयमा हात धुने, स्यानिटाइजरको प्रयोग, भौतिक र सामाजिक दूरीको पालना गर्ने, नगण्य व्यक्तिगत एंवम सामाजिक भेटघाट, सामाजिक जमघट (विहेवारी, भोज) मा बन्देज वा नियन्त्रण, क्वारेन्टिनको व्यवस्था, कर्फ्यूसँगै स्थानीय एवं राष्ट्रिय लकडाउन, खोपमा पहुँच बढाउने लगायतका माध्यमबाट कोरोना महामारीमाथि विजय पाउन सकिन्छ।
तसर्थ क्वारेन्टिनले मान्छेको व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप एवं बन्देज लगाएपनि यो विगत झैं हाम्रै लागि हामीलाई नै सुरक्षित बनाउने एउटा सशक्त माध्यम हो।
-(लेखक चौधरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत छन्)